एमाले सचिव भट्टको जिल्लामा एमाले निल

File Photo
File Photo

नेकपा एमालेका केन्द्रिय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज खेलराज भट्टको गृह जिल्ला रहेको कैलालीमा नेकपा एमाले निल भएको छ। कैलालीमा नेकपा एमाले प्रतिनिधि तथा प्रदेशसभामै निल बनेको छ।

२०७४ को निर्वाचनमा कैलालीमा एमालेले प्रतिनिधितर्फ दुई स्थान जितेको थियो भने प्रदेशसभातर्फ ५ सिट जितेको थियो।

तर मंसिर ४ गते सम्पन्न निर्वाचनमा भने एमाले कैलालीबाट निल भएको हो। प्रतिनिधिसभातर्फ कैलाली–४ मा इन्चार्ज भट्ट आफै पराजित भएका छन्, भने, कैलाली–५ मा नारदमुनि राना, कैलाली–३ मा  गौरिशंकर चौधरी, कैलाली–२ मा झपड रावल र कैलाली–१ मा तपेन्द्र रावल पराजित भएका छन्।

प्रदेश सभा तर्फपनि सुदूरपश्चिममा एमाले निल भएको छ। कैलालीका १० वटा प्रदेश सभा क्षेत्रमध्ये एमालले ९ वटा क्षेत्रमा उम्मेदवारी दिएको थियो। कैलाली–१ को प्रदेश क्षेत्र क मा भने एमालले जसपालाई छोडेको थियो।

एमालेका तर्फबाट कैलाली १ को प्रदेश ख मा द्वारिका प्रसाद न्यौपाने, क्षेत्र नम्बर–२ को प्रदेश क मा कमला कुमारी ओली, ख मा डेजी पाण्डे, कैलाली क्षेत्र नम्बर ३ को प्रदेश क मा राजबहादुर बुढा, ख मा जयनारायण जोशीलाई उम्मेदवारी दिएका थिए।

त्यसैगरी कैलाली क्षेत्र नम्बर–४ को प्रदेश क मा एमालेका भीमबहादुर देउवा, ख मा हरिसिंह साउँद र कैलाली–५ को प्रदेश क्षेत्र क मा नेपालु चौधरी र अ मा दुर्गा जोशीले उम्मेदवारी दिएका थिए। तर ९ मध्ये एक जनाले पनि जित हाँसिल गर्न सकेनन्। नेकपा एमाले दार्चुला, बझाङ र अछाममा पनि निल बनेको छ।

प्रकाशित मिति: : 2022-11-26 12:11:00

प्रतिकृया दिनुहोस्