एमालेलाई तेश्रो स्थानमा झार्ने र सत्ता कब्जा गर्ने उद्देश्य बाेकेकाे गठबन्धन पराजितः भट्टराई

File photo
File photo

नेकपा एमालेका पोलिटव्यूरो सदस्य बिशाल भट्टराईले एमालेलाई दोश्रोबाट तेश्रो स्थानमा झार्ने र सत्ता कब्जा गर्ने उद्धेश्यमा गठबन्धन दल पराजित भएको बताएका छन्।

खोटाङबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रका रामकुमार राईसँग २ हजार ६६९ मतले पराजय बेहोरेका प्रत्यासी भट्टराईले शनिबार दिक्तेलमा पत्रकार सम्मेलन गर्दै निर्वाचन परिणाम अनुसार गठबन्धनको एकल बहुमत प्राप्त हुने अवस्था नदेखिएकाले गठबन्धन दलले राखेको उद्धेश्य पुरा नभएको भट्टराईले टिप्पणी गरे।

‘आज गठबन्धन सम्पूर्ण रुपले आफ्नो उद्धेश्यबाट पराजित भएको छ। जे उद्धेश्य थियो त्यो सम्पूर्ण रुपले पुरा हुने अवस्था देखिएन,’ उनले भने, ‘किनभने गठबन्धनसँग एकल बहुमतको सम्भावना देखिएको छैन। गठबन्धनले राष्ट्र निर्माण गर्दैन भन्ने एमालेको दृष्टिकोण सही प्रमाणित भएको छ।’

भट्टराईले विपक्षी दलले आफुलाई जवरजस्त किराँत राज्य विरोधीको ट्याग लगाएको दावी गरे। प्रदेशको नामाकरणमा प्रतिनिधिसभा सदस्यको कुनै भूमीका नहुने भए पनि अन्य दलले ‘बिशाल भट्टराई’कै कारण नामाकरण हुन नसकेझैं गरी ‘इस्यू’ बनाएको बताए।

‘बिशाल भट्टराई किराँत राज्यको विरुद्ध उभियो भनियो। म प्रतिनिधिसभा सदस्य हो। यसमा मेरो केही भूमीका हुन्न/थिएन। तर कोसीमा किराँत जोड्दा पनि हुन्छ, सगरमाथामा किराँत जोड्दा पनि हुन्छ भनेको हो,’ उनले भने, ‘हुँदै नभएको इस्यू उठाइयो। प्रतिनिधिसभाको मान्छेले किराँत राज्य बन्न दिँदैन भन्ने कुरा घर–घरमा पुर्‍याउने काम भयो। न त्यो प्रतिनिधिसभाको कार्यभार हो न म प्रदेशसभामा लड्दै थिएँ।’

एमालेका प्रमुख सचेतक रहिसकेका भट्टराईले रातारात उम्रिएका नयाँ दलको उपस्थितिले ठूला पार्टीलाई ‘रि–थिंक’गर्ने अवस्थामा पुर्‍याएको पनि बताएका छन्। उनले निर्वाचन परिणामले ठूला दल सामु ठूलो चुनौती खडा गरिदिएको बताएका हुन्।

‘निर्वाचन परिणामले ठूला दललाई ठूलो चुनौती खडा गदिरिएको छ। मुलुकलाई केही महत्वपूर्ण सन्देश दिएको छ,’ भट्टराईले भने, ‘रातारात बनेका र रातारात उम्रिएका शक्तीहरु यो निर्वाचनमा राम्रै सिट संख्या सहित उपस्थित हुने कुराले एकपल्ट राष्ट्रिय राजनीतिमा ठूला पार्टीले आफुलाई ‘रि–थिंक’ गर्नुपर्ने ठाउँमा पुर्‍याएको छ।’

उनले जिल्लाको विकास र समृद्धिका लागि नागरिकसँगै रहेर काम गर्ने बताए।

प्रकाशित मिति: : 2022-11-26 18:19:00

प्रतिकृया दिनुहोस्