पुन: मतदान हुने क्षेत्रकाे मत ‘कलम’लाई दिएर समाजवादीकाे थ्रेसहोल्ड कटाउने याेजनामा गठबन्धन

फाइल तस्विर
फाइल तस्विर

बुथ कब्जा लगायतका कारण पुन:मतदान हुन लागेका क्षेत्रहरुकाे समानुापतिकतर्फकाे मत एकीकृत समाजवादी पार्टी (एस)लाई दिएर थ्रेसहाेल्ड कटाउने याेजनामा सत्ता गठबन्धन लागेकाे छ।

समानुपातिकतर्फ केही मतले थ्रेसहाेल्ड कटाउने नसकेकाे साे पार्टीलाई गठबन्धनका सबै दलहरुले मतदान गर्ने गरी शीर्ष नेताहरुले छलफल सुरु गरेका हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवासँग सोमबार बिहान भेट गरेका एसका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीलाई थ्रेसहोल्ड कटाउन गाह्राे परेको भन्दै पुनः मतदान हुन लागेका ठाउँमा गठबन्धनको मत कलममा भाेट दिने गरी याेजना बनाउने प्रस्ताव राखेकाे एस एक नेताले जानकारी दिए।

बुथ कब्जाका कारण दाेलखा र बाजुरामा पुन: मतदान हुँदैछ भने स्याङ्जा क्षेत्र नं. २ मा पनि पुन: मतदान हुने सम्भावना रहेकाे छ। ती क्षेत्रहरुकाे समानुपातिक तर्फकाे मत एकीकृत समाजवादीलाई दिए थ्रेसहाेल्ड कट्ने र गठबन्धनमा सिट बढ्ने एकीकृत समाजवादीकाे विश्वास रहेकाे छ।

दोलखाका बैत्यश्व  गाउँपालिकाका– ३ र तामाकोशी गाउँपालिकाका एउटा वडाका १० वटा मतदान केन्द्रमा मंसिर १५ गते पुनः मतदान हुँदैछ। त्यस्तै, स्याङजा– २ को चापाकोट नगरपालिकाका– ४ वटा बुथ गठबन्धनले कब्जा गरेको भन्दै एमालेले पुनः मतदानको माग गरेकोमा आयोगले त्यसबारे निर्णय गर्दैछ भने बाजुरामा १६ भन्दा बढी बुथ कब्जा भएको आरोप छ।

थ्रेसहाेल्ड कटाउनेकाे लागि दलले समानुपातिकतर्फ खसेकाे कुल मतकाे ३ प्रतिशत प्राप्त गर्नुपर्ने हुन्छ। सार्वजनिक मत परिणामअनुसार एकीकृत समाजवादीले २ लाख ४१ हजार बढी मत प्राप्त गरेकाे छ। अहिलेकाे अवस्थामा ३ प्रतिशत मत पुर्‍याउन करिब ३ लाख बढी मत प्राप्त गर्नुपर्ने हुन्छ।

प्रकाशित मिति: : 2022-11-28 15:30:00

प्रतिकृया दिनुहोस्