सर्लाहीबाट प्रत्यक्षमा महिला सहभागिता न्यून

File Photo
File Photo

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा महिलाको सहभागिता न्यून देखिएको छ। चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्यमा दुई सय दुई जनाको उम्मेदवारी रहेकामा १५ महिला थिए।

जिल्ला निर्वाचन कार्यालयका अनुसार क्षेत्र नं १ को प्रदेशसभा–२ मा पाँच ,क्षेत्र नं २ को प्रदेशसभा–१ मा एक, प्रदेशसभा–२ मा दुई, क्षेत्र नं ३ को प्रदेशसभा–१ मा एक र प्रदेशसभा–२ मा पनि एक महिलाले उम्मेदवारी दिएका थिए।

महिला उम्मेदवारमध्ये सर्लाही १ को प्रदेशसभा–२ बाट वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एकीकृत समाजवादीकी बची लुङ्गेली मात्र निर्वाचित भइन्। उनले नेकपा (एमाले)की उम्मेदवार शान्तिकुमारी लामालाई छ हजार छ सय ९९ मतान्तरले  पराजित गरेकी हुन्।

जिल्लाको क्षेत्र नं १ प्रदेशसभा–२ मा ३८ हजार दुई सय ७२ मत खसेको थियो। सो मध्ये लुङ्गेलीले १३ हजार छ सय ७७ मत प्राप्त गर्दा एमालेकी उम्मेदवार लामाले छ हजार नौ सय ७८ मत प्राप्त गरेका थिए।

'निर्वाचनमा भाग लिएका महिला उम्मेदवारले कोटाअनुसार समेत निर्वाचित नहुँदा फेरि पनि समानुपातिककै भरमा महिला सहभागिता हुने सम्भावना बढेको छ। महिला सहभागिता न्यून देखिने अवस्था छ', महिला अधिकारकर्मी अम्बिका राउतले भनिन्।

प्रकाशित मिति: : 2022-11-29 11:00:00

प्रतिकृया दिनुहोस्