टिकट पाएकामध्ये बाग्मती प्रदेश सरकारका एक मन्त्री पराजित

वाग्मती प्रदेश सरकारका मन्त्रीमध्येबाट प्रदेशसभा निर्वाचनमा टिकट पाएकामध्येमा एक मन्त्री पराजित भएका छन्। प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल पराजित भएका हुन्।

प्रदेश मन्त्रीमध्येबाट टिकट पाएर पराजित हुनेमा दाहाल एक्लै हुन्। चितवन निर्वाचन क्षेत्र नं २ (१) प्रदेशसभा निर्वाचनमा दाहाल पराजित भए। सो क्षेत्रबाट नेकपा (एमाले) का कृष्णप्रसाद सिलवाल विजयी भएका थिए। दाहाल सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार थिए।

मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे भने यसपटक प्रतिनिधिसभामा निर्वाचित भएका थिए। पाण्डे धादिङ निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएका हुन्। प्रदेश सरकारमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने आठ मन्त्रीमध्ये काठमाडौँ निर्वाचन क्षेत्र नं १ (१) बाट संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले मात्र टिकट पाएका थिए। श्रेष्ठ सो क्षेत्रबाट निर्वाचित भएका हुन्। उनी २०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

टिकट नपाउने कांग्रेसका प्रदेश मन्त्रीमा भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भँडेल, स्वास्थ्यमन्त्री निमा लामा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम पौडेल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठ छन्। प्रदेश सरकारमा कांग्रेसबाट तीन राज्यमन्त्रीले पनि टिकट पाएनन्।  

भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रजनी अमात्य जोन्छे र स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले पनि टिकट पाएनन्।

यसैगरी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमकट्टेल धादिङ निर्वाचन क्षेत्र नं १ (२) बाट निर्वाचित भएका थिए। यस्तै आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनाल, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री वसन्तप्रसाद मानन्धर पनि निर्वाचित भए। दुवै जना सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) को उम्मेदवार भई निर्वाचित भएका हो। यसैगरी युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकाल पनि माओवादी केन्द्रका तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित भए।

प्रकाशित मिति: : 2022-11-29 17:23:00

प्रतिकृया दिनुहोस्