‘गायक बन्नकै लागि हात भाँचिएको रहेछ’

हेमन्त विवश

काठमाडौं

डेउडा मध्य तथा सुदूरपश्चिमेलीहरूको महाकाव्य थियो। जीवन, जगत, मायापिर्ती, समाजमा देखिएका असमानतादेखि समसामयिक कुराहरू बोकिरहेकै हुन्छ डेउडाले। जतिबेला नेपाली साहित्यको आफ्नो लेखन इतिहास नै बनिसकेको थिएन, त्यतिबेला पौराणिक कथा, लोककथा, बाल गीत, गाउँखाने कथा जस्ता सुनिन्थे गाउँघरतिर कैयौँका मुखारबिन्दुबाट। उता मध्य तथा सुदूरपश्चिमतिर पनि त्यस्ता कथाहरूका साथसाथै मौखिकरुपमा बर्सिरहेकै थिए, डेउडा गीतहरू। त्यो समयका गहकिला डेउडा गीतहरू सुनिन्छन् अहिले पनि गाउँघरमा कसैकसैको मुखबाट।

मध्य तथा सुदूरपश्चिम विगतमा एक छुट्टै देश जस्तो थियो। काठामाडौँलाई त्यहाँका मान्छेले नैपाल भन्थे। उपेक्षित थियो त्यो ठाउँ राज्यबाट। विस्तारै राजनीतिक, सामाजिक, साँस्कृतिक क्षेत्रहरूमा पहुँच पुर्यायो त्यो क्षेत्रले। चिनिन थाले त्यहाँका अमूल्य निधिहरू। गीतसंगीतकै कुरा गर्ने हो भने पनि डेउडा गीत भनेपछि प्रायले चासो नै दिँदैन थिए। धनबहादुर मल्ल, परिमल स्नेही, महाशंकर देवकोटा, जुँगे भट्राई, प्रेम कुँवर, नन्दकृष्ण जोशीदेखि नरेन्द्रराज रेग्मी, अन्तराम विष्ट, यज्ञराज उपाध्याय, भोजराज भट्ट, राजाराम भाट, दीपेन्द्र दाहाल, टेकराज अवस्थी, लोकराज पन्त, कटक नेपाली, भुवन दाहाल, महेश आउजी, डिक्रादेवी, संगीता शाहलगायत तमाम स्रष्टाहरू लागिपरेका छन् डेउडा गीतको उत्थानमा।

डेउडा गीतको आभा फैलाउन विशेष योगदान पुर्याएका छन् त्यस क्षेत्रका गायक गायिकाहरूले। पछिल्लो समयमा सोही कार्यलाई निरन्तरता दिँदै चर्चाको शिखर चुमिरहेका छन् चक्रबम, जनक ताम्राकार, टंक तिमिल्सिना, गौरी भट्ट, रेखा जोशी, पूर्णकला बिसीलगायत केही स्रष्टाहरू। समयको मागअनुसार केही नौलोपन ल्याउने प्रयत्न गरिरहेका देखिन्छन् पछिल्ला समयका यी गायक-गायिकाहरू। यसै क्रममा छोटो समयमा निकै चर्चित बन्न पुगेका कतिपय गायक-गायिकाहरूमध्येका एक हुन्, चक्र बम पनि।

जसरी तनमनका साथ छानिरहन्छ कुमालेले माटो। सोचिरहन्छ नयाँ भाँडा के र कस्ता बनाउने होला भनेर। जसरी परिकल्पना गरिरहन्छ गहना बनाउनेले नायँ नयाँ बुट्टाको। नयाँ डिजाइनको बारेमा। त्यस्तै एकोहोरो लागिरहन्छन् चक्र बम पनि गीतका भाका सजाउनमा। समयको चक्र घुमेझैं घुमाइरहन्छन् आफ्नो आवाजरुपि चक्र। सोचिरहन्छन् नयाँनयाँ भाका र शब्दको बारेमा। परीक्षण गरिरहेका हुन्छन् एकान्तमा गुनगुनाएर। पुराना दिनका हटेरुका झैं आफ्नो मार्गमा निरन्तर चलिरहेकै छन् उनका पाइला पनि।

पुर्ख्याैली घर डोटी हो। जहाँ उनी अहिलेसम्म पुग्न सकेका छैनन्। कहिले पढाइ, कहिले खेलकुद, कहिले गीतसंगीत त कहिले अभिनय क्षेत्रमा सक्रिय हुनुपर्दा जुर्न सकेको छैन साइत। मात्र हृदयभित्र बिछ्याइरहेका छन् भावना र कल्पनाको जून। बहुप्रतिभाका धनी चक्रको योजना छ, पहाडमा गएर पुराना दिनका बूढापाकाहरूलाई भेट्ने। त्यहाँका पुराना भाकाहरू, त्यहाँको गीतसंगीत र संस्कृतिका बारेमा अध्ययन गर्ने। अनि फेला पार्न सकेका गीतका भाकालाई बाजागाजा र स्वरमा सजाएर छुट्टै प्रकारको रौनक ल्याउने।

चक्र विद्यालयमा पढ्दै गर्दा सानो छँदै चिनिएका थिए, राम्रो अभिनय क्षमता भएको विद्यार्थीका रुपमा। विद्यालयमा हुने सांस्कृतिक कार्यक्रममा भिज्दै गए उनी। एक प्रकारको सांस्कृतिक माहोल पनि तय भइसकेको थियो। उनको टीम एउटा नमुना टीमको रुपमा देखापर्यो। कक्षा ८ मा पढ्नेताका सत्र जनाको समूहमा उनी काठमाडौं पुगे। नयाँ ठाउँ, देशकै राजधानी जहाँ मनका बत्ती बले। भावना र सृजनाका धुनहरू निस्किन थाले।

अधिराज्यव्यापी नृत्यमा सहभागी भएको उनको समूह द्वीतीय स्थान हासिल गर्न सफल भयो। फर्केर कैलाली पुगेपछि उक्त समूहलाई गाडीमा राखेर बजार घुमाइयो। त्यसपछि डुब्न थाले उनी लोकगीत र नृत्यको गहिराइमा। विद्यालयमा अध्ययनरत छँदा कसैलाई थाहा थिएन, उनको स्वर राम्रो छ र उनी गीत पनि उत्तिकै राम्रो गाउँछन् भन्ने। उसो त उनी दोस्राेपटक अभिनयतिरै राम्रो गर्छु भनी काठमाडौं आएका थिए। उनलाई उभिनयमै भर्सटाइल बन्नसक्छु भन्ने पनि नलागेको हैन। तर छोडेन गीतसंगीतको अनुरागले। तानिए गायन क्षेत्रमा पनि।

‘जतिबेला बुवाको निर्देशनमा बजारबाट डेउडा गीतका क्यासेट किनेर घरमा लगिदिन्थे, त्यतिबेलै मनमा डेरा जमाइसकेको थियो गायनले। बुवाको लागि लगिदिएका ती क्यासेटहरू बेला मौकामा सुनिरहन्थेँ’, उनले ती दिन सम्झिए। उसो त उनका बुवा रुद्रसिंह बम पनि ड्यौडिया थिए। विभिन्न चाडपर्वमा बुवाको हात समात्दै पुग्थे उनी डेउडा खेल चलिरहेको स्थानमा। बुवा डेउडा खेल खेल्न थाल्दा उनी सुनिरहन्थे ती मनछुने खालका सवालजवाफहरू। तीन चार कक्षामा पढ्नेताका नै मादल बजाउन सिकिसकेका थिए।

तर, पनि त्यतिबेला उनी तानिएका थिए खेलकुदमा। कराते खेलमा २०६५ सालमा ब्लयाकबेल्ट पाएका उनी राष्टियस्तरमा आफ्नो तौल समूहबाट प्रतिनिधित्व गर्न काठमाडौँ पुगे। त्यसपछि दुईवर्ष गाउँमा झण्डै ६० जनालाई कराते डोजो सिकाएर बसे। त्यतिखेर उनले खेल क्षेत्रमै राम्रो गर्नेछन् भन्नेमा सबैको आश थियो। ततपश्चात् धनगढीमा राष्ट्रियस्तरको खेलकुदअन्तर्गत कराते खेल्दा हात भाँचियो। हात भाँचिएपछि परिवारका सदस्यहरूले उनलाई गेम खेल्न बन्देज नै गरिदिए। गायक बन्नकै लागि हात भाँचिएको जस्तो भयो। खेल क्षेत्रमा पूर्णविराम लागेपछि स्नातक तह अध्ययनरत छँदै गर्दा उनी हानिए काठमाडौंतिर र छिरे गायन क्षेत्रमा। काठमाडौं बस्दाका उनका कथाव्यथा छुट्टै छन्। केही गर्ने सोचका साथ परिवारसहित काठमाडौं पुगेका उनलाई साँझ बिहानको जोहो गर्न पनि कम्ता मुस्किल थिएन। जुन कथा पछिल्लो लेखमा आउने नै छ।

नेपाली गीत संगीतका क्षेत्रमा अगुवाइ गर्नुपर्ने गीतसंगीत नै डेउडा हो। सांगीतिक क्षेत्रमा यसको बाहुल्यता हुनुपर्ने हो। निकै अगाडि आउनुपर्ने हो। देशका विभिन्न क्षेत्रका गीतसंगीतमा दशाैँ स्थानमा पनि नदेखिएको हुँदा दुःख लाग्ने कुरा बताउँछन् उनी। त्यो हुनुको कारण बेलाबखत सोची पनि रहन्छन् र आफैंभित्र प्रश्न उब्जाउँदै भन्छन्, ‘खै अग्रज पुस्ताबाट नियमितता नभएको हो या उता रेकर्डिङ स्टुडियोहरू नहुँदा स्रष्टाहरू पुग्न नसकेका हुन् काठमाडौंसम्म।’ बेलाबखत उनी आफैंसँग अन्तरसम्वाद गर्छन्, ‘उसो त डेउडामा भेरियसन पनि त आउन सकेन। संख्यात्मक रुपमा हेर्ने हो भने पनि त्यतिखेर कमै आए गीतहरू।’

केन्द्र र जिल्लास्तरका ठुला स्टेज प्रोग्राममा पनि सुदूरपश्चिमका प्रायजसो गायक-गायिकाहरूले गाउने मौका पाउँदैन थिए। त्यतिबेला चक्रले मनन् गरे, स्टेजमा के कस्ता गीतहरू चल्दैछन् त? कस्ताखाले गीतले दर्शकलाई उफँर्दै छन्? त्यो सम्पूर्ण परिवेश नियालेपछि उनले स्टेज प्रोग्रामकै लागि भनेर तयार पारे ‘चुइगम पट्काउने दारु सड्काउने’ बोलको गीत। उक्त गीत कतिले मन परराए, कतिले पराएनन् त्यो आफ्नो ठाउँमा छ। चक्र चिनिए यही गीतबाट। उनी बताउँछन्, ‘सुदूरपश्चिमले पनि स्टेज तताउन सक्छ भन्ने सोचेरै थोरै ट्र्रयाक चेन्ज गरेको हुँ। यो गीत नचलेको भए सांगीतिक क्षेत्रमा अहिलेसम्म म टिक्ने नै थिइनँ। त्यसैले उट्पट्याङ ढंगले ल्याएँ। अबका दिनमा मात्र अर्गानिक गीतको खोजी गर्दैछु।’

हजारौं दर्शकका बीच स्टेजमा गई प्रस्तुति दिने उनको रहर त्यही गीतले पुरा गरिदियो। अहिले उनलाई भ्याइ-नभ्याइ छ। नयाँ कलाकारका लागि स्टेज पाउनु भनेको ठुलो उपलब्धि हो। स्टेज पाएपछि खुसीको सीमा नै रहेन उनीभित्र। यतिसम्मकी धनगढी महोत्सवमा राष्ट्रियस्तरका कलाकारले पाउने सुविधासहित बोलाइयो। सडकबाट स्टेजसम्म पुग्न एक मिनेट लाग्थ्यो तर उनलाई दर्शकले यसरी घेरे कि स्टेजमा पुग्नै २० मिनेट लाग्यो। पुलिसले लाठीचार्जसम्म गर्नुपर्ने स्थिति आइदियो। दर्शकको त्यो माया देखेर मन थाम्न सकेनन् उनले। त्यो घटना सम्झिँदै भावुक भएर सुनाए, ‘कार्यक्रम सञ्चालकलाई माइक दिएर स्टेज पछाडि गई बेस्सरी रोएँ। नाम आएको-आयै भएपछि बल्ल आफूलाई सम्हालेर स्टजमा फर्किएँ। कहिलेकाहीँ धेरै खुसी हुँदा पनि सोचेजस्तो गर्न सकिँदो रहेनछ। जति राम्रो गर्नुपर्थ्याे, त्यस्तो राम्रो प्रस्तुति हुन सकेन।’

यतिखेर डेउडा गीत गायनका क्षेत्रमा उनी सेलिब्रिटिका रुपमा देखापरेका छन्। यतिखेर आएर उनलाई लागिरहेको छ, केही गीत त नगाएको भए पनि हुन्थ्यो। कुराकानीकै क्रममा उनले सुनाए, ‘कुनै गीत त युट्युबवालाले निकालिदिएको भए उल्टै पैसा दिन्थेँ।’

आफूले जुनसुकै काम गर्दा नि खुसी हुन सक्नुपर्छ भन्ने उनी विगतमा बिग्रेका कामबाट पाठ सिक्दै हरेक पाइलामा मेहनत र अनुसाशित बन्नुपर्छ भन्ने मान्यता राख्छन्। पछिल्लो समयमा अग्रजलाई सुनेर, अध्ययन गरेर, होसियारीपूर्वक काम गरिरहेको बताउने उनको ‘ओइ काजल’ बोलको गीत सबैभन्दा बढी चलेको गीतमध्येमा पर्छ। जुन गीत देश विदेशसम्मै फैलिएको छ। धेरैले मन पराएका छन्। उनका थुप्रै गीतहरू श्रोता दर्शकले मन पराइदिएकै कारण उनी सांगीतिक चक्र घुमाउन सफल भएका छन्।

मिजासिलो स्वभावका चक्र पहिलो चिनजानमै सबैका प्यारा बनिदिन्छन्। जति भावुक छन्, ऊर्जापूर्वक काम गरिरहेका छन्, त्यतिकै सहयोगी भावना पनि छ उनीभित्र। गीत रोमान्टिक र सेन्टिमेन्टल दुइटै पाटो ओगटेका गीत गाइरहेका उनले झण्डै एक सय गीतमा स्वर दिइसकेका छन्। भावनामा बढी बग्ने भएकै कारण आँखाबाट आँसु झरेको थाहै हुँदैन भन्ने चक्र लजालु पारामा सुनाउँछन्, ‘घरमा त मलाई रुन्चे पनि भन्छन्।’

प्रकाशित मिति: : 2022-12-24 22:00:00

प्रतिकृया दिनुहोस्