मेक्‍स नेपालको कमोडिटी ठगी प्रकरण : ५ अर्ब बढीको अवैधानिक कारोबार, संगठित अपराधमा मुद्दा

शिलापत्र

भागवत भट्टराई, कृष्णसिंह लोथ्याल

नेपालमा कानुनत: अवैध मानिएको कमोडिटी कारोबारको नाममा ठगी धन्दा चलाएकाे आराेपमा मेक्‍स नेपालका सीईओसहित ४ जना उपर संगठित अपराध ऐन २०७० अन्तर्गत मुद्दा प्रकिया अघि बढाइएको छ । विशेष प्रविधि अपनाई गरिने अपराधबाट पीडितको संरक्षण गर्न यो ऐन आकर्षित हुने गरेको छ ।

लगानीकर्तालाई लोभ र भ्रममा पारी नयाँ प्रविधिको प्रयोग गरेर मेक्‍स नेपाललगायतका संस्थाले हजारौँ नेपालीलाई ठगी गरेको उजुरीपछि अहिले मेक्स नेपालका सीईओसहित ४ जना थुनामा रहेका छन् ।

२८ दिनदेखि थुनामा रहेका उनीहरूलाई अनुसन्धानकै क्रममा ६० दिनसम्म थुनामा राख्ने सुविधा रहेको अनुसन्धानमा संलग प्रहरी अधिकारीले जानकारी गराएका छन् ।

हालसम्मको अनुसन्धानमा उनीहरूले ६ वटा बैंकबाट ५ अर्ब रुपैयाँभन्दा बढीको अवैधानिक कारोबार गरेको पाइएको छ । संगठित अपराध ऐनको दफा ५८ अनुसार मुद्दा चलाउनका लागि हदम्याद लाग्दैन भने दफा ४१ अनुसार मुद्दाको अभियुक्‍तले प्रमाण लोप वा नष्ट गर्न सक्ने वा त्यस्तो अभियुक्त फरार हुन सक्ने मनासिब कारण भएमा थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने आदशे दिन सक्‍ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: : 2023-01-13 17:52:00

प्रतिकृया दिनुहोस्