काममा ढिलासुस्ती हुँदा त्रिवेणीमा पन्ध्र करोडको पुल अलपत्र

डोल्पा र पश्चिम रुकुमको सिमाना स्थित त्रिवेणी–मुड्केचुला जोड्ने एक सय मीटर लामो पक्की पुल साडे दुई बर्ष देखि अलपत्र परेको छ।

करिब पन्ध्र करोड लागतमा पुल निर्माणको जिम्मा पाएको क्याराभान कन्ट्रक्सनले काम नै सुरु नगरि अर्को स्थानीय रेट्रो टे«क कन्ट्रक्सनलाई ठेक्का बेचेपछि निर्माण कार्य अलपत्र परेको हो।

क्याराभान कन्ट्रक्सनबाट १४ करोड १७ लाखमा कामको जिम्मा लिएको रेट्रो टे«क कन्ट्रक्सनले कहिले बर्खा र कहिले जग्गा विवादको कारण देखाउँदै कछुवाको गतिमा काम सुरु गरेको छ।

निर्माणको जिम्मा पाएका कन्ट्रक्सनहरुले विभिन्न बहानामा पुल निर्माणमा ढिलासुस्ती गरेपछि १०६ मेघावाटको जगदुल्ला हाइड्रोपावर निर्माणकार्य समेत बर्षौ पछि धकेलिएको छ।

हाइड्रोपावरसँग मुअब्जाका विषयमा बारम्बार कुरा गर्दा पनि नपाएको गुनासो जग्गाधनीको छ।

हाइड्रोपावर कम्पनीले हजारौँ टन वजन भएका निर्माण सामाग्रीहरु आयोजनास्थलसम्म लैजान भन्दै ०७७ साउनमा टेण्डर खुलाएको थियो।

यता रेट्रो टे«क कन्ट्रक्सनका प्रोपराइटर बादल बुढाले पुलको बेश बनाउने तथा सामाग्रीहरु जम्मा गर्ने काम सुरु भएपनि जग्गा बिवादले समस्या आइरहेको बताए।

टेण्डर हात पारेको केही समयमै प्रोपराइटर चन्द्र थकालीले तत्काल काम शुरु गर्ने भन्दै आयोजनाबाट ७२ लाख पेश्की रकम समेत लिइसकेका छन्।

पुल समयमै नबन्दा आयोजनाको निर्माणकार्यनै प्रभावित भएको भन्दै डोल्पाका सरोकारवाला निकायले चिन्ता व्यक्त गरेका छन्।

जगदुल्ला हाइड्रोपावर कम्पनीले पुल निर्माणमा ढिलासुस्ती गरे कारवाही गर्ने चेतावनी दिएको तीन बर्ष पुग्न लाग्दा पनि कुनै कारवाही गरेको छैन्।

यता जगदुल्ला हाइड्रोपावर कम्पनीका आयोजना प्रमुख सञ्जय सापकोटाले भने पुल निर्माणमा तदारुपता नदेखाए कारवाहि गर्ने बताए।

प्रकाशित मिति: : 2023-01-28 19:13:00

प्रतिकृया दिनुहोस्