टर्की भूकम्पमा नेपाली: छैन अप्रिय खबर

Photo - REUTERS
Photo - REUTERS

दक्षिण-पूर्वी टर्कीमा गएकाे शक्तिशाली भूकम्पमा त्यहाँस्थित बसाेबास गर्ने सम्पूर्ण नेपालीहरु सुरक्षित रहेकाे एनआरएनए टर्कीले जनाएकाे छ। करिब २५ सय नेपालीकाे बसाेबास रहेकाे टर्कीमा सबै नेपाली सुरक्षित रहेकाे एनआरएनए टर्कीका अध्यक्ष उज्जलकुमार घिसिङले बिएल नेपाली सेवालाई जानकारी दिए।

टर्कीकाे गाजीयान्टेप केन्द्रविन्दू भएर साेमबार बिहान ७.८ रेक्टरकाे शक्तिशाली भूकम्प गएकाे थियाे। भूकम्पमा परेर हालसम्म ३७ सयभन्दा बढी मानिसहरुकाे मृत्यु भएकाे छ। मृत्यु हुनेहरु अधिकांश गाजीयान्टेपका छन्। त्यहाँ नेपालीहरुकाे न्यून बसाेबास रहेकाे छ। हाल साे ठाउँमा रहेका ६ जना नेपाली सम्पर्कमा आएका छन्, उनीहरु सकुशल रहेकाे एनआरएनए टर्कीका महासचिव विनाेद पाैडेलले जानकारी दिए।

‘भूकम्पकाे केन्द्रविन्दू रहेकाे ठाउँमा नेपालीहरुकाे कम बसाेबास थियाे। हालसम्म त्याे ठाउँका ६ जना नेपालीहरु सम्पर्कमा हुनुहुन्छ। उहाँहरुमध्ये ३ जना विद्यार्थी हुनुहुन्छ, उहाँहरु सकुशल हुनुहुन्छ, त्यस्ताे अप्रिय घटना घटेकाे छैन,’ महासचिव पाैडेलले भने। उनले अन्य ठाउँमा नेपालीहरु प्रभावित भएकाे हुन सक्ने बताउँदै आफूहरु उद्दार कार्यमा लाग्ने बताए।

उनले भूकम्पबाट प्रभावित नेपालीहरुलाई समस्यामा परे सम्पर्क गर्न आग्रह गरेका छन्। टर्कीको इस्तानबुल, अँकारा, इज्मिर, अन्टालिया, बोडुर्मलगायतका स्थानमा नेपालीकाे बाक्लाे बसाेबास रहेकाे छ।

‘त्यहाँस्थित सम्पूर्ण नेपालीलाई सुरक्षित रहन र सम्पर्कमा रहन हामी अनुरोध गर्दछौँ। यदि भूकम्पका कारण कोही नेपाली प्रभावित भएको वा समस्या परेको भए तुरुन्त सम्पर्क राख्नुहुन अनुरोध गर्दछु,’ महासचिव पाैडेलले भने।

सम्पर्ककाे लागि: 

एनआरएनए टर्कीका अध्यक्ष उज्जलकुमार घिसिङ: 00-905522778593
महासचिव विनोद पौडेल : 00-905372777196
गैरआवासीय नेपाली संघ सचिवालय: 977-014411530

प्रकाशित मिति: : 2023-02-07 08:14:00

प्रतिकृया दिनुहोस्