‘अनुसन्धान, नवप्रर्वतन र आविष्कार कोष’ स्थापनको मागसहित महावीर पुनले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाए

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले ‘अनुसन्धान, नवप्रर्वतन र आविष्कार कोष’ स्थापनाको माग राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएका छन्।

सरकारले नेपाली युवा प्रतिभाहरुले बनाएको ‘यात्री’ मोटरसाइलकलको लागि दर्ता अनुमति नदिएपछि सामाजिक जनआन्दोल गर्ने घोषणा गरेका पुनले मंगलबार ज्ञापनपत्र बुझाएका हुन्।

पुनले ज्ञापनपत्रमा अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने प्रतिभाशाली र सिर्जनशली नेपालीहरुलाई अनुसन्धान गर्ने काममा ठोस सहायोग गर्न हरेक वर्ष संघीय र प्रदेश सरकारले आफ्नो विकास बजेटको १ प्रतिशत रकम छुट्याएर ‘अनुसन्धान नवप्रवर्तन र आविष्कार कोष’को स्थापना गर्नु पर्ने माग राखेका छन्।

सो कोषबाट नेपालका सम्पूर्ण प्रतिभाशाली सन्ततिहरुलाई आवश्यक अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्न सहयोग गर्नु पर्ने उनको माग छ।

अनुसन्धान नवप्रवर्तन र आविष्कार गरेर बनेका र सफलतापूर्वक परीक्षण गरिएका सामाग्रीहरुलाई उत्पादन गरी नवउद्यमी बन्न चाहने नेपालीहरुलाई उद्यम सुरु गर्नको लागि चाहिने अनुमति, लाइसेन्स, अनुदान र सहज ऋण उपलब्ध गराउन पुनले प्रधानमन्त्री ध्यानाकर्षण गराएका छन्।

यस्ता छन्, पुनका मागहरु:

१. अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने प्रतिभाशाली र सृजनशील नेपालीहरुलाई अनुसन्धान गर्ने काममा ठोस सहायोग गर्न हरेक वर्ष संघीय र प्रदेश सरकारले आफ्नो विकास बजेटको १ प्रतिशत रकम छुट्याइयोस र ‘अनुसन्धान नबप्रबर्तन र आविष्कार कोष’मा राखियोस्। सो कोषबाट नेपालका सम्पूर्ण प्रतिभाशाली सन्ततिहरुलाई आवश्यक अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्न सहयोग गरियोस। सो कोषमा जम्मा भएको रकम सोही वर्ष खर्च नभएमा आगामी वर्षहरुमा पनि खर्च गर्न पाउने व्यवस्था गरियोस।

२. सो कोषको रकम सहज तरिकाले समयमा नै प्रतिभाशाली र नविनतम सोच भएका नेपालीहरुलाई उपलब्ध गराउन संसदले नेपाल सरकारको सार्वजनिक खरिद ऐन भन्दा छुट्टै ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार प्रवर्धन सन्चालन तथा खरिद ऐन’ बनाइयोस र आवश्यकता अनुसार अनुसन्धानको कामलाई कार्यक्रम मिल्ने गरी नीति नियम बनाइयोस।

३. अनुसन्धान नवप्रवर्तन र आविष्कार गरेर बनेका र सफलतापूर्वक परीक्षण गरिएका चिजहरु लाई उत्पादन गरी नवउद्यमी बन्न चाहने नेपालीहरुलाई उद्यम सुरु गर्नको लागि चाहिने अनुमति, लाइसेन्स, अनुदान र सहज ऋण उपलब्ध गराइयोस र स्वदेशी उत्पादनलाई बजारिकरण गर्न ठोस सहयोग गर्ने नीति नियम बनाइयोस। सो कामलाई सहज बनाउन र आवश्यक अनुसारको नीति नियम बनाउनको लागि जब उद्यमी प्रवर्धन समिति बनाइयोस र सो समितिले सरकारलाई आवश्यक कदम चाल्न अनुरोध गर्ने ब्यवस्था गरियोस।

४. प्राइभेट अनुसन्धान केन्द्र, मुनाफा वितरण नगर्ने अनुसन्धान केन्द्र र विश्वविद्यालयहरुमा व्यावहारिक अनुसन्धानलाई उच्च प्राथमिकताका साथ प्रोत्साहन गर्न र प्रवर्धन गर्नको लागि विज्ञान मन्त्रालय अन्तर्गत ‘व्यावहारिक अनुसन्धन र नवप्रर्वतन’ विभाग ओलियोस्, सो विभागलाई देशका प्रतिभाहरुलाई विदेश पलायन हुन नदिन र विदेश पलायन भइसकेका प्रतिभाहरुलाई के कसरी र कुन रुपमा हुन्छ स्वदेशमा फिर्ता ल्याउन र उनीहरुबाट फाइदा लिनको लागि चाल्नु पर्ने ठोस वातावरण तयार गर्न पूर्ण अधिकार सहित जिम्मा दिइयोस्।

प्रकाशित मिति: : 2023-04-25 10:25:00

प्रतिकृया दिनुहोस्