‘पूर्णरुपमा खाेप नलगाइँदा दादुरा संक्रमणकाे दर बढ्याे’

उमेश थापा

काठमाडौं
BreaknLinks
BreaknLinks

गत वैशाख १४ गते काठमाडौँ महानगरपालिका– ३१ बस्ने ३७ वर्षीय चिरायु ढुङ्गेल दादुरा संक्रमित भए। उनको शरीरमा एकाएक दादुरा आयो। त्यसपछि उनी मध्यबानेश्वरस्थित भरोसा अस्पताल पुगे। स्वास्थ्य परीक्षण गर्दा उनमा दादुरा संक्रमण भएकाे पुष्टि भयाे। त्यसपछि उनी अलग्गै बसेर नियमित औषधि सेवन गरेपछि निकाे भयाे।

सानाेमा दुई पटक नै दादुराकाे खाेप लगाए पनि उनमा दादुरा संक्रमण भयाे। याे उमेरमा कसरी दादुरा संक्रमण भयाे ? उनी आफैं साेचमग्न छन्।

यसरी हाल नेपालमा दादुरा संक्रमितहरुकाे संख्या अस्वभाविक रुपमा वृद्धि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार मंगलबारसम्म देशका १६ जिल्लामा एक हजारभन्दा बढी दादुरा संक्रमित फेला परेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म मोरङ, सुनसरी, चितवन, काठमाडौं, कपिलवस्तु, दाङ, बाँके, अर्घाखाँची, बर्दिया, सुर्खेत, महोत्तरी, सर्लाही, धुनुषा, कैलाली, कञ्चनपुर र बाजुरामा दादुरा संक्रमितहरु भेटिएका छन्। यी १६ जिल्लामध्ये कैलाली, सुनसरी, महोत्तरीमा सबैभन्दा धेरै दादुरा संक्रमित छन्।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका– ७ मा गएको पुस १२ गते ६ जना बालबालिकामा दादुरा संक्रमण भएकाे पुष्टि भएकाे थियाे। नेपालगञ्ज उपमहानगरपालिका– ५ का ३१ महिने एक बालककाे दादुरा संक्रमणबाट मृत्यु भएकाे थियाे। स्वास्थ्य मन्त्रालयका प्रवक्ता पवनकुमार शाहकाअनुसार त्यस क्षेत्रमा पूर्णरुपमा खोप क्षेत्र नलगाइएकाे रहेछ। दादुरा संक्रमण बढ्दै गएपछि त्यहाँ खाेप अभियान सञ्चालन भएकाे हाे। दादुराविरुद्धकाे खाेपकाे मात्रा पूरा नगरेका कारण संक्रमण भएकाे उनी बताउँछन्।

हाल १६ जिल्लाका २ लाख १५ हजार ५४ जना बालकालिकालाई दादुराको खोप लगाइएको छ। परिवार कल्याण महाशाखाले यही आर्थिक वर्षभित्र दादुराबाट प्रभावित ९ जिल्लामा खोप अभियान चलाइएकाे छ। मोरङ, सुनसरी, दाङ, महोत्तरी, कैलाली, बर्दिया, सुर्खेत, कञ्चनपुर र बाजुरामा दादुराविरुद्ध खोप अभियान सञ्चालन गर्न लागिएकाे छ। सरकारले कुल ९ जिल्लामा १६,८१,८५१ बालबालिकाहरुलाई खोप लगाउने लक्ष्य लिएको छ।

नेपालभरि कुल १ हजार ३ जनामा दादुराका बिरामी भेटिएका छन। दादुराबाट बाँकेमा एक बालकको मृत्यृ भएपछि पुसमा नै ६ महिनादेखि १५ वर्ष उमेरका १ लाख ७३ हजार १२४ बालबालिकालाई दादुराको खोप लगाएको थियाे।

कसरी फैलियाे दादुरा संक्रमण ?

स्वास्थ्य तथा जनसंख्या प्रवक्ता डा.पवनकुमार शाहले भारतबाट फर्किकाहरुबाट नेपालका दादुरा संक्रमण फैलिएकाे हुन सक्ने बताए। ‘नेपालबाट रोजगारीको क्रममा भारत गएका मानिसहरु फर्किँदा दादुरा देखा परेको हो। कतिपयले विगतमा खाेप नलगाएकाे स्वीकार गरेका छन्। उनीहरु संक्रमित भएकाे छन्,’ उनले भने।

त्यस्तै सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन भने स्वास्थ्यकर्मीले बालबालिकालाई पूर्णरुपमा खाेप नलगाएका कारण अहिले त्यसकाे असर देखा परेकाे बताउँछन्। ‘पहिला बालबालिकालाई पूर्णरुपमा खाेप लगाइदिएकाे भए अहिले कहाँ संक्रमण हुँस्थ्याे त ?,’ उनले भने।

दादुरा संक्रमण भएपछि के गर्ने ?

दादुरा सरुवा रोग भएकाले बिरामीहरु आइसोलेसन वा घरमा एक्लै बस्ने।

खोप लगाउन छुटेका बालबालिका वा माथिका उमेर समूहले तत्काल खोप लगाउनुपर्छ।

डाक्टरकाे सल्लाहअनुसार औषधि सेवन गर्ने।

प्रकाशित मिति: : 2023-06-14 21:40:00

प्रतिकृया दिनुहोस्