नागरिकता नहुँदा छोराको बिहे भएन, विरक्तिएका श्रीमान घर छाडेर हिँडे (भिडियोसहित)

मिनु गोले

काठमाडौं

झापाको दमक नगरपालिका– ५ की अरुणा झाङर ५० वर्षकी भइन्। एक छोरा र दुई छोरीकी आमा अरुणालाई आफ्नो उमेर ढल्दै गएको महसुस भइसकेको छ। उमेर ढल्दै जाँदा अहिले उनलाई चिन्तामाथि चिन्ता मात्रै थपिएको छ।

किनभने, तीन जना छोरा–छोरीमध्ये अरुणाले कसैको नागरिकता बनाउन सकेकी छैनन्। उनका छोरा २७ वर्षका भए। जेठी छोरी ३० वर्ष र कान्छी छोरी १७ वर्षकी भइन्। तर, उनीहरुको अहिलेसम्म नागकिरता बनेको छैन। छोरा–छोरीको नागरिकता बनाइदिन नसक्दा अरुणालाई कहिलेकाँही आफैं किन बाँचिरहेकी छु जस्तो लाग्छ।

बेलाबेलामा आत्महत्या गरौँ भन्ने उनलाई सोच नआउने पनि होइन। तर, छोरा–छोरीको मायाले उनलाई मर्नबाट बचाइरहेको छ। ‘नागकिरता बनायो गयो वडाध्यक्षले कुन आधारमा तपाईंलाई नागकिरता दिने भन्दै उल्टै थर्काउने, रिसाउने गर्छन,’ अरुणाले भनिन्, ‘हाम्रो मन कति दुख्यो होला त्यो बेला। हामीलाई कस्तो भयो होला। मर्न मात्र सकिनँ।’

अरुणाको वंशजको आधारमा नागरिकता छ तर आमाको नामबाट नागरिकता बन्न नसक्दा उनले छोराछोरीको नागरिकता बनाइदिन सकेकी छैनन्। नागरिकता बनाउन नसक्दा पीडा सहन नसकेर अरुणाका श्रीमान कता बेपत्ता भए कुनै पत्तो छैन।

पहिले युवा अवस्थाको प्रेमिल जीवन रमाइलोका साथ श्रीमान–श्रीमतीले बिताएको अरुणालाई यादगारका ताजा स्मृतिहरु झलझली आउँछ। जब छोराछोरीको नागरिकता बनाउने समय भयो त्यसपछि अरुणाका श्रीमान शिवलाल घरबाट निस्किए।

छोरा १७ वर्षको हुँदा घरबाट शिवलाल निस्किएपछि आजसम्म घर फर्किएका छैनन्। शिवलालको नागरिकता छैन। नागरिकता बनाउन नसकेकै पिरमा सुरुका दिनमा अरुणाका श्रीमान शिवलालले रक्सी पिउन थाले। पछि घरबाट निस्किएको र आजसम्म घर नआएको अरुणाले बताइन।

अरुणाले छोराछोरीको नागरिकता बनाइदिन नसकेको, साथमा जीवन सारथी श्रीमान त्यही पिरले घर छाडेर गएको पीडा सहँदै आएकै थिएन। एक दिन उनले जीवनमा नसोचेको अपमान सहनु पर्‍यो। त्यो अपमानले उनलाई सहन नसकिने पीडा थपेको उनी सम्झन्छिन्।

छोराको विवाहका लागि केटीका घरमा पुगिन् तर एक नागकिरता नभएको केटोलाई कसरी छोरी दिने भन्दै विवाहको प्रस्ताव अस्विकार भयो। अरुणाले भनिन्, ‘छोराको लागि केटी माग्न जाँदा नागरिताबिना छोरी कसरी दिने ? भोलि छोरीको बच्चाहरू हुन्छ बच्चाहरूको नागरिता कसरी बनाउँछ ? कोसले बनाइदिन्छ यसको जिम्मेवारी को हुन्छ भन्दै छोरी दिइएन। त्यसपछि छोराको बिहे भएन।’

जीवनमा छोराको विवाहका लागि सहनु परेको अपमान अरुणालाई आजसम्मकै ठुलो प्रताडना लागेको छ। जसले गर्दा उनको आँखाबाट कसैले नेदेखेकोबेला आँसु झर्छ। अरुले घरमा भाँडा माझेर जीवन चलाएकी अरुणाको दैनिकी कठिन रुपमा बितेको छ। ‘श्रीमान नभएपछि समस्या मात्रै छ। राम्रो लुगा लगाउन पाइएको छैन। राम्रो खान पाइएको छैन,’ उनले आँखाभरि आँसु झार्दै भनिन्।

अरुणाका छोरासँग गाडी चलाउने सिप छ। तर, उनले उक्त सिपको राम्रोसँग उपयोग गर्न सकेका छैनन्। नागरिकता नहुँदा अरुणाका छोराले सवारी चालक अनुमपति पत्र (लाइसेन्स) बनाउन सकेका छैनन्। लाइसेन्स भएकाले राम्रो अवसर पाउन नसकेको अरुणा बताउँछिन्।

घरको अवस्था राम्रो नहुँदा छोराछोरीलाई उच्च शिक्षा दिन नसकेको बताउँदै उनले अहिले छोराछोरीले पढाइ छोडिसकेको जानकारी दिइन। अरुणा आफुहरुलाई नागरिकता नदिएर किन रुवाइरहेको भनेर सरकारलाई प्रश्न गर्छिन्। उनले भनिन्, ‘हाम्रो जन्मथलो यही हो। हामी झाङर भारतबाट आएको होइन। पहाडबाट आएको होइन। एउटा बाउको नागरिकता नभएकै कारण हामीलाई किन रुवाइरहेको ?’

आरुणाले अहिले अनेकौँ समस्या भोग्नु परेको छ। भनिन्, ‘नागकिरता माग्दा भिकारी जस्तो भएका छौँ हामी। हाम्रो नि आधिकार छैन र कमाएर खानालाई ? हामीले घर जग्गा मागेको होइन नि ? एउटा नागरिकता पो मागेको हो।’

अरुणा अहिले काठमाडौँको माइतीघरमा धर्नामा छिन्। सरकारले नागरिकता विधेयक ल्याएको भए पनि सर्वोच्च अदालतले तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएपछि नागरिकता पीडितहरु आन्दोलित भएका छन्। झापा, मोरङ, सिराह, सप्तरीलगायत जिल्लाबाट आएका नागरिकता पीडितहरु १४ दिनदेखि धर्नामा छन्।

भिडियाे :

प्रकाशित मिति: : 2023-06-21 20:05:00

प्रतिकृया दिनुहोस्