गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा–३० स्थित सङ्क्रामक तथा सरुवा रोग अस्पतालको आज निरीक्षण गरेका छन्।
सो क्रममा उनले नागरिकलाई अहिलेको भन्दा विस्तारित र स्तरीय स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल व्यवस्थापनलाई निर्देशन दिए। प्रदेश सरकारद्वारा सञ्चालित उक्त अस्पतालमा आउने बिरामीलाई सहज र सहुलियतमा सुविधा दिनुपर्नेमा मुख्यमन्त्री पाण्डेको जोड थियो। उनले अस्पतालको पूर्वाधार र जनशक्ति व्यवस्थापनमा प्रदेश सरकारले लगानी गर्दै जाने बताए।
मुख्यमन्त्री पाण्डेले बिरामीको सहजताका लागि अस्पतालमा ‘लिफ्ट’ सुविधा राख्न सुझाव दिए। उनले अस्पतालमा रहेका बिरामीको अवस्था, उपचार सेवा, जनशक्ति, उपकरणको उपलब्धता, भौगोलिक संरचना लगायतका बारेमा जानकारी लिएका थिए। प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव विनोदविन्दु शर्मा, अस्पतालका चिकित्सक विकास गौचन लगायतले अस्पतालको अवस्थाका बारेमा मुख्यमन्त्री पाण्डेलाई जानकारी गराउका थिए।
उक्त अस्पतालले छिट्टै डायलासिस सेवा पनि सुरु गर्ने तयारी गरिरहेको छ। अस्पतालको भवन पनि निर्माणाधीन अवस्थामा छ।