झापामा ५३ प्रतिशत धान रोपाइँ

फाइल तस्बिर
फाइल तस्बिर

धान खेतीका लागि उर्वरभूमि मानिने झापामा ५३ प्रतिशत रोपाइँ भइसकेको कृषि ज्ञानकेन्द्र झापाले जनाएको छ।

कृषि ज्ञानकेन्द्रका सूचना अधिकारी गणेश शिवाकाटीका अनुसार गत वर्षको तुलनामा दुई प्रतिशत बढी रोपाइँ भएको हो। 

समयमै वर्षा सुरु भएको र किसानले पाउने मलमा समेत समस्या नभएका कारण गत वर्षको तुलनामा दुई प्रतिशत बढी रोपाइँ गर्न सकिएको उनले बताए।

झापामा यस वर्ष ८७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान खेतीको तयारी छ। सोमध्ये ८० प्रतिशत खेती आकाशे पानीको भरमा हुने गरेको छ।

हाल दैनिक वर्षा भइरहेकाले खोला पैनीमा समेत पानीको बहाव बढेका कारण किसानलाई रोपाइँका लागि पर्याप्त पानी पुगिरहेको उनको भनाइ छ।

जिल्लामा नियमित सिँचाइका लागि कनकाई, निन्दा, टाङटिङ, पालिया, खुदुनाबारी, सिद्धिनहर, भुतेनी खोलालगायतका सिँचाइ आयोजना छन्। 

कृषि ज्ञानकेन्द्र झापाले धान खेतीमा नवीनतम मसिनरी प्रयोग कार्यक्रमअन्तर्गत कनकाई नगरपालिका र गौरादह नगरपालिकामा ३५ कट्ठा जमिनमा छरुवा धान खेतीसमेत गरिएको जानकारी दिएको छ। 

शिवाकोटीका अनुसार कनकाई नगरपालिकाको विनुबाजा कृषि सहकारी संस्थाले २५ कठ्ठा र गौरादह नगरपालिकामा रहेको महारानी झोडा कृषि सहकारी संस्थाले १० कठ्ठामा ज्ञान केन्द्रको सहयोगमा छरुवा धानको खेती गरेका छन्। 

जिल्लामा यही रफ्तारमा रोपाइँ चलेमा साउनको पहिलो हप्तासम्ममा धान रोपाइँ सकिने अनुमान गरिएको छ।  

प्रकाशित मिति: : 2023-07-09 22:09:00

प्रतिकृया दिनुहोस्