बागलुङमा १ हजार ३४ ‘सुत्केरीलाई पोषिलो खर्च’

फाइल तस्बिर
फाइल तस्बिर

बागलुङमा एक हजार ३४ जना सुत्केरीले ‘सुत्केरी पोषिलो खर्च’ पाएका छन्।

स्वास्थ्य कार्यालय बागलुङले चालु आर्थिक वर्षमा यहाँका स्थानीय तहसँगको समन्वयमा ती महिलालाई ‘सुत्केरी पोषिलो खर्च’ उपलव्ध गराएको हो।

सुत्केरी आमा पोषिलो खाना कार्यक्रमअन्तर्गत सुत्केरी भएको दिनदेखि ४५ दिनसम्म दैनिक रु दुईका दरले प्रतिमहिला नौ हजार सरकारले उपलब्ध गराउँदै आएको छ।

आमा र शिशुलाई पोषणको कमी हुन नदिनका लागि विभिन्न कार्यक्रममार्फत सचेतना जगाउने र खर्च उपलब्ध गराउने गरिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रवीण शर्माले बताएका छन्। स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउने, स्वास्थ्य संस्थामै सुत्केरी हुनेलाई यो कार्यक्रममा सहभागी गराइएको हो।

नियमित खोप र स्वास्थ्य परीक्षण गराउन गर्भवतीलाई प्रोत्साहन गर्न पोषण भत्ता कार्यक्रम प्रभावकारी भएको उनको दाबी थियो। गर्भवतीले टिटानस र धनुष्टङ्कार रोगविरुद्धको डिटी खोप लगाउनुपर्छ।

खोप लगाएको र नियमित परीक्षण गराउन स्वास्थ्य कार्यालयले प्रोत्साहित गर्ने गरेको छ। स्वस्थ शिशु जन्माउने र मातृ मृत्युदर घटाउने नीतिअनुरुप गर्भवतीलाई पोषण उपलब्ध गराइएको शर्माले बताएका छन्।

हालसम्म चालु आवमा बागलुङभरका एक हजार ३४ सुत्केरी महिलाले ‘सुत्केरी पोषिलो खर्च’ बापत ९३ लाख छ हजार पाएका छन्।

‘पोषणसँग सम्बन्धित धेरै काम हामीले गरेका छौँ’, उनले भने, ‘कुपोषण व्यवस्थापन, पोषण पैरवी, कुपोषित बालबालिकाको खोजीलगायतका कार्यक्रम सञ्चालन गरेका छौँ।’

प्रकाशित मिति: : 2023-07-10 08:18:00

प्रतिकृया दिनुहोस्