कोहलपुरलाई हरित सहर बनाउन प्रदेश सरकार प्रतिबद्ध: मुख्यमन्त्री चौधरी

फाइल तस्बिर
फाइल तस्बिर

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बाँकेको कोहलपुर नगरपालिकालाई हरित सहरका रुपमा विकास गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

राष्ट्रपति चुरे (तराई मधेस संरक्षण समितिअन्तर्गत बाँकेको कोहलपुरस्थित कोहलपुर) नेपालगञ्ज सडकको साझा चोकदेखि हाई स्कुल चोकसम्म आज आयोजना गरिएको वृक्षरोपण कार्यक्रममा सहभागी मुख्यमन्त्री चौधरीले सो प्रतिबद्धता व्यक्त गरेका हुन्।

मुख्यमन्त्री चौधरीले सिमेन्ट र सरियाको सहरभन्दा पनि कोहलपुरलाई हरियाली सहरका रुपमा चिनाउनुपर्ने बताए।

'अहिले सिमेन्ट र सरियाले सहरको हरियाली उजाडिएको छ', उनले भने, 'कोहलपुर नगरपालिकाले हरित नगरका लागि थालेको अभियानमा प्रदेश सरकारको पूर्णसाथ छ। कोहलपुर प्रदेशको हरियाली नमूना सहर बन्नुपर्छ।' 

उनले नगरवासीलाई बोटबिरुवा रोप्नुमात्र ठूलो कुरा नहुने बताउँदै संरक्षण महत्त्वपूर्ण कुरा भएको बताए। 

मुख्यमन्त्री चौधरीले घरघरमा रोप्ने बिरुवा र सडक सडकमा रोप्ने बिरुवाको पहिचान गरेरमात्र वृक्षरोपण गर्न पनि सुझाव दिए।

बिरुवा संरक्षणमा स्थानीयवासीको चासो बढाउनका लागि जनताले रुचाएका बिरुवा रोप्न नगरप्रमुखलाई उनले सुझावसमेत दिए। 

कोहलपुर नगरपालिका नगरप्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुरलाई हरित सहर बनाउने अभियानमा स्थानीय सरकार लागिपरेकाले सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताए।

नगरप्रमुख आचार्यले माटोको ल्याब परीक्षण गरेर माटो सुहाउँदो बिरुवा रोपिएको जानकारी दिए। 

बाह्रै महिना हरियाली हुने बोटबिरुवा रोपिएको जानकारी दिँदै उनले नगरलाई हरित नगर बनाउने अभियानमा हातेमालो गर्न उनले नगरवासीलाई आह्वानसमेत गरे।

कोहलपुर नगरपालिकाको तीन लाख २५ हजार, राष्ट्रपति चुरे–तराई मधेस संरक्षण समिति कार्यक्रम कार्यान्वयन इकाइ कैलालीको ३३ लाख ४८ हजार र त्यसमा १० प्रतिशत जनश्रमदानमा बिरुवा रोपिएको उपभोक्ता समितिका अध्यक्ष रामु लम्सालले जानकारी दिए।

प्रकाशित मिति: : 2023-07-10 20:52:00

प्रतिकृया दिनुहोस्