गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)ले ३३औँ स्थापना दिवस मनाएकाे छ। स्थापना दिवसको उपलक्ष्यमा संस्थाका उपसभापति जीतबहादुर राईको सभापतित्वमा बुधबार ललितपुरमा एक भव्य कार्यक्रम आयोजना गरिएको हाे।
गोर्खाहरुको हक, हित र अन्यायविरुद्ध शान्तिपूर्ण आवाज उठाउन गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) २०४७ साल असार २७ गतेका दिन स्थापना भएको थियो। साे स्मरण गर्दै उपसभापति राईले गेसोको इतिहास र उपलब्धीहरुबारे जानकारी गराएको थिए। संस्थाको स्थापनलाकालदेखि गेसोले निरन्तर बेलायत सरकारले गोर्खा सैनिकहरुमाथि गर्दै आएको विभेद अन्त्य गर्नको लागि न्यायीक र शान्तिपूर्ण आन्दोलन नेपाल र बेलायतमा गर्दै आइरहेको छ।
कार्यक्रममा हाल बेलायतमा रहेका सभापति कृष्णकुमार राईले अनलाइनमार्फत् गोर्खा समस्यासम्बन्धी नेपाल र बेलायत सरकारबीच गोर्खाहरुको प्रतिनिधिसहित भइरहेको वार्ता र आगामी दिनमा हुने वार्तालगायत गेसोको भावी कार्यक्रमबारे सभालाई विस्तृतरुपमा जानकारीसमेत गराएका थिए।
सभापति राईले गोर्खाहरुको विभेद अन्त्य नभइन्जेल कुनै पनि हालतमा आन्दोलन नरोकिने बताए। यो समय सम्पूर्ण गोर्खाहरु, गोर्खासँग सम्बन्धित संस्थाहरु र नेपाल सरकार एक भएर वार्तालाई सफलतामा पुर्याउनपर्ने भएकोले कुनै पनि गोर्खाजन्य संस्थाहरु र भूपू सैनिकहरुले वार्तालाई असर पुग्ने किसिमका वक्तव्यहरु जारी नगर्न उनले अनुरोध गरेका थिए। ‘यदि कुनै संस्था र व्यक्तिहरुले वार्तालाई असफल बनाउने प्रयास गरेमा इतिहासले कुनै हालतमा छाड्दैन र गेसोले पनि छाड्ने छैन,’ सभापति राईले भने।
संस्थाका उपमहासचिव बुद्धिराज राईले संचालन गरेको कार्यक्रममा गेसो, बागमती प्रदेशका सभापति वीरध्वाेज राई, ललितपुर जिल्लाका सभापति विष्णु योक्सो, ललितपुर जिल्ला महिला समितिका सभापति इन्द्र कुमारी राईले आ-आफ्नो मन्तव्य राखेका थिए।
गेसोको ३३औं स्थापना दिवसको उपलक्ष्यमा बेलायतको प्लसिटड, लण्डन र अल्डरसटमा पनि भव्य कार्यक्रमको आयोजना गरिएको थियाे।
विज्ञप्ति :