काठमाडौंको होटल रेडिसनमा एक समारोहबीच फरक विचार र आस्था बोकेर फेशन वर्गको हक, हित र पेशा समृद्धिका लागि 'फेसन डिजाइनर सेन्टर नेपाल' को स्थापना भएको छ।
शुक्रबारदेखि सुरु भएको उक्त संस्थामा नवगठित कार्यकारिणी पदाधिकारीहरूमा अध्यक्षमा श्री राजेश धाख्वा, उपाध्यक्षमा श्री सरिता तुलाधर, महासचिवमा मुक्ता श्रेष्ठ, यस्तै कोषाध्यक्षमा श्री अनु श्रेष्ठ लगायत कार्यकारिणी सदस्यहरूमा क्रमशः मिशु श्रेष्ठ, सुष्मा सिंह, मनिश राई तथा बिनि बज्राचार्य चयन भएका छन्।
उक्त सभामा संस्थाका अध्यक्ष राजेश धाख्वाले देशको आर्थिक उन्नति तथा सम्वृद्धिको लागि फेसन डिजाइनर सेन्टर नेपाल मेरुदण्डको रुपमा रहेको बताए।
‘यस संस्थाले फेसन उद्योग, फेसन व्यापार, फेसन व्यवसाय, फेसन शिक्षा तथा प्रविधि लगायत समय र साक्षेप रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सम्बन्धित रहेर विभिन्न आवश्यकीय भूमिका निर्वाह गर्नेछ,’ उनले भने।
यसै व्यवसायसँग सम्बन्धित संस्थाहरू लगायत व्यक्तिगत विशेषज्ञहरु समेतलाई एउटै छानामुनि समेटी फेसन डिजाइनर उद्योगलाई अझ बढी सशक्त रुपमा लैजाने र यस संस्थामा आवद्ध सम्पूर्ण व्यवसायी संस्थाहरू, सम्बन्धित विशेषज्ञ तथा व्यक्तित्वहरूको हक, हित र अधिकारको संरक्षण गरिने, यस संस्था मूल उद्देश्य रहेको भन्दै संस्थाको उद्देश्यमाथि उनले प्रकाश पारेका थिए।
संस्थाका महासचिव मुक्ता श्रेष्ठले संस्थाले गरिने क्रियाकलाप तथा गतिविधिबारे प्रस्ट पारेका थिए। त्यस्तै संस्थामाथि समिक्षा गर्दै यस संस्थाका उपाध्यक्ष सरिता तुलाधरले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत व्यवसायिक आवद्धता तथा सक्रिय उपस्थिति जनाइ नेपाल र नेपालीको इज्जत, मान, प्रतिष्ठाको अभिवृद्धि गराउन यो संस्था स्थापित भएको बताइन्।
समारोहमा अर्का पदाधिकारी सचिव रमिला नेमकुलले समाज र संस्कृति नेपाली परिवेशसँग तुलना गर्दै यस संस्थाको मुक्तकण्ठले प्रशंसा गरेका थिए।
उक्त सभामा सम्पूर्ण पदाधिकारीहरूले आ-आफ्नो मन्तव्य राख्दै उपस्थित अतिथीहरूले संस्थाको प्रगतिको लागि शुभकामना व्यक्त गरेका थिए।