अध्यक्षमाथि हातपात गर्ने जुम्ला गुठीचौर गाउँपालिका उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीलाई प्रहरीले नियन्त्रणमा छिन्।
साउन १ गतेदेखि सुरु हुने आर्थिक वर्षको बजेट कार्यपालिकाबाट पारित गराउन छलफल चल्दै गर्दा एक्कासी हातपात गरेको उजुरीपछि उनी आफैं प्रहरीको सम्पर्कमा पुगेकी थिइन्।
उपाध्यक्ष मल्लले आइतबार गाउँपालिका अध्यक्ष दानबहादुर बुढामाथि हातपात गरेकी थिइन्।
गुठीचाैर गाउँपालिका-१ का वडाध्यक्ष अर्जुनकुमार महताराका अनुसार कार्यपालिका बैठक बस्न लागेकाे बेला अध्यक्ष बुढा आफ्नै चेम्बरमा बसिरहेका थिए।
'उपाध्यक्षले एक्कासी आएर बजेटको सिलिङ माग्नुभयाे। अध्यक्षले सूचना प्रविधि हेर्ने अधिकारीलाई सिलिङ देखाउन अह्राउँदै हुनुहुन्थ्यो,' उनले भने, 'उहाँ एक्कासी अध्यक्षमाथि जाइलाग्नुभयो। सुरूमा दुई झापड हानेपछि चप्पल प्रहार गर्नुभयो। हामीले असहमति केमा हो बुझ्नै पाएनौं।'
उनका अनुसार उपाध्यक्षलाई अहिले पनि प्रहरी नियन्त्रणमा राखिएको छ। कार्यपालिकाको बैठकले घटनाप्रति दुःख व्यक्त गरेको उनकाे भनाइ छ।
गाउँपालिकाको बजेट पनि आइतबार नै अनुमोदन भइसकेको गुठीचाैरका अध्यक्ष बुढाले बताए।
'उहाँले वडाहरूको सिलिङ हेर्न खोज्दै हुनुहुन्थ्यो। साना वडालाई ४६ लाख र ठूलालाई ६० लाख पर्ने गरेर ८ करोड बजेट छुट्ट्याइएको छ। संघको अनुदान १ करोड ८५ लाख भएकाले गाउँपालिकाको दायित्व १ करोड ५० लाख छ,' उनले भने, 'बजेटमा असहमति हुन्थ्यो भने कार्यपालिका बैठकमै राखेको भए हुन्थ्यो। भौतिक आक्रमणमै उत्रिएपछि न्याय खाेज्न हिँडेकाे हुँ।'
गाउँपालिका अध्यक्ष बुढा कांग्रेसका हुन् भने उपाध्यक्ष मल्ल नेकपा (एकीकृत समाजवादी) की हुन्।
अघिल्लो वर्ष माओवादी र कांग्रेस मिलेर बजेट पारित गरिएकामा यसपटक पनि दुई दल नै मिलेर अनुमोदन गरेको र एकीकृत समाजवादी बाहिरै रहेको प्रवक्ता महताराले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रवक्ता प्रहरी निरीक्षक धर्मराज जोशीले घटनाबारे उपाध्यक्ष मल्लसँग सोधपुछ जारी रहेको जानकारी दिए।