पर्यटन मजदुरहरुको पारिश्रमिक बढ्यो

तस्बिर: रामकाजी तिवारी ‘प्रयास’
तस्बिर: रामकाजी तिवारी ‘प्रयास’

पर्यटन क्षेत्रमा कार्यरत श्रमिकहरुको साउन १ देखि नयाँ पारिश्रमिक लागु भएको छ। ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र संयुक्त पर्यटन ट्रेड युनियन फोरम (जोटुफ)बीच गत जेठ २६ गते भएको सम्झौताअनुसार नयाँ पारिश्रमिक लागु भएको हो।

ट्रेकिङ एण्ड टुर क्षेत्रमा कार्यरत श्रमिकहरुका लागि २०८० साउन १ बाट लागु हुनेगरी नयाँ पारिश्रमको सम्झौता भएको थियो। ‘ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र संयुक्त पर्यटन ट्रेड युनियन फोरम (जोटुफ)बीच गत २०८० जेठ २६ गते भएको सम्झौताअनुसार नयाँ पारिश्रमिक लागु भएको हो,’ जोटुफका सचिव रामकाजी तिवारी ‘प्रयास’ले भने।

सम्झौतामा देशभरका पदयात्रा गन्तव्यहरुमा खटिने श्रमिकहरुको पारिश्रमिक वृद्धि गर्ने समझदारी गरिएको थियो। नयाँ पारिश्रमिक दर कार्यान्वयन गर्न टानले आफ्ना सदस्य कम्पनीहरुलाई परिपत्र जारी गरिसकेको छ।

त्यस्तै पर्यटन क्षेत्रका श्रमिकहरुको लागि नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) र संयुक्त पर्यटन ट्रेड युनियन फोरमबीच गत चैत १० गते टुर गाइडहरुको पारिश्रमिक वृद्धि गर्ने सम्झौता भएको थियो।

नयाँ पारिश्रमिक दर कति छ ?

नयाँ सम्झाैताअनुसार पथप्रदर्शक (ट्रेकिङ गाइड)ले प्रतिदिन प्रतिव्यक्ति रु. ३,१००, सहायक पथप्रदर्शक (असिस्टेन्ट गाइड)ले प्रतिदिन प्रतिव्यक्ति रु. २,५००, सहयोगी पथप्रदर्शक (पोटर गाइड)ले प्रतिदिन प्रतिव्यक्ति रु. २,५०० र सहयोगी श्रमिक (भरियाहरु)ले प्रतिदिन प्रतिव्यक्ति रु. २,४०० पाउने छन्।

त्यसैगरी टुर गाइडले ग्रुपको संख्याअनुसार पारिश्रमिक दर भने फरक छ। सम्झौताअनुसार २ जनासम्म पर्यटकलाई अङ्ग्रेजी भाषाका टुर गाइडहरुले प्रतिदिन रु. ३,०८० पाउने छन् भने अन्य भाषाका गाइडहरूले प्रतिदिन रु. ३,७०० पाउने छन्।

त्यस्तै ३ देखि ६ जनासम्म पर्यटकहरुको समूहका लागि अङ्ग्रेजी भाषाका गाइडहरुले प्रतिदिन रु.३,९३० पाउने छन् भने अन्य भाषाका गाइडहरुले प्रतिदिन रु. ४,७०० पाउने छन्। ७ देखि १२ जनासम्म पर्यटक घुमाउँदा अङ्ग्रेजी टुर गाइहरुले प्रतिदिन रु. ४,२६० र अन्य भाषाका गाइडले रु. ५,१००, १३ देखि २० जनासम्मको पर्यटक समूहलाई अङ्ग्रेजी भाषाका गाइडहरुले प्रतिदिन रु. ४,५८० र अन्य भाषाका गाइडहरुले प्रतिदिन रु. ५,५०० पाउँछन् भने २१ जनाभन्दा माथिका पर्यटक समूहलाई अङ्ग्रेजी भाषाका गाइडले दैनिक रु. ४,९८० र अन्य भाषाकाले  दैनिक रु.५,९०० पाउने छन्।

जोटुफ सचिव तथा निटोगका अध्यक्ष रामकाजी तिवारी ‘प्रयास’ले पारिश्रमिक वृद्धि भएकोमा खुसी व्यक्त गरेका छन। अन्य पर्यटन श्रमिकहरुले पनि स्वागयोग्य बताएका छन। ‘सम्झौताअनुसार टान र नाट्टासँग श्रमिक युनियनका तर्फबाट भएको न्यूनतम पारिश्रमिक सम्झौताहरु कार्यान्वयन नभए सशक्त प्रतिवादसहित आन्दोलन गरिने छ,’ उनले भने।

पर्यटन श्रमिकहरुको पारिश्रमिक चार वर्षदेखि वृद्धि भएको थिएन। अहिले वृद्धि गरिएको न्यूनतम पारिश्रमिक विगतका २ वटा बजेटमा सरकाले वृद्धि गरेको पारिश्रमिक वृद्धिदरलाई आधार मानेर वृद्धि गरिएको हुनाले वृद्धिदर वैज्ञानिक रहेको उनको भनाइ छ।

यो वृद्धिदर कार्यान्वयनको विकल्प नभएको समेत सचिव प्रयासले बताए।

प्रकाशित मिति: : 2023-07-18 18:35:00

प्रतिकृया दिनुहोस्