नेपालगञ्जमा सडक विवाद: स्थानीय तह र सरकारी कार्यालय फरक बाटोमा

नेपाल-भारत सिमाना जमुनाहदेखि नेपालगञ्ज–कोहलपुर सडक खण्डअन्तर्गत अतिक्रमित सडक खाली गराउन बिहीबार ३५ दिने सूचना जारी गरेपछि नेपालगञ्जमा रहेको पुरानो सडक विवाद फेरि बल्झिने भएको छ।

२०७८ सालको स्थानीय चुनावताका नेपालगञ्ज उपमहानगरपालिकाको कार्यपालिका बैठकले निर्णय गर्दा सडक अतिक्रमण हटाउने काम रोकिएको थियो। त्यही निर्णयलाई आधार बनाएर सडक डिभिजनले आफ्नो काम गर्न सकेको थिएन।

चुनावताका आफू अनुकुल मत नआउन सक्ने अनुमानका भरमा अतिक्रमित सडक खाली गराउने काम नेपालगञ्ज उपमहानगरपालिकाले रोकेको थियो।

२०६९ असोज ४ मा मन्त्रिपरिषद् बैठकले अतिक्रमण तथा कब्जा गर्नेलाई संरक्षण दिने आशयसहित २५ मिटरभित्र निर्माण गरिएका संरचना मात्र भत्काउन निर्णय गरिदियो।

बाँकेको कोहलपुरदेखि जमुनाहसम्म ७ सय ४९ स्थानमा सडक क्षेत्रफल मिचिएको तथ्यांक संकलन गरेको छ। सडक ऐनअनुसार सडक क्षेत्रफल मेजरमेन्टमा ७ सय ४९ ठाउँमा विभिन्न खालका संरचना बनेको सडक विभागको तथ्यांक छ। सडक डिभिजन कार्यालय नेपालगञ्जले गरेको सर्भेमा १४ वटा सरकारी कार्यालयले सडक क्षेत्रफल मिचेर पक्की संरचना बनाएको जनाइएको छ।

नेपालगञ्जदेखि वीरेन्द्रनगरसम्मको सडकको नामाकरण २०५० सालमा मन्त्रिपरिषद् बैठकले रत्न राजमार्गको नामकरण गरेको थियो। सार्वजनिक सडक ऐन–०३१ अनुरुप वर्गीकरण गरी निर्माण तथा यातायात मन्त्रालयले २०३४ साल असार २० गते ‘क’ वर्गको राजमार्गका रुपमा चल्दै आएको राजमार्ग हो।

सडक डिभिजन कार्यालय नेपालगञ्जसँगको सर्भे रिपोर्टमा सरकारी कार्यालयसहित थप ३५ वटा संघ, संस्था, ५ वटा धार्मिक क्षेत्रले सडक क्षेत्रफल नछाडेर नै संरचना बनाएकाे देखिन्छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयाेग, आन्तरिक राजश्व, खाद्य तथा व्यापार कम्पनी, कर्णाली प्रदेश प्रहरी, संघीय प्रहरी इकाइसहितका सरकारी कार्यालयले पनि सडक क्षेत्रफल अतिक्रमित गरेका छन्।

अतिक्रमित सडक खाली गराउन सार्वजनिक सूचना जारी जारी गर्दै सडक डिभिजनले सरकारी तथा संघसंस्थालाई पनि जानकारी गराएको छ।

स्थानीयवासीले सुर्खेत रोड भनेर चिन्ने उक्त सडक विस्तारका क्रममा बिल्डअप एरियामा २१ मिटरमा रहेका संरचना समेत भत्काइएका छैनन्। अतिक्रमित सडक क्षेत्रफल खाली गराउन सडक डिभिजनले ताकेता गरेपछि नेपालगञ्जमा पुरानो विवाद बल्झिने देखिएको छ।

सार्वजनिक सडक ऐन, २०३१ को दफा ३ अनुसार २०३४ असार २० मा प्रकाशित राजपत्रमा रत्न राजमार्गअन्तर्गत जमुनाहदेखि कोहलपुरसम्मको २३ किलोमिटर सडक ३१ मिटर चौडा बनाइने उल्लेख छ।

स्मरण रहोस्, सडक डिभिजन कार्यालय नेपालगञ्जले २०७८ पुस २१ गते सडक ऐन २०३१ बमोजिम सडक क्षेत्रफल सडकको दायाँबायाँ २५-२५ मिटर सडक क्षेत्रफल खाली गर्न सूचना नै जारी गरेको थियो।

प्रकाशित मिति: : 2023-07-25 12:03:00

प्रतिकृया दिनुहोस्