‘गौर हत्याकाण्ड’का दोषीलाई कारवाहीको माग गर्दै गौर हत्याकाण्ड पीडित संघर्ष समितिले आज रौतहटमा मोटरसाईकल र्याली निकालेको छ।
पूर्व घोषित कार्यक्रम अनुसार समितिले रौतहटको चन्द्रनिगाहपुरमा मोटरसाईकल र्याली निकालेको हो।
पीडित परिवारले न्यायको माग गर्दै हिजो (शनिबार) धर्ना दिएको थियो। सोमबारदेखि उनीहरुले अनिश्चितकालीन रौतहट बन्दको घोषणा गरेका छन्। अनिश्चितकाली रौतहट बन्दको पूर्वसन्ध्यामा उनीहरुले मोटरसाईकल र्याली निकालेका हुन्।
मोटरसाईकल र्यालीलाई सम्बोधन गर्दै आम जनता पार्टी (आजपा)का महासचिव उपेन्द्र साहले गौर हत्याकाण्डका आरोपितलाई कारवाही नगरिए आन्दोलनलाई अझै शसक्त बनाउँने चेतावनी दिएका छन्।
सरकारसंग गौर हत्याकाण्डका दोषीलाई कारवाही गर्न माग गर्दा नसुनेको बताउँदै महासचिव साहले बाध्यभएर रौतहट बन्द गर्नुपरेको बताए।
गौर हत्याकाण्डको १७ बर्ष वितिसक्दा पनि राज्यले पीडित परिवारलाई न्याय नदिएको र आपराधिलाई कारवाही गर्न कुनै चासो नदेखाएपछि बाध्य भएर आजपा र सहिद परिवारले यसप्रकारको कठोर कदम उठाउन बाध्य भएको बताए।
साउन १५ गते देखि अनिश्चितकालिन रौतहट बन्दको पूर्व सन्ध्यामा मोटरसाइकल रयालीमा उत्साहपूर्वक स्वस्फूर्त रुपमा जनताहरु सहभागी भई रयालीलाई सफल बनाइएको महासचिव साहले भने।
हत्याकाण्डका आपराधिलाई कारवाही गराउनका निमित्त सोमबार देखि हुने अनिश्चितकालिन रौतहट बन्दलाई सफल बनाइदिन वस व्यवसायी, यातायात मजदुर, उद्योगी, व्यापारी वर्गसंग उनले आग्रह समेत गरेका छन्।
समितिका संयोजक रुपसागर देवीका अनुसार न्याय पाउँने आशमा सरकारलाई दबाब दिने उदेश्यले आफूहरु धर्ना, मोटरसाईकल र्याली जस्ता आन्दोलनका कार्यक्रम गरेको र सोमबारदेखि अनिश्चितकाली रौतहट बन्द गरिने बताइन्।
शक्ति र सत्ताको आडमा हत्याकाण्डका आपराधिकलाई जोगाउने काम भइरहेको आरोप लगाउँदै उनले माग पुरा नभए अझै कडा आन्दोलनमा उत्रिने बताइन्।
मोटरसाईकल र्यालीमा सहभागिहरुले गौर हत्याकाण्डका मुख्य योजनाकार उपेन्द्र यादवलाई पक्राउ गरी कारबाही गर्नुपर्ने, दोषीलाई उन्मुक्ति दिन नहुने, घटनाको सत्यतथ्य छानबिन गर्नुपर्ने लगायतका नारा लगाएका छन्।
हत्याकाण्डका पीडितहरुले जाहेरी दर्ता गराएको डेढ दशक भन्दा बढी हुन लाग्दा समेत प्रहरी प्रशासनले राजनीतिक शक्तिको आडमा मुद्धालाई ओझेलमा पारेको भन्दै संघर्ष समितिका संयोजक रुपसागर देवीले आक्रोश व्यक्त गरेकी छन्।
२०६३ चैत्र ७ गते दिउँसो १ बजे उपेन्द्र यादव नेतृत्वको तत्कालिन मधेसी जनअधिकार फोरमका कार्यकर्ताहरुले २८ जना माओवादी निर्दोष कार्यकर्ताको निर्मम हत्या गरेका थिए।
उपेन्द्र यादवको नेतृत्वमा भएको सो घटनामा परी २७ जनाको घटना स्थलमै र १ जनाको उपचारको क्रममा मृत्यु भएको थियो भने सयौंको संख्यामा निर्दोष नागरिकहरु घाईते भएका थिए। त्यस घटनामा बन्दुक, बाँसको फाटा, ढुंगाले टाउँको र मुखमा हानेर मारेका थिए। त्यस्तै महिलाहरुलाई बाँसको फाटाले सम्बेदनशील अंगहरुमा घोचेर, बलात्कार गरी, स्तन काटेर छटपटिरहेको अवस्थामा जिउँदै आगो लगाएर हत्या गरिएको थियो।
यो घटना प्रचलित नेपाल कानून बमोजिम अपराध मात्रै नभई नेपाल पक्ष रहेको टरचर कन्भेन्सन लगायतका अन्य अन्तर्राष्ट्रिय महासन्धी समेतले यस्ता प्रकारको जघन्य अपराधलाई अन्तर्राष्ट्रिय अपराधको रुपमा स्वीकार गरेको छ।
गौर हत्या काण्ड भएको भोलि पल्ट नै तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौला, सञ्चारमन्त्री कृष्णबहादुर महरा र संयूक्त राष्ट्र संघीय मिसन (अनमिन)का प्रतिनिधि पनि घटना स्थल पुगेका थिए।
घटनाको वास्वविक तथ्य पता लगाउँनका लागि नेपाल सरकारले तत्कालिन पुनराबेदन अदालतका न्यायाधिश हरिप्रसाद शर्माको संयोजकत्वमा गठन गरेको छानविन आयोगले बुझाएको प्रतिवेदन र राष्ट्रिय मानव अधिकार आयोग समेतको प्रतिबेदनले समेत यस घटनालाई राजनैतिक झडप नभई जघन्य एवं अमानविय अपराध गरेको भनि निष्कर्ष निकालेको थियो।
पीडितहरुको आन्दोलनमा आम जनता पार्टी (आजपा)ले समेत समर्थन गरेको छ। पीडित परिवारलाई न्याय दिनुपर्ने भन्दै आजपा अध्यक्ष एवं सांसद प्रभु साहले संसदले यसबारेमा पटक पटक कुरा उठाउँदै आएका छन्।