भूत रिसाएर कुलो भत्काएको भन्दै डोल्पालीले गरे ‘भूत–पूजा’

डोल्पामा भूतले सिँचाइ कुलो भत्काएको भन्दै भूत–पूजा गरिएको छ। त्रिपुरासुन्दरी नगरपालिका– १ मा पर्ने मसानजाडदेखि चुकेनीसम्मको पुरानो कुलो भूत रिसाएर भत्किएको भन्दै भूत–पूजा गरिएको हो।

स्थानीय एक वृद्धकाअनुसार ७८ वर्ष पुरानो सेजकुलो भत्केपछि देउताले भूत रिसाएको र पूजा–आजा गरेर शान्त बनाउन भनेपछि त्रिपुराकोटका सम्पूर्ण स्थानीयले भूतको पूजा गरेका हुन्।

भत्केको कुलाको माथिल्लो भागमा स्थानीय ८३ वर्षीय धनप्रसाद हमाल र तल्लो भागमा ८६ वर्षीय रविप्रसाद न्यौपानेको हातबाट पूजा–आजा गरिएको हो।

वि.सं. २००२ मा पनि कुलो बनाउने क्रममा मसानजाड भूत रिसाएर नवनिर्मित कुलो भत्काउने गरेको र देवी–देवतालेभने अनुसार बोका, भालेसहित ध्वजापतका चढाएर पूजा गरेदेखि हालसम्म कुनै क्षति नभएको स्थानीय बयोवृद्ध धनप्रसाद हमालले बताए।

आ.व. २०७९/८० को खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय डोल्पाको मातहतमा निर्माण उपभोक्ताले नयाँ कुलो निर्माण गर्ने क्रममा भूत–पूजा नगरेकाले पटक–पटक गरेर तीन पटक पक्की कुलो भत्केपछि स्थानीय धामाघाडी देवताले भूत रिसाएको र शान्तिपूजा नगरेसम्म कुलो बलियो नहुने भनेपछि स्थानीयले ७८ वर्षपछि दोस्रो पटक भूतको पूजा गरिएको टीकादत्त न्यौपानेले बताए।

भूत–पूजा गरेपछि नवनिर्मित सेजकुलो बलियो भई सिँचाइ सुविधा सहज हुने अपेक्षा स्थानीयले गरेका छन।

प्रकाशित मिति: : 2023-08-06 13:07:00

प्रतिकृया दिनुहोस्