
जीवन डाँगी
‘भिक्टोरियन युग’को सबैभन्दा चर्चित खोज पत्रकारमध्ये एक थिइन्– नेल्ली ब्लाई। उनी ‘मूर्ख पत्रकार’ थिइन्, ‘जासूस युवती’। खाेज पत्रकारिताको ‘राेल माेडल’ थिइन्, सनसनीपूर्ण पत्रकारिताको ‘अभ्यासकर्ता’।
विद्रोही थिइन् उनी– ‘विभेद, बेथिति र भ्रष्टाचार’विरूद्ध लेखिरहन्थिन्। मर्नुअघिसम्म सेलिब्रेटी रहिन्, नेल्ली एउटा युगले जन्माएकी साहसी र भाग्यमानी छोरी हुन्।
सन् १८८७ तिर उम्दा रिपोर्टर थिइन् उनी। सन् १९११ सम्म सनसनीपूर्ण जीवनचक्रमा रमाइरहिन् नेल्ली। उन्नाइसौँ शताब्दीको उत्तरार्धतिर बेस्सरी चर्चा कमाइन्। र, अलिकति बदनामी। उनीबारे पत्रकारिताका अनेकौँ मान्यता छन्।
२३ वर्षको कलिलो उमेरमै नेल्लीले ‘अमेरिकी संसार’ हल्लाइन्। ‘ब्ल्याकवेल टापू’को क्रूर–कथामार्फत् खोज पत्रकारिताको जग बसालिन्।
बाँचुन्जेल खोजीमै रमाइन् उनी, झुपडीको कथा लेखिन्। कारखाना र अस्पताल र ‘बेश्यालय’को कहालीलाग्दो व्यथा लेखिन्। आप्रवासीलाई सुनिन्, प्रहरीको दुर्व्यवहार पर्दाफास गरिन्। पितृसत्तात्मक समाजलाई झक्झक्याइन्।
नेल्लीले ‘ब्ल्याकवेल टापूको स्टोरी ब्रेक’ गर्नुअघि मानसिक रोगीहरू अकालमै ज्यान गुमाउँथे। जिउँदै मारिन्थे। डरलाग्दो थियो– न्यूयोर्कका अधिकारी, डाक्टर र नर्सहरूको रबैया। बिमारीलाई चर्को यातना दिइन्थ्यो। कुटपिट गरिन्थ्यो।
‘ब्ल्याकवेल टापू’बाट फर्केपछि नेल्लीले ‘द न्यूयोर्क वर्ल्ड’मा ६ भागमा समाचार बनाइन्, पुस्तक पनि छापिन्। त्यो अमेरिकी क्रूरताको दस्तावेजीकरण थियो। उनले दर्जनौँ खोज समाचार लेखिन्, जसले आम–मानिसको सामान्य जीवनमा परिवर्तन ल्यायो। आलोचकहरू ‘स्टन्ट रिपोर्टिङ’ भन्थे। उनी सनसनीपूर्ण समाचार लेखिरहन्थिन्। मानिसहरू छक्क पर्थे।
उनी आफ्नाे जीवनकालमा सर्वाधिक चर्चामा थिइन्– राजनीतिज्ञ र हत्याराको अन्तर्वार्ता लिइन्। आफूलाई खतरासँग जुधाइन्। विवादित भइन्। प्रशंसा र आलोचना खेपिन्। तर वादविवादमा उत्रिनुको साटो उनी सन् १८८९ मा विश्व भ्रमणमा निस्किइन्।
नेल्ली संकुचित समाजभन्दा उपल्लो घेरामा थिइन्। मनभित्रको कुन्ठा र आक्रोशलाई अक्षरमार्फत् बगाउँथिन्। उनी ‘फिचर र खोज’ लेखनमा अब्बल थिइन्। ‘इन्भेष्टिगेटिभ’ र ‘पपुलिस्ट’ दुबै शीर्षकमा रमाइन्।
कम्ता राेचक छैनन् नेल्लीका दुई किस्सा– पहिलाेः ‘ब्ल्याकवेल्स आइरल्यान्ड’मा नारकीय जीवन बाँचिरहेका १६ सय महिलालाई ‘नर्क’बाट जोगाइन्। दाेस्राेः ७२ दिनमा विश्व भ्रमण गरी ‘जुल्स भेर्न’को काल्पनिक रेकर्ड तोडिन्। उनले पत्रकारितामा बेग्लै इतिहास रचिन्। अनि, नरोकिने समयलाई दौडिएकै चुनौती दिइन्।
सन् १८७० देखि सन् १९०० अखबारको युग थियो। अखबारका पानाहरू खुब बिक्थे। अमेरिकीहरू खोजीखोजी पत्रपत्रिका पढ्थे। उनी कथा खोज्दै हिँडिन्, आफैँ समाचार बनिन्। अखबारका पानाहरूमा उनीपनि छाउँदै गइन्।
नेल्लीको जीवन संघर्षमय रह्याे। रुँदारुँदै हाँसेको जीवन। काँडैकाँडामा हिँडिरहेको जीवन। अभावले बाँच्न सिकाएको जीवन। डरलाग्दा रेखाहरूले कोरिएको जीवन। प्रशंसा र घृणाले भरिएको जीवन। हिँड्दैजाँदा खुसी छल्किएको जीवन। अर्थात्, फिल्मजस्तै ‘जीवन’।
नेल्लीका दर्जनौँ नाम छन्– ‘नेल्ली ब्लाई’ बन्नुअघि उनी ‘लोन्ली अर्फन गर्ल’ बनिन्। उनी टापूमाथि ‘नेल्ली ब्राउन’ बनिन्। त्यसअघि उनी ‘एलिजाबेथ जेन कोचरन’ थिइन्। घरमा उनलाई ‘पिंक’ भनेर बोलाउँथे। बाल्यकालमा उनी रातो पहिरनमा सजिएकी हुन्थिन्।
उनी सबथोक थिइन्, दर्जनौँ नामले चिनिएकी एक खाेज पत्रकार थिइन्।
नेल्ली हिजोआज हुन्थिन् भने टिकटकमा छाइरहेकी हुन्थिन्। टेलिभिजनमा समाचार भट्याइरहेकी हुन्थिन्। अनलाइनमा कथा लेखिरहेकी हुन्थिन्। फेसबुक वा टिकटकको लाइभमा भेटिन्थिन्। तर उनी अँध्यारो युगमा जन्मिइन्।
र, कहिल्यै नमेटिनेगरी इतिहासमा आफ्नो नाम ‘नेल्ली ब्लाई’ लेखेर गइन्।
०००
पश्चिमी पेन्सिलभेनियास्थित ‘कोचरन्स मिल्स’का मुखिया र आर्मस्ट्रङ काउन्टीका न्यायाधीश थिए माइकल कोचरन। गाउँमा दुईतले घर। एउटा गाई, घोडा र दुइटा कुकुर। उनको परिवार कामदारबाट मिल मालिक बनेको थियो।
माइकलकाे परिवार ठूलो थियो, १५ जना छोराछोरी। पहिलो पत्नीबाट १० जना छोराछोरी थिए। बिडम्बना, पत्नी अकालमै बितिन्।
माइकलले दोस्रो विवाह गरे। ५ जना छोराछोरी थपिए। दोस्रो पत्नीको तेस्रो सन्तानका रुपमा सन् १८६४ मा जन्मिइन्– एलिजाबेथ जेन कोचरन। उनी ‘विद्रोही छोरी’ थिइन्। एलिजाबेथ ६ वर्षको हुँदा बुवा बिते। परिवार बाँडियो। बुवाको मृत्युपछि ‘एउटा धनी र जमिनदार’को परिवार कमजोर हुँदै गयो।
बुवा बितेको एक वर्षपछि एलिजाबेथकी आमाले घर–जग्गा लिलाम गर्नुपर्यो। आर्थिक संकट गहिरिँदैजाँदा दुःख खेप्नुपर्यो। एकैपल्ट सडकछाप बन्यो हुनेखाने परिवार।
०००
बुवा बितेको ३ वर्षपछि एलिजाबेथकी आमा मेरी जेनले बिहे गरिन्। कान्छाे बुवा क्रूर थियो– रक्सी पिउँथ्यो, आमालाई पिट्थ्यो। अन्ततः छोरीको आग्रहमा अदालत धाइन्, दोस्रो पतिबाट उन्मुक्ति पाइन्। एलिजाबेथ स्वतन्त्रताको वकालत गर्थिन्। आमाको स्वतन्त्रता खोज्दै अदालतसम्म बयान दिन पुगेकी थिइन्। मेरीलाई गरिबीले थिच्यो। सन्तान हुर्काउनै हम्मेहम्मे पर्यो। अभावमा गुज्रिइन्।
एलिजाबेथ अखबार पढ्थिन्। परिवारको अवस्था नाजुक थियो, उनी स्कुल जान सकिनन्। आमासँग बस्थिन् बाँदरसित खेल्थिन्। आमाको खुसी र आफ्नो भविष्यबारे चिन्तित थिइन् उनी। पढाइ राम्रो थियो, इन्डियाना नर्मल स्कुलमा भर्ना भइन्। तर शुल्क तिर्ने पैसा नहुँदा एक वर्षमै स्कुलबाट निकालिइन् उनी।
एलिजाबेथकी आमा कोचरन्स मिल्सबाट काम खोज्दै पिट्सबर्ग गइन्। १५ वर्षको उमेरमा उनीपनि आमाकै पछि लागिन्। पिट्सबर्ग पुगेपछि सात वर्षभित्र घर बनाउने सपना देखिन्। बोर्डिङ स्कुलमा आमालाई सघाइन्।
आमाको काम नहुँदा अखबार पढेर बस्थिन् एलिजाबेथ। लेखनमा रुचि थियो। फुट्कर कथाहरू लेख्थिन्, डायरीभित्रै थन्काउँथिन्। त्यतिखेरको अमेरिकी समाज रुढीवादी थियो। महिलालाई हेपेर विचारहरू लेख्थे अखबार–सम्पादक। महिलाहरू सिलाइकटाइमै सीमित हुन्थे। चुलोचौकोमै सीमित थिए।
०००
अखबारमा लेखिएका स्तम्भहरू पढेर रिसाउँथिन् एलिजाबेथ। किनकि, त्यहाँ महिलाहरूलाई हेपिएको हुन्थ्यो। सहपाठीहरूलाई अखबारका पाना देखाउँदै सम्पादक र स्तम्भकारलाई गाली गर्थिन् उनी।
सन् १८८५ मा स्थानीय पत्रिका ‘पिट्सबर्ग डिस्प्याच’मा छापिएको एउटा लेख पढिन्। उनी असहमत भइन्। निकै रिसाइन् उनी। लेख थियो– ‘महिलाहरू पुरुषको सहयोगी हुन्।’ महिलालाई मतदान गर्ने अधिकार थिएन। छोरीहरूलाई ‘घरभन्दा टाढा नजानू’ भनिन्थ्यो।
एलिजाबेथले लेख पढेपछि अखबारका सम्पादकलाई पाठक–पत्र लेखी पठाइन्। तर उनले आफ्नो नाम लुकाइन्। उनी गुमनाम पात्र थिइन्, युवती नै थिइन् उनी। एलिजाबेथको पत्रले सम्पादक जर्ज ए. म्याडेन तुरुन्तै प्रभावित भए। पाठक–पत्र छापिदिए। लेखकलाई भेट्न चाहेको सूचना पठाए। ताकि अखबारमै राख्न सकून्।
एलिजाबेथ खुसी हुँदै अखबारको कार्यालय गइन्। सम्पादकले उनलाई ‘पिट्सबर्ग डिस्प्याच’ पत्रिकामा काम दिए। तर नाम भने फेरिदिए। एलिजाबेथको पहिलो लेखमा नाम थियो– ‘लोन्ली अर्फन गर्ल’ अर्थात एक्ली टुहुरी केटी। सम्पादकको सल्लाहमा नाम फेरियो। र, नयाँ नाम दिइयो– नेल्ली ब्लाई।
०००
उनी लेख्दै गइन् लेख, छाप्दै गए सम्पादक। अखबारको भित्रिकुनाबाट पहिलो पृष्ठमा छाउन थालिन्– नेल्ली ब्लाई। अखबार पढ्नेहरूले ‘नेल्ली ब्लाई’बारे सोध–खोज थाले। तर उनी गुमनाम हुँदै लेखिरहिन्।
नेल्लीले महिलाका कथा लेखिन्। उनले गरीब र उत्पीडितहरूका कथा लेखिन्। अस्पताल धाइन्, बेश्यालय गइन्। दमितहरूको कथा लेखिन्। सामन्तीहरूको पर्दाफास गरिन्।
ठगीको समाचार लगेर अखबारको कार्यालय पुगिन् उनी। समाचार राम्रो थियो तर सम्पादक नछाप्ने तहमा पुगे। कथा पीडित युवतीको थियो। र, कारखाना धनीहरूले चलाएका थिए। उनीहरूले अखबारबाट विज्ञापन झिक्ने धम्की दिए।
सम्पादक शहरीया कूलीन वर्गलाई रिसाउन चाहँदैनथे। नेल्लीसित रिसाएनन् उनी तर अत्याचारको समाचार पनि छापेनन्। लगतै, उनलाई अखबारको अर्को पृष्ठको जिम्मेवारी सुम्पिइयो– महिलाका मुद्दा किनारा पारियो।
०००
नेल्ली ठुल्ठूला कथा–समाचार लेख्ने भइसकेकी थिइन्। विश्व संवाददाता बन्न इच्छुक देखिइन् उनी। मेक्सिको जाने निधो गरिन्, नयाँ बाटो पत्ता लगाइन्। मेक्सिकनहरूको जीवनशैलीबारे जिज्ञासु बनिन्। उनी मेक्सिको गइन्, ६ महिना बसेर राम्रो रिपोर्टिङ गरिन्।
उनी आमासित मेक्सिको गइन्। डरलाग्दो युग थियो, आमा साथमै गइन्। तर नेल्लीकी आमा चाडै अमेरिका फर्किन्। उनले मेक्सिकन जनजीवन, खाना, कला–संस्कार र भ्रष्टाचारको भण्डाफोर गरिन्। सरकारी सूत्रबाट पक्राउ पर्ने धम्की पाएपछि मेक्सिको छोडिन्। उनले सन् १८८८ मा ‘सिक्स मन्थ इन मेक्सिको’ पुस्तक प्रकाशित गरिन्।
उनी पिट्सबर्ग फर्किइन्। तर सन्तुष्ट थिइनन्। सम्पादकले हेपिरहेका थिए, पहिलेभन्दा कम स्थान दिए। उनी दिक्क भइन्, नेल्लीलाई लाग्थ्यो, ‘सानो शहरमा साँघुरो सोच छ।’
‘हेपिएका महिलाहरूका कथा दबाउँदा’ उनी बेचैन हुन्थिन्। सोचिन्– न्यूयोर्क शहरको विशाल अखबार उद्योगले महिला पत्रकारलाई राम्रो काम दिनेछ। उनी न्यूर्योकतिर लागिन्। र, सम्पादकलाई सन्देश दिइन्, ‘न्यूयोर्क जाँदैछु।’
०००
नेल्ली ब्लाई सन् १८८७ मा ‘सपनाको शहर’ न्यूयोर्क पुगिन्। उनी अखबारमा जागिर खोज्दै हिँडिन्। उनले न्यूयोर्कका अखबारको ढोका ढकढक्याइन्। कुनै पनि अखबारका मालिक र सम्पादकले उनलाई पत्याएनन्। उनी ‘पिट्सबर्ग डिस्प्याच’ रिपोर्टिङ गर्दा उम्दा पत्रकार थिइन्। तर नेल्लीलाई न्यूयोर्कले ठानेन ‘पत्रकार’।
उनी अखबारमा जागिर माग्दै भौतारिरहिन्। ‘द न्यूयोर्क मेल एण्ड एक्सप्रेस’, ‘द न्यूयोर्क हेराल्ड’ र ‘द न्यूयोर्क सन’को दैलोमा पुगिन् उनी। नाम चलेका मिडिया हाउसले महिला पत्रकारलाई ‘पत्रकार’ देखेनन्।
अखबारमा जागिर नपाएपनि बिचल्लित भइनन् उनी। सम्पादकको दैलो धाउँदा–धाउँदा अन्ततः उनले ‘द न्यूर्योक वर्ल्ड’मा काम पाइन्। त्यो अखबारका मालिक थिए– जोसेफ पुलित्जर। अनि, सम्पादक टोनी माक्रेन।
अखबारले सनसनीपूर्ण समाचार मात्र खोज्थ्यो। र, नेल्लीलाई भनियो– ‘ब्ल्याकवेल टापूको स्थलगत रिपोर्टिङ गर्न सक्छेउ।’ त्यो टापू ‘पागल’हरूको उपचारकेन्द्र थियो। उनी जाँदैथिइन्, ‘ब्ल्याकवेल टापू’। रिपोर्टिङ चुनौतीपूर्ण थियो।
नेल्ली पुलित्जर र टोनीबाट प्रभावित भइन्, किनकि उनी कथा लेख्ने पत्रकार थिइन्। उनलाई पत्रकारितामै रमाउनु थियो। अखबार आलोचित थियो। सनसनीपूर्ण समाचार छाप्थ्यो। तर उनले हिम्मत हारिनन्। टापू जाने निधो गरिन्। सद्दे मानिसहरू टापूमा जान सक्दैनथे। अनि, बिमारीहरू सञ्चो भएर घर फर्किंदैनथे।
०००
नेल्ली केहीदिन न्यूयोर्कमा बरालिइन्। पत्रकारिताको नयाँ अभ्यास गर्दै थिइन्। सम्पादक टोनीसँग मुस्कुराउँदै बिदा भइन् उनी।
बाटोबाटोमा भौतारिँदै हिँडिन्। कोठामा पुगेर ऐनाअघि उभिइन्। र, ‘पागल महिला’को नक्कल गरिन्। किनकि उनलाई रिपोर्टिङका लागि ‘पागल’ बन्नुथियो। त्यसअघि उनले कहिल्यै मानसिक रोगी भेटेकी पनि थिइनन्।
पत्रकारिताको भोकले २३ वर्षीया युवतीलाई ‘पागल’ बनायो। उनी कोठाबाट निस्किएर ‘महिलाकेन्द्र’मा पुगिन्। जहाँ दर्जनौँ महिलाहरू आश्रय लिइरहेका थिए। उनी पनि त्यहीँ मिसिइन्, ‘पागल’ बन्ने उपाय खोजिन्। उनलाई कसैले चिन्दैनथे, नाम भेष बदलेर गएकी थिइन्।
महिलासामु अस्वभाविक हर्कत देखाएपछि उनलाई अस्पताल लगियो। अनि, चिकित्सकहरूको दाबी थियो, ‘उनी पनि मानसिक बिमारी हुन्, ब्ल्याकवेल टापू लगियोस्।’ सन् १८८७ नोभेम्बर २५ मा नेल्लीलाई पहरेदार र नर्ससहित नदीले घेरिएको ‘उपचार–केन्द्र’ लगियो। उनी डराइ–डराइ गइन्।
पागलखाना गएकै दिन नेल्लीले पर्खालभित्र डरलाग्दो दृश्य देखिन्। उनलाई टापूको महिला–वार्डमा राखियो। पागलपनको कल्पित भूमिका कम्ती सकसपूर्ण थिएन। उनले चारैतिर हेरिन्, बेस्सरी हल्लिइन्। ‘पागल–महिला’हरूको अनौठो भीड थियो। नराम्रो कपडा लगाएका उनीहरूले नेल्लीलाई हेरिरहे। उनी १६ सय पागल महिलासितै बसिन्।
अमानवीय व्यवहारको मारमा परिन् उनी। टाउकोमा हिउँजस्तै चिसो पानी खन्याइयो। काठको बेन्चमा घन्टौँ सीधा बस्न भनियो। सुत्न खोज्दा चिमोठियो। सबैलाई पालैपालो कुटपिट गरियो। झाडुले कुटियो। सडेगलेको खाना दिइयो। नुहाइसकेपछि चरम यातना भोगिन्।
नेल्लीलाई भयानक त्राशले घेर्दा पनि ‘रिपोर्टिङ’को भोकले सताइरह्यो। उनी टापूमा पागलै भइन्। पागल–महिलाहरूको मन जितिन्। उनीहरूसितै सुतिन्। नुहाउने पालो कुर्दा उनीहरू रुन्थे। पहरेदार, डाक्टर र नर्स क्रूर थिए, नराम्रोसँग कुटेर रगत निकाल्थे। भगवान खोज्दै चिच्याउँथे। मृत्यु डाक्दै कराउँथे।
थुनिएर–बस्दा नेल्लीले दर्जनौँ महिलासित कुराकानी गरिन्। धेरै आप्रवासी महिलाहरू थिए, भाषा बुझ्न कठिन थियो। उनीहरू अंग्रेजी भाषा नजान्दा पीडा सुनाउन सक्दैनथे। तर भोगिरहेको हैरानी आँखाबाट छल्किने आँसुले बताउँथ्यो।
बिमारीहरूका लागि नर्क थियो– ‘ब्ल्याकवेल टापू’। उनले पागलखानामा दश दिन बिताइन्। ‘द न्यूर्योक वर्ल्ड’को पहलमा उनी ‘जेल’बाट निस्किइन्।
‘स्टन्ट जर्नालिज्म’को भेलमा डुबुल्की मार्दा ‘इन्भेष्टिगेटिभ जर्नालिस्ट’ भइन् नेल्ली। टापूमा सनसनीपूर्ण खुलासा गर्ने उदेश्यले गएकी थिइनन् उनी। तर सनसनीपूर्ण कथा नै भेटियो।
०००
पागलखानाबाट फर्केपछि नेल्लीका ‘द वर्ल्ड’मा दर्जन कथाहरू छापिए। ‘इनसायड द म्याडहाउस’ले न्यूयोर्कमा हंगामा मच्चायो। उनले शारीरिक र मानसिक दुर्व्यवहारको कहालीलाग्दो कथा संसारसामु बाँडिन्। पालैपालो उपचारकेन्द्रका कथाहरू छाप्दै गइन्।
नेल्लीले कथाहरूको संग्रह ‘टेन डेज इन अ म्याडहाउस’ पुस्तक निकालिन्। देखेका–भोगेका अनुभवहरूलाई इमानदारीपूर्वक वर्णन गरिन्। दश दिनको ‘ब्ल्याकवेल टापू’को बसाइपछि अमेरिकी संसारमा एकाएक छाइन् उनी।
न्यूयोर्क शहरको कुनाकुनामा सुनिइन् उनी। नेल्लीको भोगाइपछि न्यूयोर्कका डाक्टर र नर्सहरूले नराम्रोसँग विश्वास गुमाए। उन्नाइसौँ शताब्दीको उत्तरार्ध र बिसौँ दशकको सुरुतिर उनको नाम हर–कोहीको जिब्रोको टुप्पोमा थियो। पागलखानाको कथाले सनसनी मच्चायो। र, खोज पत्रकारिताको एउटा इतिहास बन्यो, त्यो कथा।
नेल्लीको पत्रकारिताले क्रूर र अमानवीय अमेरिकी सार्वजनिक नीति फेरियो। अखबारले चर्चा कमायो। उनको रिपोर्टिङले विश्व–पत्रकारिता जगतमा नयाँ इँट्टा थप्यो। आफू यातनागृहबाट निस्के पनि आफूसित दुःख भोग्ने अभागी महिलाहरूलाई बाहिर निकाल्न नपाउँदा दुःखी थिइन् उनी।
‘द वर्ल्ड’मा छापिएको नेल्लीको समाचारपछि न्यूयोर्क शहरले बिरामीहरूको हेरचाहका लागि लाखौँ रकम छुट्यायो। ‘ब्ल्याकवेल टापू’मा व्यापक सुधार गरियो।
र, सरकारले मानसिक बिमारीलाई हेर्ने नजर बदल्यो। खोजी पत्रकारिताले परिवर्तन ल्याएको पत्तो पाउँदा उनी सन्तुष्ट थिइन्। नेल्ली पत्रकार मात्र थिइनन्, एक ‘सेलिब्रेटी’ र सुधारवादी आन्दोलनकी नायिकासमेत थिइन्।
०००
खोज पत्रकारिताको भोक नमेटिँदै नेल्लीलाई ‘विश्व–रेकर्ड’ तोड्ने हुटहुटी जाग्यो। उनी सन् १८८९ नोभेम्बर १४ मा न्यूयोर्कबाट यूरोप यात्रामा निस्किइन्। उनी एउटा झोला, दुईजोर लुगा, एउटा मसी–कलम, पानी पिउने कप र तीनवटा रुमाल बोकेर विश्व भ्रमणमा गइन्।
उनी गाडी–घोडा, मोटरसाइकल, पानी–जहाज, रिक्सा र रेलमा हिँडिन्। नेल्ली न्यूयोर्कबाट इङ्गल्यान्ड, इजिप्ट, श्रीलंका, सिंगापुर, जापान हुँदै न्यूजर्सी फर्किइन्। उनी ७२ दिन ६ घण्टा १० मिनेटमा विश्व भ्रमण गरेर देश फर्किएकी थिइन्। उनलाई ठाउँ–ठाउँमा स्वागत र सम्मान गरियो। चारैतिर चर्चा चुलियो, ‘तगडा सेलिब्रेटी’ भइन् उनी।
उनले डुलिहिँड्दा देखेका–भोगेका कथा–कहानी ‘द वर्ल्ड’मा छापिन्। लगतै, ‘अराउन्ड द वर्ल्ड इन सेभेन्टी .टु डेज’ पुस्तक निकालिन्। उनी बाँचुन्जेल विवादै–विवादको बाटो हिँडिन्, लेखनमै रहिन्। खासगरी लोकप्रियताले लखेट्दा, अदालतले खेद्दा।
उनी आफूले भेटेका कथालाई निखारेर लेख्थिन्। नेल्ली स्टोरी लेख्नुअघि स्रोतसँग घन्टौँ गफिन्थिन्। अन्तर्वार्ता गर्थिन्। स्थलगत रिपोर्टिङ गर्थिन्। स्थान र अवस्थाको चित्रण गर्थिन्। अनि चिया पिउँदै एकान्तमा बसेर लेख्न थाल्थिन्।
आर्थिक अभाव र अनेकौँ चुनौतीले थिचिएकी नेल्ली पत्रकारितामा खारिइन्। उनी प्रसिद्ध महिला खोज–रिपोर्टर थिइन्। दैनिक अखबारको जागिर छाडेर तीन वर्षसम्म साप्ताहिक स्तम्भ लेखनमै लागिन्। उनी सन् १८९३ मा फेरि ‘द वर्ल्ड’मै फर्किइन्। उनले एम्मा गोल्डम्यानको अन्तर्वार्ता लिइन्।
सन् १८९५ मा उनले न्ययोर्क शहर छाडिन्। उनी ‘टाइम्स हेराल्ड’मा काम गर्न सिकागो गइन्। उनले अखबारमा ६ हप्ता काम गरिन्। पत्रकारिताकै दौरान करोडपति रोबर्ट सीमनलाई भेटिन्। रोबर्टसँग नेल्लीको माया बस्यो। रोबर्टलाई चिनेको दुई हप्तामै विवाह बन्धनमा बाँधिइन् उनी।
३० वर्षीया नेल्लीले ७० वर्षीया करोडपति रोबर्टसँग बिहे गरिन्। उनको वैवाहिक कदमप्रति एकपटक फेरि न्यूयोर्क चकित पर्यो। नेल्ली ब्लाई अर्थात् ‘एलिजाबेथ सीमन’ र करोपति–पति बसाइँ सरे। नेल्लीले व्यवसायमा चासो देखाइन्। उनी पतिलाई सघाउँदै, पत्रकारितामा रमाइन्। थोरै समय पत्रकारिताबाट निस्क्रिय भइन्।
बिहे गरेको दश वर्षपछि सन् १९०४ मार्च ११ मा रोबर्ट बिते। नल्लीले सम्हाल्दै आएको कम्पनी जिम्मा लिइन्। उनी विश्वको अग्रणी महिला उद्यमी बनिन्। अमेरिकी अनाथहरूको ‘गोद’ बनिन्। समाजसेवामा खटिइन्।
संघर्षको पहाड फोरेर शिखर चुमेकी नेल्ली फेरि ओरालो लागिन्। सहयोगीहरूको भरपर्दा कम्पनी डुब्यो, अदालतले लखेट्न थाल्यो। उनी साथीलाई भेट्न यूरोप गइन्। अष्ट्रियाको भियाना पुगेपछि उनी कम्पनी डुबेको चिन्ताले अमेरिका फर्किइनन्।
पहिलो विश्वयुद्धताका उनी भियानामै बस्थिन्। युद्धलाई नजिकबाट नियालिन्। युद्ध संवाददाता भइन्। युद्धभूमिको रिपोर्टिङमा खटिइन् उनी। युद्धपीडितका कथाहरू लेखिन्। घुम्न गएकी उनी यूरोपबाटै जागिरे भइन्।
सन् १९१९ मा उनी न्यूयोर्क फर्किइन्। अनाथ नानीबाबु र विधवाहरूको सहयोगका लागि पैसा जुटाइन्। महिलाहरूलाई रोजगारी खोजिदिइन्। नेल्ली त्योबेला ‘द न्यूयोर्क इभिनिङ जर्नल’मा काम गर्थिन्। उनी समाजसेवा र पत्रकारितामै थिइन्। र, सन् १९२२ जनवरी २७ मा उनी ५७ वर्षको उमेरमा निमोनियाका कारण अस्ताइन्।
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया