काठमाडौं महानगरपालिका र अभियन्ता ईःबीच बुधबार ४ बुँदे सहमति भएकाे छ।
महानगर र आन्दोलनरत अभियन्ता ईःबीच राष्ट्रियसभा गृहमा बुँदागत रुपमै सहमति भएपछि अभियन्ता ईःले एकसय ९९ घन्टादेखिको आन्दोलन स्थगित गरेका छन्।
दुई पक्षबीच भएको सहमतिअनुसार फुटपाथ व्यापारीको जफत गरिएको सामान पहिचान गरी फिर्ता दिने, विज्ञ टोली गठन गरी उचित स्थानको खोजी गर्ने, सात दिनभित्र तोकिएको स्थान खोजी गर्ने गरी हाललाई पसल राख्न दिने र ईःको आन्दोलन फिर्ता गर्ने सहमति भएको अधिकारीहरूले जनाएका छन्।
फुटपाथ–सार्वजनिक स्थलमा व्यापार गर्ने विषयलाई सम्बोधन गर्ने एकसय ९९ घन्टादेखि राष्ट्रिय सभागृहको मूल गेटमा निरन्तर उभिएर प्रदर्शन गरिरहेका अभियानकर्ता ईःकाे प्रदर्शन आजैबाट स्थगित गर्ने सहमति भएको छ।
यस्ता छन् सहमति—
१. फुटपाथ–सार्वजनिक स्थलमा व्यापार गर्ने विषयलाई सम्बोधन गर्ने ११९ घण्टा देखि राष्ट्रिय सभागृहको मूल गेटमा निरन्तर उभिएर प्रदर्शन गरिरहनुभएका अभियानकर्ता ई र सहभागी साथीहरूको स्वास्थलाभको कामना गर्दै सो प्रदर्शन आजैबाट स्थगित गर्ने।
२. फुटपाथ–सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत गरिएका सामानहरू महानगरपालिकाको स्टोरमा भएसम्म यकिन गरी सम्बन्धित सामानका धनीलाई महानगरले फिर्ता गर्ने।
३. अनौपचारिक क्षेत्रमार्फत हुने व्यापार व्यवसायलाई व्यवस्थित गर्न व्यापार गर्ने स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्न र स्थान उपलब्ध गराउने विधि, प्रक्रिया तथा कानूनी व्यवस्था समेतको प्रबन्ध गर्नुपर्ने विषयमा ठोस सुझाव सहित अध्ययन गरि २ महिनाभित्र महानगरपालिकामा प्रतिवेदन पेश गर्न देहाय बमोजिमको समिति गठन गर्नेः
क. महानगरपालिकाले तोकेका तीन जना
ख. अभियानकर्ता ई. को तर्फबाट तोकिएका प्रतिनिधि दुई जना
ग. भौतिक तथा यातायात मन्त्रालयको प्रतिनिधि एक जना
घ. सहरी विकास मन्त्रालयको प्रतिनिधि एक जना
ङ. ट्राफिक प्रहरीको प्रतिनिधि एक जना
४. साविकमा फुटपाथ–सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरूका लागि महानगरपालिका भित्र कानुनले निषेध गरेका स्थान बाहेक अन्यत्रका उपयुक्त स्थलहरू पहिचान गर्न महानगरपालिकाले आजको मितिले एक हप्ताभित्र पहल गर्नेछ।