गृहका कर्मचारीलाई कसले दियो कुर्सीमै बसेर योग र ध्यान गर्ने आइडिया?

उमेश थापा

काठमाडौं
BreaknLinks
BreaknLinks

एउटा गैरसरकारी संस्था ‘जीवन विज्ञान प्रतिष्ठान’सँग मिलेर सशस्त्र प्रहरीले आफ्ना मातहतका प्रहरीहरूलाई योग र ध्यान सिकायो।

‘एक दिवसीय स्वजागरण अभियान तथा ध्यान विज्ञान कार्याशाला’ नाम दिइएको यो योग शिविरको उद्घाटन असोज ५ गते बिहान राष्ट्रपति रामचन्द्र पौडेलले गरेका थिए। र, साँझपख गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्यसको समापन गरे।

समापन गर्दै गृहमन्त्री श्रेष्ठले भनेका थिए, ‘ध्यान सजगता हो, होसको स्थिति हो, विधि र प्रकृयाअनुसार ध्यानको स्थानमा पुग्न सकियो भने यसले जीवन चिन्न र सार्थक तुल्याउन महत्वपूर्ण भूमिका खेल्नसक्छ।’

त्यसको चार दिनपछि असोज १० गते गृह मन्त्रालयले एउटा परिपत्र गरेर आफ्ना महाशाखा मातहतका कर्मचारीहरूलाई आदेश दियो- ‘अधिकृतस्तरका सबै कर्मचारीहरूले हरेक दिन बिहान १०:१५ भित्र अनिवार्यरुपमा कम्तीमा १५ मिनेट समय योगाभ्यास/ध्यान गरेरमात्रै आ-आफ्नो कार्यजिम्मेवारी प्रारम्भ गर्नू…।’

मन्त्रालयका उपसचिव भीमकान्त शर्माका अनुसार अरू कर्मचारीहरूलाई योग प्रशिक्षण दिएपछि सबैले हरेक बिहान काम सुरु गर्नुभन्दा अघि कार्यालयमै ध्यान र योग गर्नुपर्नेछ।

मन्त्रालयका अनुसार कर्मचारीहरूलाई कुर्सीमै बसेर गर्ने योग गर्न पनि सिकाइएको छ।

त्यो दिन सशस्त्र प्रहरीको हलचोकमा गृह मन्त्रालय र उपत्यकाभित्रका विभाग, कार्यालयका अधिकृतदेखि उच्चतहसम्मका कर्मचारीहरूलाई योग र ध्यान गर्न सिकाइएको थियो।

त्यो दिनभरि जीवन विज्ञान प्रतिष्ठानका एलपी भानु शर्मा र रमेश नेपालले योग सिकाएका थिए।

गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार ‘ध्यानले कर्मचारी प्रशासनमा निकै प्रभाव पार्ने विश्वास’का आधारमा योग र ध्यानको सुरुवात गरिएको हो।

‘हामीले त्यहाँ सिकेको विधि र प्रक्रियाअनुसार नै आफूलाई सहज हुनेगरी कार्यालयमै ध्यान गर्न भनेका हौँ’, उनले भने, ‘कुनै गुरु आएर हामीलाई हरेक दिन सिकाउने होइन। ध्यान गर्न समयमा नआउने कर्मचारीलाई निगरानीमा राखिन्छ। तर, अहिले नै कारबाही हुने भन्ने छैन।’

त्यसअघि गृहसचिव दिनेश भट्टराईले कर्मचारीहरूलाई ध्यान र योग गराउने आइडिया निकालेका थिए। अनि त्यो कुरा गृहमन्त्रीकहाँ प्रस्ताव लगियो र गृहमन्त्री श्रेष्ठले त्यसलाई सहजै स्वीकार गरे।

तर गृह कर्मचारीहरू यो आदेशबाट अचम्म पनि परेका छन्। कतिपयको त यो ध्यान र योगमा खासै चासो पनि छैन।

‘त्यो दिन पनि दिनभरि योग र ध्यान सिक्दासिक्दै सबै वाक्क भइसकेका जस्ता देखिन्थे’, गृहका एक अधिकारीले भने, ‘सबैले त नगर्लान् तर मिलेसम्म कसैले गर्न सक्छन्।’

उनले ध्यान वा योग गर्न समय र वातावरण पनि उत्तिकै मिलेको हुनुपर्ने बताए।

‘कार्यालय गएर ध्यान, योग गर्न बस्ने कि कार्यतालिका वा योजनाहरू बनाउने?’, उनी भन्छन्, ‘ध्यान गर्नका लागि वातावरण पनि चाहिन्छ। ठाउँ चाहिन्छ। कुर्सीमा बसेर त काम गर्ने पो होला, ध्यान कसरी हुन्छ?’

मन्त्रालयले योग र ध्यानको अभ्यास विस्तारै सबै कर्मचारीहरूसम्म पुर्‍याउने पनि जनाएको छ।

‘अन्य कर्मचारीहरूलाई योग प्रशिक्षण प्रदान गरिसकेपछि सोही अनुरुप योग/ध्यान गर्ने व्यवस्था र वातावरण बनाउनुहुनसमेत निर्देशानुसार अनुरोध छ’, उपसचिव शर्माले जारी गरेको सूचनामा भनिएको छ, ‘निकट भविष्यमै सबै तहका कर्मचारीहरूलाई योग र ध्यानका लागि प्रशिक्षण प्रदान गरिनेछ।’

प्रकाशित मिति: : 2023-09-28 19:15:00

प्रतिकृया दिनुहोस्