मेक्सिकोमा ट्रक दुर्घटनाः लुकेर अमेरिका गइरहेका १० आप्रवासीको मृत्यु, २५ घाइते

बिएल संवाददाता

मेक्सिको सिटी

मेक्सिकोको चियापास राज्यमा एउटा मालवाहक ट्रक पल्टिँदा कम्तीमा १० जना आप्रवासीको मृत्यु भएको र २५ जना घाइते भएको अधिकारीहरूले पुष्टि गरेका छन्। 

ग्वाटेमालाबाट आप्रवासीहरू बोकेर मेक्सिको–अमेरिकी सीमातर्फ जाँदै गरेको मालवाहक ट्रक पिजिजियापन र टोनाला राजमार्गमा पल्टिँएको थियो। 

मानव तस्करकाे फन्दामा परेर मालवाहक ट्रकभित्र कोचिएर अमेरिका जान लागेका १० जना आप्रवासीको घटनास्थलमै मृत्यु भएको मेक्सिकन मिडियाहरूले जनाएका छन्। 

घाइतेहरूलाई डा. राफेल अल्फारो गोन्जालेज आधारभूत सामुदायिक अस्पतालमा सारिएको छ। र, एकजना सिकिस्त घाइतेलाई हुइक्स्टला अस्पतालमा लगिएको छ। 

'अमेरिकी सपना' बाेकेर तल्लाे बाटाे हुँदै अमेरिका जानेहरूले ग्वाटेमाला र मेक्सिकाेमा ट्रककाे जाेखिमपूर्ण यात्रा पार गर्छन्। ट्रकको पछाडिको भाग काठले बनाइएको थियो। दुर्घटनापछि मालवाहक ट्रक पूरै नष्ट भएको छ, ट्रकका चालक फरार छन्।

सडक दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरू सबै क्यूवाका नागरिक हुन्।

अधिकारीहरुका अनुसार उनीहरू ट्रकमा अत्यन्तै अमानवीय तरिकाले कोचिएका थिए। असहज अवस्थामा बन्द ट्रकभित्र कोचिएर यात्रा गर्दा उनीहरूलाई श्वास प्रश्वासमा समस्या भएको घाइतेहरूले जनाएका छन्।

विभिन्न देशका हजारौँ आप्रवासीहरू लुकेर अमेरिका पुग्नका लागि यही बाटो प्रयोग गर्छन्, उनीहरू बस, ट्रक, ट्रेलर र मालबाहक रेलमा चढेर मेक्सिको पार गर्छन्। अनि अमेरिकी पुगेर शरण माग्छन्।

प्रकाशित मिति: : 2023-10-02 07:03:00

प्रतिकृया दिनुहोस्