भारतको इलाहावाद उच्च अदालतले हिन्दु समुदायमा हुने विवाहवारीमा एउटा महत्वपूर्ण फैसला सुनाएको छ।
अदालतले हिन्दु समुदायमा ‘सातफेरा’ पूरा नगरिएको विवाहलाई वैधानिकता दिन नकसिने फैसला गरेको छ। उसले त्यसलाई सातफेराको विधि पूरा नगरिएको विवाह कानुनीरुपमा अवैध ठहर्ने फैसला गरेको हो।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार एकजना व्यक्तिलाई आफूहरूको वैधानिकरुपमा सम्बन्धविच्छेद नहुँदै श्रीमतीले अर्को व्यक्तिसँग विवाह गरेको आरोप लगाएका थिए।
त्यही मुद्दामा फैसला सुनाउँदै अदालतले भनेको छ ‘रीतिरिवाजका साथ सबै विधि पुर्याएर गरिएको विवाहलाई मात्रै कानुनीरुपमा वैध मानिन्छ। यदि कुनै एक विधि पूरा भएको छैन भने त्यसलाई कानुनको नजरमा वैध मान्न सकिन्न।’
उच्च अदालतका न्यायाधीश सञ्जयकुमार सिंहले आफ्नो एकल इजलासपछि फैसला सुनाउँदै भनेका छन्, ‘हिन्दु विवाह कानुनमा विवाहको वैधता प्राप्त गर्नका लागि सातफेरालाई अनिवार्य गरिएको छ। यो विवाहको एउटा अनिवार्य हिस्सा हो।’
विवाहका लागि बनाइएको मण्डपमा अग्नीलाई साक्षी राखेर दुलाह-दुलहीले एकअर्कालाई एउटा कपडाको फेरोले बाँधेर सातपटक त्यो अग्नीलाई घुमेपछि एउटा विधि पूरा हुन्छ। अदालतले यसलाई विवाहको एउटा महत्वपूर्ण र अनिवार्य हिस्सा भनेको छ।
मिर्जापुरका स्मृति सिंहले आफ्नी श्रीमतीले दोस्रो विवाह गरेर गएपछि अदालतमा मुद्दा हालेका थिए। स्मृति र सत्यम सिंहबीच सन् २०१७मा विवाह भएको थियो। तर दुबैजना सँगै बस्न सकेनन्।
त्यसपछि स्मृती आफ्नो माइतीमै रहन थालिन्। उनले आफ्ना पति र पतिका परिवारमाथि दाइजोका कारण आफूलाई यतना दिएको भन्दै मुद्दा पनि दर्ता गराइन्। त्यसपछि प्रहरीले सत्यमका परिवारविरुद्ध उजुरी दर्ता गर्यो। स्मृतिले आफ्ना श्रीमानको परिवारबाट आफूलाई भरणपोषण हुनुपर्ने भन्दै अदालतसँग याचना पनि गरिन्।
र, मिर्जापुरको एउटा पारिवारिक अदालतले २०२१ मा सत्यम सिंहले हर महिना स्मृतिलाई चार हजारका दरले भरण पोषणवाफत रकम दिनुपर्ने फैसला सुनायो। त्यो रकम सत्यमले त्यो बेलासम्म दिनपर्थ्यो, जबसम्म स्मृतिले अरुसँग विवाह गर्दिनन्।
त्यसपछि श्रीमतीले आफूसँग सम्बन्धविच्छेद नै नगरी अर्कैसँग बिहे गरेको आरोप लगाउँदै सत्यमले अदालतमा मुद्दा दायर गरेका थिए।
यी दुईजनाको वैवाहिक सम्बन्धको मुद्दामाथि फैसला सुनाउँदै अदालतले भारतीय कानुनको हिन्दु विवाह अधिनियम १९५५- धारा ७ अनुसार व्याख्यात्मक फैसला सुनाएको हो। जसमा हिन्दु विवाहको परिभाषा र संस्कार अनि विधिहरूको व्याख्या गर्दै विवाहका लागि सातफेरा अनिवार्य गरिएको छ।