रुसले पछिल्लोपटक युक्रेनमाथि गरेको आक्रमणप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गहिरो असन्तुष्टी व्यक्त गरेका छन्। उनले रुसका राष्ट्रपति भ्लादिमीर पुटिनलाई ‘पागल’ भन्दै धेरै मान्छे मारिरहेको आरोप पनि लगाएका छन्।
आइतबार न्युजर्सीको बिमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै ट्रम्पले पुटिनसँग आफू निकै दु:खी भएको पनि बताए।
‘पुटिनले जे गरिरहेका छन्, त्योसँग खुसी छैन। उनले धेरै मान्छेको हत्या गरिरहेका छन्। यो पागलपन हो। पुटिन पागल नै भइसके। उनले किन यस्तो गरिरहेका छन् मलाई थाहा छैन’ ट्रम्पले पत्रकारहरूसँग भनेका छन् ‘म सधै उनीप्रति राम्रो थिएँ। हाम्रो सम्बन्ध राम्रो थियो। तर अहिले उनले जे गरिरहेका छन् त्यो मलाई पटक्कै मन परिरहेको छैन। यो के गरेको?’
शनिबार राति रुसले युक्रेनमाथि ‘अहिलेसम्मकै’ ठूलो आक्रमण गरेको थियो। ४८ घण्टामा उसले युक्रेनमाथि ४ सय भन्दा ड्रोन र सयौं क्षेप्यास्त्रहरू प्रहार गरेको थियो।
यो आक्रमणबाट केही बालबालिकासहित कम्तीमा १४ जनाको ज्यान गएको युक्रेनले जनाएको छ। जवाफमा युक्रेनले पनि रुसमाथि ड्रोन प्रहार गरेको थियो। तर रुसले त्यसलाई आकाशमै निस्क्रिय पारिदिएको जनाएको छ।
युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिका र अरु शक्ति राष्ट्रहरू रुसको यो रवैयाप्रति मौन रहेको प्रतिक्रिया दिएका छन्।
ट्रम्पले जेलेन्स्कीको पनि आलोचना गर्दै उनको बोलीले गर्दा परिस्थिति झन् बिग्रिदैं गएको बताएका छन्।
‘मलाई लाग्छ पुटिन त अहिले पूर्णरुपमा पागल नै भइसकेका छन्। तर जेलेन्स्कीको बोलीले पनि झन परिस्थिति बिग्रिइरहेको छ’ उनले भनेका छन् ‘यो मेरो युद्ध होइन। मैले त यो घातक युद्धको आगोलाई निभाउने प्रयास गरिरहेको छु।’
केही दिनअघि टर्कीमा भएको वार्ता पनि सफल हुन सकेन। तर वार्ताकै बेलामा पनि रुसले युक्रेनमाथि आक्रमण जारी राखेको थियो।
अमेरिकाको मध्यस्थतामा भएको उक्त वार्तामा रुस र युक्रेन दुबै एकअर्काका युद्धबन्दीहरू फिर्ता गर्न राजी भए। तर त्यही कैदीबन्दी साटासाट भइरहेका बेला रुसले युक्रेनमाथि भिषण आक्रमण गरेको हो।
टर्कीको त्यो वार्ता र मिति अनि स्थान पनि रुसका राष्ट्रपति पुटिनले आफैंले तय गरेका थिए। तर पुटिन भने वार्तामा गएनन्। अनि जेलेन्स्की पनि फर्किए। युद्धबिरामका लागि भनिएको त्यो वार्ता अन्त्यमा युद्धबन्दीहरू साटासाटा गर्ने सहमतिमा सकिएको थियो।
सन् २०२२मा युक्रेनमाथि आक्रमण गर्दै रुसले युद्ध सुरु गरेको थियो।