इजराइलमा रकेट हमला, सेनाद्वारा ‘युद्धका लागि तयारी’ को घोषणा

Photo - AP
Photo - AP

अवरुद्ध गाजापट्टीबाट शनिबार रकेट आक्रमण हुँदा इजराइलमा ४ जनाको मृत्यु भएको छ। साथै धेरै घाइते भएको बताइएकाे छ। 

स्थानीय समयअनुसार बिहान साढे छ बजेदेखि गाजाका कयौँ स्थानबाट थुप्रै रकेट प्रहार भएको एएफपीका पत्रकारले जनाएका छन्। 

दक्षिणी इजराइलको बेडोइन सहर कुसेफी गाजापट्टीबाट करिब ६५ किलोमिटरको दूरीमा छ।

सर्वसाधारणलाई बम आश्रयस्थल नजिकै बस्न आग्रह गर्दै इजराइली सेनाले मुलुकका दक्षिण र मध्य क्षेत्रहरूमा साइरनको चेतावनी दिएका थिए।

जेरुसेलममा एएफपीका एक पत्रकारले पूरा सहरभर साइरन बजेपछि रकेट हमला रोकिएको देखेको बताए। प्यालेस्टिनी समूह हमासको सशस्त्र शाखाले हमला आफूले गराएको बताएको छ। उसले आफ्ना लडाकुहरूले पाँच हजारभन्दा बढी रकेट हमला गरेको दाबी गरेको छ।

‘हामीले इजराइली कब्जाका सबै अपराधहरूलाई समाप्त पार्ने निर्णय गरेका छौँ, जवाफदेही ठहर नगरी वितण्डा मच्चाउने उनीहरूको समय सकिएको छ’, उक्त समूहले भनेको छ, ‘हामीले अल–अक्स फ्लडको घोषणा गरेका छौँ र २० मिनेटको पहिलो हमलामा हामीले पाँच हजारभन्दा बढी रकेट प्रहार गर्यौँ।’

गाजापट्टीबाट इजराइली क्षेत्रमा रकेट हमला र आतङ्ककारी घुसपैठसहित यो संयुक्त प्रयासमा हमासको हात रहेको इजराइली सेनाले बताएको छ।

सन् २००७ मा हमास सत्तामा आएपछि इजराइलले गाजामा प्रतिबन्ध लगाउँदै आएको छ। त्यसयता प्यालेस्टिनी लडाकु र इजराइलबीच विनाशकारी युद्ध भएका छन्।

पछिल्लो हमला इजराइलले सेप्टेम्बरमा गाजाका कामदारमाथि दुई साताका लागि सीमा बन्द गरेपछि बढ्दो तनावका बीच भएको हो।  

गाजापट्टीबाट रकेट हमलापछि इजराइली सेनाद्वारा ‘युद्धका लागि तयारी’ को घोषणा

इजराइलमा गाजा पट्टीबाट व्यापक रकेट हमला र हमास आतङ्ककारीहरूको घुसपैठपछि इजराइली प्रतिरक्षा फौज (आईडीएफ) ले शनिबार युद्धका लागि तयार रहेको घोषणा गरेको दाइम्स अफ इजराइल (टिओआई) ले जनाएको छ।

‘इजराइललाई आईडीएफले युद्धका लागि तयार मुलुकका रूपमा घोषणा गर्दछ’, इजराइली सेनाले एक विज्ञप्तिमा भनेको छ, ‘इजराइली भूमिमा गाजाबाट व्यापक रकेट प्रहार भएको छ र थुप्रै प्रवेश विन्दुबाट इजराइली भूमिमा आतङ्ककारीहरूले घुसपैठ गरेका छन्।’

आईडीएफले मुलुकका दक्षिण र मध्य क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित क्षेत्रको नजिक रहन र गाजा वरपरका बासिन्दाहरूलाई सुरक्षित अवस्थामा रहन आवश्यक रहेको बताएको छ।

यसैबीच आईडीएफले गाजा पट्टीमा उसले जवाफी हमला गरिरहेको बताएको छ। हमासले गरेको अप्रत्याशित हमालाको झन्डै दुई घन्टापछि आईडीएफले जवाफी हमला गरेको हो।

प्रकाशित मिति: : 2023-10-07 14:06:00

प्रतिकृया दिनुहोस्