प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानसिक स्वास्थ्य समस्या भएकालाई विभेद गर्न आग्रह गरेका छन्। ‘विश्व मानसिक स्वास्थ्य दिवस २०२३’ का अवसरमा मंगलबार एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्।
‘हामीले मानसिक रोग एक शारीरिक रोगजस्तै हो भन्ने बुझ्नुपर्छ। मानसिक स्वास्थ्य समस्या भएकालाई भेदभाव नगरौँ। हुन पनि नदिऔँ’, उनले भने। गरिबी, बेरोजगारी, थुप्रै विभेदहरुले गर्दा मानसिक समस्या देखिएको भन्दै उनले यसलाई समाधान गर्न घरदेखि विद्यालय, समाजका सबै व्यक्ति लाग्नुपर्ने बताए।
समावेशी र समानुपातिक समाज निर्माण गर्न मानसिक रोगका विरुद्ध भइरहेका विभिन्न खालका भेदभावलाई सम्बोधन गर्नुपर्ने उनको भनाइ छ।
स्वस्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मानसिक समस्या चुनौतीपूर्ण बन्दै गएको बताएका छन्। ‘मानसिक समस्या नेपाल मात्र होइन, विश्वमा नै चुनौतीपूर्ण रुपमा देखिएको छ’, उनले भने।
यो समस्या समाधान गर्न प्रधानमन्त्री तहबाट कदम चाल्न निर्देशन आएको भन्दै मन्त्रालय तहबाट काम भइरहेको बताए।
नेपालमा प्रत्येक १० जनामध्ये १ जनामा मानसिक समस्या देखिने गरेको छ भने मानसिक समस्याकै कारण दैनिक १९ जनाले ज्यान गुमाइरहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा छ।
विश्वमा कुल मृत्युमध्ये १० प्रतिशत मृत्यु मानसिक स्वास्थ्य समस्याका कारण हुने गरेको छ। विश्वमै मानसिक समस्या चुनौतीपूर्ण बन्दै गएको अवस्थामा नेपालमा यसको समाधान गर्न विभिन्न निकायसँग समन्वय गरिरहेको स्वास्थ्यमन्त्री बस्नेतको भनाइ छ।
विभिन्न व्यक्ति सम्मानित
विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा विभिन्न व्यक्ति सम्मानित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्ति, स्थानीय तह, प्रदेशका मन्त्रीलाई पुरस्कार तथा सम्मान गरेको छ।
सम्मानित हुनेमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रमुख डा. डम्बर खड्का, भरतपुर अस्पतालका डा. सुनिलकुमार साह, ताप्लेजुङबाट वरिष्ठ चिकित्सक विजया राई, गुल्मीबाट खिमराज पोख्रेल, सुदुरपश्चिमको महाकाली अवस्पतालकी कुमारी भावना शर्मा बोहरा र सुनकुमारी रावत रहेका छन्।
यस्तै सम्मानित हुनेहरुमा नेत्ररोग विशेषज्ञ सन्दुक रुइत, डा. निराकारमान श्रेष्ठ, प्रा.डा. रमेशकान्त अधिकारी, मुध दिक्क्षित देवकोटा, रामकन्ठ माकाजु श्रेष्ठ सम्मानित भएका छन्।
यसैगरी लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खना, मधेश प्रदेशका स्वास्थ्य मन्त्री विरेन्द्रप्रसाद सिं, बागमती प्रदेशका उत्तम जोरी र गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिंखडा सम्मानित भएका छन्।
यस्तै स्थानीय तहमा बाराको महागढीमाई नगरपालिका पनि सम्मानित भएको छ।