गैरआवासीय नेपालीको मताधिकारका लागि पहल भइरहेको छ: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपालीहरूको मताधिकारका लागि पहल अघि बढाएको बताएका छन्।

पश्चिम चितवनको शारदानगरमा आज तीनवटा खानेपानी आयोजनाको एकैसाथ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले गैरआवासीय नेपालीहरुको नागरिकताको समस्या समाधान गर्न सरकार लागिपरेको बताए।

प्रधानमन्त्री दाहालले भने, ‘देश बाहिर रहनुहुने नेपालीको हितमा सामाजिक सुरक्षा कोषको मात्रै होइन, नागरिकता र मताधिकारसम्बन्धी समस्या समाधानका लागि सरकारले पहल अगाडि बढाएको छ।’

प्रधानमन्त्री दाहालले सरकार सुशासन समाजिक न्याय आर्थिक समृद्धिको पक्षमा प्रतिबद्धता रहेको उल्लेख गरे। ‘अहिले धेरै क्षेत्रमा सुधार देखिएको छ। तराईमा मिटरब्याजीको समस्या समाधान गर्नका निम्ति सरकारले लिएको पहल सार्थक भएको छ, त्यसबाहेक सुशासन र आर्थिक समृद्धिका क्षेत्रमा पनि काम भएका छन्’, उनले भने।

वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरी उनीहरूको भविष्य सुन्दर बनाउने सरकारले पहल गरेको उनको भनाइ छ। उनले थपे, ‘अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने प्रयास सामाजिक न्यायको काम हो। यसैबाट सरकारले समाजवादको आधार तयार गर्ने काम सुरु गरेको छ।’

प्रधानमन्त्री दाहालले देशको स्वाधिनता, स्वतन्त्रता र आत्मसम्मानलाई अभिवृद्धि गर्नका लागि आफ्नो विदेश भ्रमण फलदायी भएको बताए। ‘म प्रधानमन्त्री भएपछि भएका भारत, इटली, संयुक्त राष्ट्रसङ्घको महासभा र चीन भ्रमणका क्रम जे सहमति र समझदारी भएका छन्, त्यसले नेपालको प्रतिष्ठा, राष्ट्रिय स्वाधिनता, असंलग्न र स्वतन्त्र परराष्ट्रनीतिलाई नयाँ उचाइमा पुर्याएको छ’, उनले भने।

वर्तमान गठबन्धन सरकार सुशासन, सामाजिक न्याय, समृद्धि र राष्ट्रिय स्वाधिनतालाई अझै बलियो बनाउने पक्षमा लागिरहेको उनको भनाइ छ। उनले मुलुकको राजनीतिक स्थायित्वका लागि भारत, अमेरिका र चीनँगको सम्बन्ध बलियो बनाउन आवश्यक रहेकोमा जोड दिए। संविधानको व्यवस्थाअनुसार सम्पूर्ण नेपालीहरूलाई स्वच्छ, गुणस्तरीय खानेपानीको व्यवस्था मिलाउने जिम्मेवारी राज्यको भएको उनको भनाइ थियो।

प्रकाशित मिति: : 2023-10-15 14:05:00

प्रतिकृया दिनुहोस्