कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले बुधबार विश्वासको मत लिने भएका छन्।
शनिबार मुख्यमन्त्री नियुक्त भइ आइतबार शपथ लिएका कार्कीले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन्।
संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीले धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिन प्रदेशसभामा प्रस्ताव दर्ता गराएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।
मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ। साेही व्यवस्था अनुसार उनले विश्वासको मत लिन लागेका हुन्।
कार्कीले आइतबार नै तीन सदस्यीय मन्त्रिमण्डल पनि गरेका छन्। मुख्यमन्त्री कार्कीको सिफारिसमा प्रदेश प्रमुख खापुङले नेकपा एमालेका रामबहादुर रानामगर र नेपाली कांग्रेसका शम्शेर राईलाई बिनाविभागीय मन्त्रीमा नियुक्त गरेका हुन्।
कार्की एमालेका ३९ र कांग्रेसका आठ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री पदमा नियुक्त भएका हुन्।