दोहोरो नागरिकता दिने काम राष्ट्रघाती हो: प्रभु साह

File Photo
File Photo

आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले विदेशी नागरिकलाई नेपाली नागरिकता दिने कार्य ‘खुलेआम राष्ट्रघाती कार्य’ भएको टिप्पणी गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गैरआवासीय नागरिकलाई नेपाली नागरिकता वितरण गर्न थालेपछि आजपा अध्यक्ष साहले त्यसलाई राष्ट्रघाती कार्य गरेको भन्दै विरोध जनाएका छन्।

‘विदेशी नागरिकलाई नेपाली नागरिकता दिने कार्य खुलेआम राष्ट्रघाती कार्य हो। गैरआवासीय नागरिकता वितरणले विदेशी नागरिकता लिएका नेपालीहरुको नेपालमा रोकिएको अचल सम्पत्ति बेचविखन गरी विदेश लैजानको लागि बाटो खुलनेछ’, आजपा अध्यक्ष साहले भनेका छन्, ‘खर्बाैँ खर्बको चल सम्पत्ति अवैध ढंगले विदेश पुर्याइसकेका तिनीहरुले अब आफ्नो अचल सम्पत्ति पनि खुलेआम विदेश लान पाउनेछन्। नेपालमा लुटेर राखेका सम्पत्तिसमेत विदेश लैजानलाई अब कानुनी समस्या हुनेछैन।’

विश्वमा दोहोरो नागरिकताको प्रावधान नरहेको तर नेपालमा दोहोरो नागरिकताको प्रावधान राखेर नेपाललाई खोक्रो राष्ट्र बनाउने कार्य भइरहेको भन्दै उनले यसलाई रोक्नुपर्ने माग गरेका छन्।

‘दुनियामा काही नभएको दोहरो नागरिकताको प्रावधानले नेपाल छिटै खोक्रो हुने पक्का छ। विदेशी लगानी नेपाल ल्याउनलाई यो दोहाेरो नागरिकताको प्रावधान ल्याइएको भन्ने हल्ला मच्चाएर आज ठुलो राष्ट्रघाती कार्य हुँदैछ। यस अपराधजन्य कार्यको विरुद्ध आम जनता एक भएर प्रतिवाद गरौँ। राष्ट्रघाती कार्य मुर्दावाद, प्रतिक्रान्तिकारीहरु होसियार’, साहले भनेका छन्।

यसअघि सरकारले यो कानुन बनाउँदै गर्दा आजपा अध्यक्ष साहले यसको विरोध गरेका थिए। नेपालमा दोहोरो नागरिकताको प्रावधान खारेज हुनुपर्ने बताउँदै उनले यस्ता कार्यले राष्ट्रलाई झनै कमजोर बनाउने जनाएका छन्।

प्रकाशित मिति: : 2023-10-17 15:07:00

प्रतिकृया दिनुहोस्