रुकुम पश्चिममा चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई तीव्रता दिइएको छ। कालोबजारी र अखाद्य सामग्रीको बिक्री रोक्न बजार अनुगमनलाई तीव्रता दिएको हो।
जिल्लाको त्रिवेणी गाउँपालिका– ३ र ६ मा रहेको झुल्नेटा बजार र वडा २ को सिम्रुतु बजार अनुगमन गरिएको छ।
त्रिवेणी गाउँपालिका अध्यक्ष गनेशकुमार केसी संयोजकत्वको टोलीले सिम्रुतु बजार र गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीको टोलीले झुल्नेटा बजार अनुगमन गरेको हो।
अनुगमनका क्रममा बजारबाट ठूलो मात्रामा म्याद गुज्रिएको अखाद्य वस्तु फेला परेको प्रमुख प्रशासकीय अधिकृत घर्तीले जानकारी दिए।
प्रशासकीय अधिकृत घर्तीका अनुसार मेडिकल पसलबाट म्याद नाघेको औषधिसमेत बरामद गरिएको छ। झुल्नेटा र सिम्रुतु बजारबाट म्याद सकिएको चाउचाउ, बिस्कुट, चियापत्ती, दालमोठ नियन्त्रणमा लिइएको छ।
टोलीले साबुन स्याम्पु, एग्रोभेटबाट कृषि बीउ, औषधि र मेडिकल पसलबाट म्याद गुज्रिएको औषधि जफत गरिएको छ। जफत गरिएका सामग्री रु ४० हजार बराबरको रहेको घर्तीले जानकारी दिए। जफत गरिएका सामग्री प्रहरी तथा कर्मचारीको रोहवरमा आगो लगाएर नष्ट गरिएको छ।
मङ्गलबार सिम्रुतुमा एक सय नौ र झल्नेटामा एक सय ९६ वटा किराना, खाद्यान्न तथा औषधि पसल गरेर तीन सय पाँच वटा पसल अनुगमन गरिएको थियो।