विन र डोम समुदाय चाडवर्पलक्षित सामान बनाउन व्यस्त

File Photo
File Photo

कात्तिक कृष्णपक्ष सुरु भएसँगै मधेशको प्राचीन मिथिला क्षेत्रका विन र डोम समुदायमा  व्यस्तता बढेको छ। दीपावली तथा छठ पर्वका लागि आवश्यक पर्ने बाँसको डाली, छिटी,नाङ्लो,चाल्नो, पङ्खा, कोनीया र अन्य खेलौंना बनाउन उनीहरूमा व्यस्तता बढेको हो। ती पर्वमा  यस्ता सामग्री आवश्यक पर्ने भएकाले विन र डोम समुदाय अहिले यस्ता सामान बनाउन कम्मर कसेर लागिपरेका छन्।

घरआँगनमा आइपुगेका अतिथिलाई मुखैले शिष्टाचार गरे पनि  प्रगाश मरिक डोमको  हातभने कप्टेरा उन्दै छिटी बनाउनमै  ब्यस्त देखिन्छ। माग भएका सामग्री तयार गर्न भ्याइ नभ्याइ भएकाले  उनीसहित  बस्तीका डोम र विन समुदायको ब्यस्तता बढेको हो।

भङ्गाहा नगरपालिका–५ सिद्धपुर बस्तीको मुखमै सानो खरले छाएको झुप्रोमा  प्रगाश दिनरात डाली, छिटी, नाङ्लो–चाल्नो, पङ्खा, कोनीयाँ र अन्य खेलौंना बनाउन तल्लिन हुन्छन्। राति अबेरसम्म चोया र कप्टेरा चलाउँदा चलाउँदै सुते पनि बिहान आँखा उघ्रनासाथ त्यही चोया र कप्टेरामा हात पुर्‍याउने परेको उनले बताए ।सोही वडाकै सीतापुर बस्तीका पञ्चु विनलाई पनि अहिले पर्वकेन्द्रित चोयाका सामान बनाउन भ्याइ नभ्याइ छ।
 प्रगाश र पञ्चुजस्तै  बिपन्न विन र डोम समुदायमा यस्ता चाड पर्वमा आफ्नो सीपले बजार पाउनका साथै आम्दानी पनि हुने भएपछि खुसी छाएको छ।

अहिले बाँस खोजेर ल्याउने, फट्याउने, कप्टेरा र चोया काढ्ने र मागअनुसारका समान बुन्ने काममा ती समुदायका परिवारका सबै सदस्य व्यस्त देखिन्छन्। घरमुलीदेखि पाँच–सात वर्ष उमेर कटेका नानीहरु पनि काममा लागेका देखिन्छन्।अन्यबेला अभावमै बित्ने ती समुदायमा मिठोमसिनो खाने, राम्रा लुगा लाउने र बालबालिकाको रहर पूरा गर्ने भाखा पनि घरमूलीले दीपावली र छठसँग जोडने गर्छन्।

‘के गर्नु हजुर, वर्षभरिको खर्चको जोहो गर्ने बेला यही हो,अहिले चुके वर्षभरि नगद देख्न पाँइदैन’ भङ्गाहा–५ सिद्धपुरको  डोम बस्तीका अगुवा प्रगाश भने, ‘ससाना नानीहरुको रहर र चाहना हामीले यही पर्वमा पूरा गर्ने सोच बनाएका हुन्छौँ।’ अन्य बेला आफ्ना सीपको खासै माग नहुने हुँदा वर्षभरिका लागि खर्चको जोहो पनि यसै बेला गर्न पर्ने भएको उनको भनाइ छ।

चोयाका सामग्री अडर गर्न आउने ग्राहक बाक्लिएपछि ससाना नानीको माग पनि बढ्ने गरेको छ। ‘माय, दिवाली आ छठमें हम गुड्डी उडायब्, हमरा बहुते रङ्गके गुड्डी ला दिहे’ (आँमा, म तिहार र छठ पर्वमा चङ्गा उडाउँछु, मलाइ रङ्गीबिरङ्गी चङ्गा ल्याइदिनुहोला) चोयाका समान बुनिरहनुभएकी बर्दिवास–१ की रामकली मरिकको छेउमै खेल्दै आइपुगेका सात वर्षीय छोरा विरुपा मरिकको  माग थियो। रामकलीले विरुपालाई दिवालीमै चङ्गा ल्याइदिने आश्वासन दिए।

‘गरिब छौं, चाहिँदो खर्चको पनि अभाव छ  तर ससाना नानीको मन त हो , गाउँमा अन्य समुदायका नानीका हातमा जे देख्छन्, घर आएर त्यसैको फर्माइस गर्छन्’ लोहारपट्टी नगरपालिकाको डोठारा बस्तीका झामलाल मरिक भने, ‘नानीहरुले भनेको कुरा दिन नसक्दा मन कुँडिन्छ, यतिबेला भने आफ्नो गच्छेले भ्याएसम्म नानीहरुको रहर पूरा गछाैँ।’

मुलुकमा अवसरबाट पछि परेका सिमान्तकृत गरिब र दलितहरुको उत्थानका लागि सरकारले बिभिन्न कार्यक्रम सञ्चालन गरेको बताए पनि  त्यस्ता  कार्यक्रम ती समुदायसम्म नपुगेको सामाजिक अभियन्ताहरुको टिप्पणी छ। सरकारी कार्यक्रमहरुको प्रभावकारी अनुगमन नहुँदा अवसरबाट पछि पारिएका डोमसहित अन्य समुदायको  उत्थानको काम हुन नसकेको भङ्गाहा–९ की नेतृ  किरण यादव बताए।

प्रकाशित मिति: : 2023-10-31 14:21:00

प्रतिकृया दिनुहोस्