चितवनमा पहिलो पटक बाबु नभएको स्वघोषणा गरेर नागरिकता दिइएको छ। आज मंगलबार जिल्ला प्रशासन कार्यालयले भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय विशाल उपाध्यायलाई आमाको नामबाट नागरिकता दिइएको हो।
मायादेवी उपाध्यायको छोरा विशाल उपाध्यायले बुबा रमाकान्त रखाल हालसम्म पहिचान हुन नसकेको भन्दै स्वघोषणा गरेसँगै उनलाई आमाको नामबाट नागरिकता दिइएको सहायक प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी शर्माले जानकारी दिए। उनका अनुसार नेपालको नागरिकता ऐनको पहिलो संशोधन र नियमावलीको तेस्रो संशोधनअनुसार नागरिकता दिइएको हो।
उपाध्याय परिमार्जित ऐनअनुसार नागरिकता लिने जिल्लामा पहिलो व्यक्ति भएको उनले बताए। उपाध्यायलाई प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले नागरिकता प्रदान गरे। थापाले ऐनमा भएको संशोधनले नागरिकताको समस्या समाधान भएको बताए। उनकाअनुसार स्वघोषणा गरेपछि नागरिकता प्राप्त गरेका बाबु पहिचान भए स्वघोषणा गर्नेहरुलाई कारबाही हुनेछ।
श्रीमान् १८ वर्षदेखि सम्पर्कमा नआएपछि स्वघोषणा गर्न बाध्य भएको मायादेवीले बताइन्। छोराले आफ्नो नामबाट नागरिकता पाएपछि आफू खुसी भएको र जिम्मेवारी थपिएको महसुस गरेको उनको भनाइ छ।