बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत आज र भोलि भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाउन थालेको हो।
स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले देशभरिका महिला स्वास्थ्य स्वयंसेविकाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन थालेको जानकारी दिए। आर्थिक वर्ष २०८०–८१ को नियमितरूपमा पहिलो चरणमा यही कात्तिक २ र ३ गते खुवाउँदै आएको भिटामिन ‘ए’ कार्यक्रम दसैँ परेकाले आज र भोलि खुवाउन थालिएको हो।
स्वास्थ्य मन्त्रालयले भिटामिन ‘ए’ कार्यक्रम सफल बनाउनका लागि सातवटै प्रदेश सरकार अन्तर्गतका सामाजिक विकास मन्त्रालय र स्थानीय तहलाई यसअघि नै परिपत्र गरिसकेको छ। यस आवको पहिलो चरणमा आज र भोलि तथा दोस्रो चरणमा भिटामिन ‘ए’ कार्यक्रम वैशाखमा महिनामा सञ्चालन गरिन्छ। भिटामिन ‘ए’ करिब २७ लाख बालबालिका र जुकाको औषधि करिब २४ लाख बालबालिकालाई खुवाइने शाखाले जनाएका छन्।
सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यून गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो। सरकारले प्रत्येक आर्थिक वर्षमा कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने गरेका छन्।