लुम्बिनी प्रदेशमा १० वर्षे जनयुद्ध तथा जनआन्दोलनका घाइतेहरुलाई बसाल्नका लागि प्रदेशस्तरीय स्याहार केन्द्र बन्ने भएको छ।
घाइते परिवारलाई जीवनयापनमा समस्या हुने गरेकाले एउटै स्थानमा राखेर स्याहार गर्न र आयआर्जनमा पनि जोड्न स्याहार केन्द्र बनाइन लागेको लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताए।
जसका लागि अहिले जग्गा खोजीको कार्य भइरहेको छ। दाङको राप्ती गाउँपालिकामा जग्गा खोजी भइरहेको मन्त्री मास्कीले जानकारी दिए।
राप्ती गाउँपालिका लुम्बिनी प्रदेशको राजधानी क्षेत्र पनि हो। स्याहार केन्द्र कहाँ राख्न उपयुक्त हुन्छ, सोहीअनुसार जग्गाको खोजी भइरहेको मास्कीको भनाइ छ।
उनकाअनुसार स्याहार केन्द्र निर्माणका लागि करिब २० बिघा जग्गा चाहिने छ। स्याहार केन्द्र निर्माणका लागि प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०÷०८१ मा दुई करोड बजेट विनियोजन गरेको छ।