नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले जाजरकोट भूकम्पका पीडितलाई राहत र पुनःस्थापनका लागि सरकारको कोषमा आफ्ना तर्फबाट एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन्।
सांसद पौडेलले आज विज्ञप्ति प्रकाशन गरी भूकम्पले पुर्याएको विपत्तीमा केही सहयोग पुगोस् भन्ने उद्देश्यले सङ्घीय सांसदका रुपमा प्राप्त एक महिनाको तलब हस्तान्तरण गर्ने घोषणा गरेका हुन्।
उनले जाजरकोटको रामीडाँडा केन्द्रविन्दू भएर शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
त्यसैगरी गण्डकी प्रदेशसभाका सदस्य डिल्लीराम सुवेदीले पनि भूकम्प पीडितको सहयोगका लागि आफ्नो एक महिनाको पारिश्रमिक उपलब्ध गराउने घोषणा गरेका छन्।
हिजो बागलुङमा उनले भूकम्पबाट प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमका पीडितहरूको राहत तथा उद्धारका लागि सरकारले स्थापना गर्ने राहत कोषमा आफ्नो एक महिनाको पारिश्रमिक जम्मा गर्ने उनले जानकारी दिएका हुन्।
बागलुङ क्षेन नम्बर १ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित सुवेदीले भूकम्पमा परेर घाइते भएकाहरुको यथोचित स्वास्थ्य उपचार र त्यसपछि राहातको व्यवस्था गर्न माग पनि गरे।
उनले सो प्राकृतिक बिपत्तिमा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।