भूकम्प पीडितको लागि राहत बोकेर जाजरकोट हिँड्यो एनआरएनए अध्यक्ष केसीसहितको टोली

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष बद्री केसीसहितको टोली जाजरकोट-रुकुमका भूकम्प पीडितहरुको लागि राहत लिएर त्यसतर्फ प्रस्थान गरेको छ।

एनआएरएनए अध्यक्ष बद्री केसीसहितको टोली आइतबार दिउँसो त्यसतर्फ प्रस्थान गरेको हो।

भूकम्पले घरबारविहीन भएका उनीहरुलाई त्रिपाल, खाद्यान्न, लत्ताकपडालगायतका सामाग्रीसहित अध्यक्ष डा बद्री केसी नेतृत्वको एक टोली प्रभावित क्षेत्रमा प्रस्थान गरेको हाे।

अध्यक्ष केसीका अनुसार भूकम्प पीडित ४०० परिवारलाई संघले राहत सामाग्री वितरण गर्न लागेको हो।

अध्यक्ष डा. केसीसहित महिला उपाध्यक्ष रोजिना राई प्रधान, महासचिव गौरीराज जोशी, उपमहासचिव प्रविण गुरुङ, सचिव मनोज गोर्खाली, सहकोषाध्यक्ष अभिमन्यु बस्नेत, एनसीसी क्यानाडाका उपाध्यक्ष सुरुज अधिकारी, बेल्जियमका महासचिव रुविना शर्मालगायतको २ दर्जनभन्दा बढीको टोली राहत लिएर जाजरकोट  हुन्।

संघले त्रिपाल, खाद्यान्न, ओछ्याउने म्याट्रेस, लगाउने न्यानो कपडा, स्यानिटरी प्याडलगायतका सामग्री वितरण गर्ने राहत अभियानलाई संयाेजन गरिरहेका संघका सचिव गाेर्खालीले बताए।

'हामी भाेलि नै त्यहाँ पुग्न काेशिश गर्दैछाैँ। त्यहाँका पीडित परिवारलाई निरन्तर सहयाेग गर्न हामी खटिनेछाैं,' उपमहासचिव प्रविण गुरूङले भने।

जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौँ घाइते भएका छन्।

यसअघि संघले पहिलो चरणमा सरकारको राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने जनाएको थियो।

संघले भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतका लागि आर्थिक सहयोग संकलन तथा अन्य आवस्यक कार्यमा यथाशक्य छिटो जुट्न सबै राष्ट्रिय समन्वय परिषद्हरु तथा विदेशमा रहेका गैरआवासीय नेपालीहरुलाई आग्रह समेत गरेको छ।

प्रकाशित मिति: : 2023-11-05 14:26:00

प्रतिकृया दिनुहोस्