भूकम्प प्रभावितलाई बागलुङका स्थानीय तहद्वारा ३० लाख सहयोग

बिएल संवाददाता

​​​​​​​बागलुङ

बागलुङका स्थानीयल तहले भूकम्प प्रभावितलाई ३० लाख सहयोग गर्ने भएका छन्। दश स्थानीय तहले एकमुष्ट रु ३० लाख राहत रकम प्रदान गर्ने भएका हुन्। 

चार नगरपालिकाले रु तीन लाख ७५ हजार र छ गाउँपालिकाले रु दुई लाख ५० हजार सहयोग गर्ने निर्णय भएको बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए। 

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बागलुङ जिल्लाका स्थानीय तहले प्रदान गर्ने नगद, उद्योग वाणिज्य सङ्घ बागलुङ, जिल्ला रेडक्रस सोसाइटी बागलुङ, रोटरी क्लब अफ बागलुङ र अन्य सङ्घ संस्थाले प्रदान गर्ने जिन्सी सामग्रीसहित आवश्यक औषधिसमेत लिएर जाजारकोटतर्फ जाने योजना रहेको बताए। 

भूकम्प प्रभावितका लागि आवश्यक लत्ताकपडा बागलुङ उद्योग वाणिज्य सङ्घमार्फत कपडा तथा कपडा व्यवसायी समितिद्वारा सङ्कलन गरिएको बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले जानकारी दिए। 

बारबर्दियाद्वारा पाँच लाख सहयोग 

बर्दियाको बारबर्दिया नगरपालिकाले भूकम्प प्रभावितका लागि रु पाँच लाख २५ हजार आर्थिक सहयोग गर्ने भएको छ। 

आइतबार बसेको कार्यपालिकाको बैठकले दैवी प्रकोप व्यवस्थान कोषबाट रु पाँच लाख २५ हजार दिने निर्णय गरेको हो। 

भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत, उपचार, पुनःस्थापना, पुनःनिर्माणलगायतका कार्यमा सहयोग पुर्याउन नगरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख २५ हजार जम्मा गर्ने निर्णय भएको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकानाथ गोसाइले जानकारी दिए।

प्रकाशित मिति: : 2023-11-06 06:55:00

प्रतिकृया दिनुहोस्