नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले उद्याेग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई ज्ञापनपत्रसहित ध्यानाकर्षण गराएका छन्।
युवा संघका संयोजक कृष्ण विश्वकर्मा नेतृत्वको टोलीले आज सिंहदरबारमा पुगेर आर्थिक तरलता कारण राष्ट्रिय संकटको मारमा परेका बखत कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि र कालाेबजारी भएका कारण सरकारको ध्यानाकर्षण गरेको संघका नेता मनोज खत्रीले बताए।
संघले ज्ञापनपत्रमार्फत सरकारले आम्दानी वृद्धि र रोजगारी सिर्जना गर्नतर्फ पहल नगर्ने त्यसमाथि महँगी नियन्त्रण पनि नहुने अवस्थाका विरुद्ध जनआक्रोश चुलिएको सन्दर्भलाई बुझ्न विलम्ब नगरी जनताले प्रत्यक्ष अनुभूति गर्नेगरी खाद्य पदार्थलगायत अत्यावश्यक सामग्रीहरुको मूल्य समायोजन गरी राहत सिर्जना गराउनको लागि सरकारलाई १० दिन समय उपलब्ध गराएको जनाएकाे छ।
युवा संघले बुझाएको ध्यानाकर्षण पत्रअनुसार सरकारले माग सम्बोधन नगरे संघले आन्दोलन गर्ने चेतावनीसमेत दिएको संघका प्रवक्ता सन्जिप राईले जनाएका छन्।