भक्तपुरको कमलपोखरीमा छठपूजा

सामाजिक सद्भाव एवं एकताको पर्वका रूपमा भक्तपुरमा मनाइने छठपर्वका अवसरमा पूजा गरी मनाइँदै छ। 

छठपर्वका तयारीमा भक्तपुरका पोखरी र खोला सिङ्गारिएका छन्। तराई मधेसबाट आएर भक्तपुरमा विभिन्न पेसा, व्यवसाय गर्दै स्थायी तथा अस्थायीरूपमा भक्तपुरमा बस्दै आएकाले भक्तपुरको कमलपोखरीमा छठ मनाउँदै आएका छन्। 

भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कमलपोखरीमा एक सय ५० भन्दा बढी परिवारले छठपर्व मनाउने गरी पोखरी सिङ्गारेको, मूर्ति ल्याएर राखिएको र पूजाको तयारी पूरा गरेको छठपर्व तयारी समिति भक्तपुरका व्यवस्थापक लक्ष्मण रौनियारले जानकारी दिए। छठपर्वका लागि यहाँका स्थानीयले सहयोग गरेको उनले बताए।

छठपर्वको अवसरमा आज साँझ अस्ताउँदो सूर्य र भोलि सोमबार सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि विधिवत्रूपमा समापन हुने उनले जानकारी दिए। 

रौनियारले भने, 'तराई मधेसबाट बसाइँ सरेर आउनुभएका, विभिन्न पेसा, व्यवसायले भक्तपुरमै बस्दै आउनुभएका जडीबुटीबाट भक्तपुरसम्मका एक सय ५० भन्दा बढी परिवारका लागि छठ मनाउने गरी तयारी पूरा गरेका छौँ। छठपर्वका लागि यहाँको पोखरी सिङ्गारेका छौँ, मूर्ति ल्याएर स्थापना गरेका छौँ। पोखरी झकिझकाउ भएका छन्।'

सूर्यलाई अघ्र्य दिन भक्तपुरको कमलविनायकस्थित कमलपोखरी किनारा सिङ्गारिए पर्वको तयारी गरिएको छ। तराईका बासिन्दाले यो पर्व मनाउने भए पनि पहाड एवं भक्तपुरका बासिन्दाले समेत छठपर्वलाई सहयोग गर्दै आएका छन्।

आराध्यदेव सूर्य र ब्रह्माजीका मानसपुत्री छठी (षष्ठी)को उपासना गरी आज जलाशय, नदी किनारमा व्रत बसी धुमधामले छठपर्व मनाइँदैछ। 

छठको मुख्य दिन आज कार्तिक शुक्ल षष्ठीको अवसरमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर रातभर जाग्राम बसी भोलि सप्तमीको दिन बिहानको उदाउँदो सूर्यको उपासना गरी अघ्र्य दिएपछि यो पर्व सम्पन्न हुने उनले बताए।  

प्रकाशित मिति: : 2023-11-19 18:31:00

प्रतिकृया दिनुहोस्