राहुल गान्धीले छिचोलेको ३५७० किलोमिटर त्यो यात्रा अनि रवि हिँडिरहेको यो बाटो

सन् २०२२ को सेप्टेबर ७ मा भारतीय कंग्रेसका नेता राहुल गान्धीले एउटा यात्रा सुरु गरे- ‘भारत जोडो।’

दक्षिण भारतको कन्याकुमारीबाट सुरु भएको उनको पैदल यात्रा करिब १५० दिनमा कश्मीरमा पुगेर अन्त्य भयो। यो बीचमा राहुलले कम्तीमा १२ राज्यमा आफ्ना पाइला राखे अनि लगभग ३ हजार ५७० किलोमिटर पैदल दूरी नापे। यी १२ राज्यमा पर्ने ७५ जिल्लामा पुगेका राहुलले त्यहाँका आम नागरिकसँगै जीवन बिताए। उनीहरूका कुरा सुने, आफ्ना कुरा सुनाए।

राहुललाई अंगालो हालेर रुनेहरूदेखि मोदी सरकारसँग वाक्कदिक्क भएकाहरूले उनको जयजयकारसमेत गर्न भ्याए। यो यात्रामा उनले आफ्नोबारेमा खासै प्रचार गरेनन्, झरीमा रुझ्दै गरेका भाषणका दृश्यहरू सामाजिक सञ्जालमा छरिएका थिए। रिक्सा, टाँगा अनि ट्याक्टर र र ट्रक ड्राइभरदेखि किसान, मजदूरहरूसँग उनले बिताएका पलहरूलाई सञ्चारमाध्यममा खुब सिंगारेर समाचारहरू बनाए।

समग्रमा राहुलको यो यात्राको एउटा मूल उद्देश्य थियो- भारतीय राजनीतिमा खस्किँदै गएको कंग्रेसको साख माथि उठाउनु नै थियो।

आलोचना अनि चर्चा कमाएका राहुलको यो लामो यात्राको लेखाजोखा भारतमा हुन लागेको २०२४ को आम चुनावले तय गर्ने नै छ।

रविको यो बाटो

भर्खरै प्रमुख प्रतिपक्ष एमालेले मध्यपहाडको करिब १ हजार १ सय ५८ किलोमिटर यात्रा छिचोलेर बिसाएको छ।

रित्तिँदै गएको मध्यपहाडमा आफ्नो उपस्थिति जाँच्नका लागि १८ दिनको यो यात्रा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत पार्टीका पदाधिकारी र नेता, कार्यकर्ताहरूले गाडीको लावालस्कर र तामझाम पनि देखाए।

र, करिब १० पेज लामो यात्रा विवरणमा मध्यपहाडका ‘समस्या’हरू औँल्याएर ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन्।

एमालेको १८ दिने राजनीतिक यात्राको चर्चा सेलाउन नपाउँदै सरकार बाहिर रहेको अर्को राष्ट्रिय स्वतन्त्र पार्टीले मुख्य राजमार्गको करिब १ सय १३ किलोमिटर यात्रा तय गरेको छ।

सोमबार बिहान नौ बजे नारायणघाटबाट सुरु भएको यो यात्रा तेस्रो दिन बुटवल पुगेर सकिनेछ।

२०७९ सालको आम निर्वाचनबाट नेपाली राजनीतिमा जबर्जस्त उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफैँले यो पैदल यात्राको नेतृत्व गर्दैछन्।

नेपाली राजनीतिमा ‘नयाँ’ बनेर उदाएको यो पार्टी अहिले संसदीय राजनीतिमा केही ‘नयाँ’ अभ्यास पनि गरिरहेको छ। प्रचण्ड सरकारका सुरुवातका केही दिन रवि आफैँ गृह र उपप्रधानमन्त्री भएर सरकारमा छिरेका थिए। सरकार बनेको केही दिनमै ‘गठबन्धन’ फेरिएपछि र आफैँमाथि ‘दोहोरो नागरिकता’को आरोप लागेपछि रविले सारा मन्त्रीहरू लिएर सरकारबाट बाहिरिए। त्यसपछि उनको राष्ट्रिय स्वतन्त्र पार्टी आफूलाई ‘प्रतिपक्ष’का रुपमा चिनाउँदै आएको छ।

अहिले नै ‘मिसन-०८४’को नारा लिएर पार्टीको अभियान चलाइरहेका रविको यो धुलाम्मे सडकको यात्रा झट्ट हेर्दा जति ‘विकासका लागि दबाब’ भनेर देखिन्छ, त्यसको गहिराइमा भने मिसन-०८४ कै छायाँ छ।

तीन दिनसम्म रवि हिँड्ने यो बाटो धेरै वर्ष भइसक्यो धुलाम्मे भएको। २०७५ सालमा ‘विस्तार’ गर्ने भनेर बिगारिएको यो बाटो अहिलेसम्म पनि बन्न सकेको छैन। चार लेनमा विस्तार गर्न भनेर भीरपाखाहरू खन्न थालिएको यो सडक त्यसयता बन्नुको सट्टा झन् बढी तहसनहस भएको छ।

वर्षाका बेला पहिराले छेकिने यो सडकमा अहिले धुलोले पुरिएको छ। त्यसमाथि सडकका खाल्डखुल्डीहरू झन् यात्रुको जीवनमाथि धराप बनेका छन्।

एसियाली विकास बैंकको करिब १७ अर्ब ऋण लिएर चाइनिज कम्पनी चाइना स्टेट इन्जियिरिङ कर्पोरेसनलाई ठेक्का दिइएको यो सडकको काम अहिलेसम्म ४० प्रतिशत पनि सकिएको छैन। सरासर काम भएको भए यो सम्झौताअनुसार २०७८ सालमै यो सडक चार लेनमा विस्तार भइसक्ने थियो।

यही सडकको करिब १ सय १३ किलोमिटर यात्रा तीन दिनमा छिचोल्न कस्सिएका रविले यात्रा सुरुवात गर्दै निर्माण कम्पनीका लागि सरकारले वातावरण सहज नबनाइदिएको बताएका छन्।

यो यात्रालाई उनले राजनीतिकभन्दा पनि विकासका लागि तय भएको पार्टीको अभियान भएको पनि दाबी गरे।

धुलाम्मे यो बाटोमा यात्रा तय गरेका यात्रुहरूको पीडा अनुभूत गर्न आफैँ पैदल हिँड्न थालेको भन्दै लामिछानेले यसलाई राजनीतिभन्दा अलि पर राखेर ‘विकासको अभियान’का रुपमा लिन अपिल गरे।

‘एसी रुमा बसेर नीति निर्माण गर्नु र बाटोमा हिँडेर मान्छेले भोगेको पीडा पनि अनुभूत हुनुपर्छ। हामी नीति निर्माता हौँ, त्यसैले पनि त्यसको अनुभूत गर्नका लागि हामीले यो यात्रा तय गरेका हौँ’, उनले भनेका छन्, ‘विकासका आयोजनाहरू खासमा ढिलाइ भइरहेको कारणहरू खोतल्ने प्रयास पनि हामीले गर्नेछौँ। निर्माण कम्पनी काम गर्नका लागि बसेको छ। त्यसका लागि वातावरण बनाइदिने हो। हामीले कुरा गरेअनुसार निर्माण कम्पनी आफैँ नै पीडित छ।’

यो यात्रालाई ‘राजनीतिकरण’ नहोस् भनेर रविले यात्रामा हिँड्नेहरूलाई पार्टीको झन्डा, कुनै ब्यानर अनि चिन्हहरू नदेखाउन र यात्रावधिभर पार्टीको पहिचान झल्किने कुनै पनि संकेतहरू नदेखाउन उर्दी पनि जारी गरेका छन्।

यो यात्रालाई पार्टीले जनताका गुनासा र समस्याहरू पनि सुन्नेछ तर रवि आफैँले त्यसमा कुनै संवाद गर्ने छैनन्। उनी आफैँले त्यसका लागि आफूले छुट्टै टोली बनाएको र आफू त्यस्ता संवादहरूमा सहभागी हुन नसक्ने बताइसकेका छन्।

‘यो यात्रामा मैले कसैसँग कुराकानी गर्ने छैन। टाढैबाट नमस्कार गर्नेछु। कसैको कुरा गर्नका लागि हाम्रो अर्को टीम छ। आलोचना सुन्ने गर्ने सबै टीम छ। यात्रामा हिँड्ने बाहेक जनतासँग हाम्रो पार्टीको छुट्टै टीम हुनेछ’, रविले भनेका छन्, ‘धुलो उड्ला भनेर मेरो लागि बाटोमा पानीको थोपा हाल्नुपर्दैन। जस्तो बाटो छ, त्यस्तै बाटोमा हिँड्नेछु। बाटोमा जाम हुनेछैन। हुल भीड केही हुनेछैन। पार्टीको लोगो, झन्डा वा कुनै पनि चिह्न प्रयोग हुनेछैन।’

‘बाटो बनाउने जस’का रुपमा यो यात्रालाई पार्टीले प्रयोग गर्न नचाहेको भन्दै रविले यसलाई विशुद्ध राष्ट्रका आयोजनाहरूको काम पूरा गर्नका लागि दबाबका रुपमा मात्रै बुझ्न पनि उनले आग्रह गरेका छन्। यो यात्राबाट पार्टीले कुनै राजनीतिक लाभ वा श्रेयको आश नगरेको पनि उनले प्रस्ट पार्न खोजेका छन्।

‘सबैको चासो होस् र सार्वजनिक रुपमा यसको बहस भयो भने चाँडै निर्माण हुन्छ कि भन्ने’ यात्रारम्भका बेला पत्रकारहरूलाई जवाफ दिँदै उनले भनेका छन्, ‘यसको श्रेयका लागिमात्रै होइन, आयोजना बनाउने हो। यो बाटो बन्यो भने रवि हिँडेको बाटो भनेर आफैँ लेखिहाल्नुहुन्छ नि!’

प्रकाशित मिति: : 2023-12-25 20:50:00

प्रतिकृया दिनुहोस्