सात महिने गर्भवतीले भनिन्- मलाई बलात्कार गरे, श्रीमानलाई पिटेर जेलमा हाले

कमल विक

काठमाडाैं

बाजुराको हिमाली गाउँपालिका वडा नं. ३ की पूर्णिमा (परिवर्तित नाम)ले आफूमाथि एक पुरुषले जबर्जस्तीकरणी गरेको भन्दै प्रहरी गुहारेकी छन्।

सात महिने गर्भवतीसमेत रहेकी पूर्णिमाले स्थानीय पुरुषले पुस १० गते राति करिब साढे एक बजेको समयमा आफू सुतिरहेको कोठामा पसेर जबर्जस्तीकरण गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाजुरामा जाहेरी दिएकी हुन्।

पूर्णिमाले घटना भएको भोलिपल्ट पुस ११ गते बुधबार प्रहरीमा जाहेरी दिएकी थिइन्।

प्रहरीमा दर्ता भएको जाहेरीअनुसार पुस १० गते राति पूर्णिमाका श्रीमान जात्रा हेर्न घरदेखि टाढा गएका थिए। पूर्णिमा तीन छोरासहित घरमा सुतिरहेकी थिइन्। राति साढे १ बजेतिर पूर्णिमा सुतिरहेको कोठामा छिरेका हिमाली गाउँपालिका वडा नं. ३ का जंगसिंह बुढाले जबर्जस्तीकरणी गरेका हुन्।

‘म सुतेको कोठाभित्र प्रवेश गरी मेरो शरीरमाथि चढी घरभित्र अँध्यारो अवस्थामा मैले लगाएको पलाजु (टाउजर) तानी खोली मेरो योनीभित्र विपक्षीले लिङ्ग भित्र घुसाउँदा थाहा पाई निन्द्रा खुलेपछि मेरो पति मेला जात्राबाट आउनु भएको रहिछ सोची जात्राबाट आउँदा आउँदै किन यस्तो गर्नुहुन्छ भनि भन्दा निज अन्यायवालाले मेरो मुख च्यापी मलाई जबर्जस्तीकरणी गरेको हो’, पूर्णिमाले जाहेरीमा उल्लेख गरेकी छन्।

जबर्जस्तीकरणी भएपछि आफू चिच्याउँदै जंगसिंहलाई चिम्टा प्रहार गरेको र त्यसपछि हँसिया प्रहार गरेकी थिइन्। हँसिया प्रहारबाट जंगसिंहलाई चोट लागेको छ। हँसिया प्रहार गरेपछि जंगसिंह भागेका पूर्णिमाले बताइन्।

पूर्णिमाको जाहेरीपछि प्रहरीले जंगसिंहलाई पक्राउ गरेको छ। जंगसिंहलाई प्रहरीले पक्राउ गरिसकेको छ। ‘जंगसिंहलाई हामीले त्यही दिन (पुस ११) नै समातिसकेका छौँ’, जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी कबिन्द्र बोहराले भने, ‘थप अनुसन्धान भइरहेको छ।’

पूर्णिमाको स्वास्थ्य परीक्षण गरिसकिएको र त्यसको रिपोर्ट आउँन बाँकी रहेको डिएसपी बोहराले बताए।

०००

पूर्णिमाले हँसिया प्रहार गरेपछि जंगसिंह भागेका थिए। त्यसपछि गाउँभरि हल्लाखल्ला मच्चियो। त्यतिबेलासम्म पूर्णिमाका श्रीमनलाई फोनमार्फत् खबर गरिसकिएको थियो।

हतार-हतार घर फर्किँदै गरेका पूर्णिमाका श्रीमान र देवर तथा जंगसिंह र उनका भाइ बमबहादुर बुढाबीच बाटोमै कुटाकुट भएको थियो। त्यसक्रममा पूर्णिमाका श्रीमान र देवरलाई चोट लागेको छ।

पूर्णिमाले भने जबर्जस्तीकरणीका क्रममा आफूले प्रहार गरेको हँसियाबाट लागेको चोटलाई श्रीमान र देवरसँग झगडा गर्दा लागेको हो भन्ने बनाउन जंगसिंहले उल्टो आक्रमण गरेको दाबी गर्छिन्। ‘मलाई जबर्जस्तीकरणी गर्दा मैले उसलाई आँसिले हानेकी हुम्, उसको शरीरमा चोट छ’, पूर्णिमाले भनिन्।

यद्यपि, जंगसिंहले आफूले पूर्णिमालाई जबर्जस्तीकरणी नगरेको र उनका श्रीमानले त्यतिकै आफूमाथि आक्रमण गरेर शरीरमा चोट लगाइदिएको भन्दै उल्टै प्रहीमा उजुरी दिएका थिए।

जंगसिंहको उजुरीका आधारमा प्रहरीले पूर्णिमाका श्रीमान र देवरलाई पक्राउ गरेको छ।

पूर्णिमा सात महिने गर्भवती दलित महिला हुन्। यो समयमा घरमा आराम गरेको तथा खानपिनमा ध्यान दिएको हुनुपर्नेमा उनी प्रहरी चौकी धाउन बाध्य भएकी छन्। जसकारण उनको स्वास्थ्यमा समेत समस्या देखिन थालेको छ।

पेटमा हुर्किँदो बच्चा बोकेर हिँड्न मुस्किल भएको र त्यसमाथि आफूलाई साथ दिने कोही नभएको उनको भनाइ छ। बिएल नेपाली सेवासँगको टेलिफोन संवादका क्रममा उनले भनिन्, ‘मैँलाई बलात्कार गरे, उल्टो हामीलाई नै फसाउन खोजेका छन्, हाम्रो लागि बोलिदिने कोही छैन, भएका उहाँलाई पनि जेल हालेका छन्। यस्तो ज्यान लिएर कहाँ-कहाँ जाऊँ म?’

प्रकाशित मिति: : 2024-01-03 09:00:00

प्रतिकृया दिनुहोस्

    Name purnima hoina sir shushila ho sir

    • 4 महिना अगाडि
    • shamser sunar