राष्ट्रियसभाको द्वारमा सङ्लिएका सिटौला

Breaknlinks
Breaknlinks

आगे जे छ सबै छर्लङ्गै छ।

भागवण्डाले धमिलिँदै गएको छ नेपालको राजनीतिक वृत्त। सत्तारुढ गठबन्धनभित्र साना दलहरूको चित्त दुखाइ दिनदिनै बढ्दो छ।

राष्ट्रियसभाको सिट बाँडफाटका क्रममा पनि यो दृश्य प्रस्टै देखियो। भलै हरेक राजनीतिक निर्णयहरूमा सबैको चित्त बुझ्दैन। तर, पार्टीभित्र बेमेल बढिरहँदा अझ गठबन्धनको राजनीतिमा त्यसले झन् प्रभाव पार्नसक्छ। राष्ट्रियसभाको निर्वाचनका लागि भएको ‘गठबन्धन’, उसका निर्णय र पार्टीभित्र त्यसले निम्त्याएको असन्तुष्टिहरू अहिले सतहमै देखिएका छन्।

पार्टीभित्र महामन्त्रीहरूलगायत अरु पदाधिकारीहरूको ‘असन्तुष्टि’लाई परवाह नै नगरी नेपाली काँग्रेसले पनि राष्ट्रियसभामा पाएको भागअनुसार आफ्ना उम्मेदवारहरू टुङ्ग्याएको छ।

प्रक्रिया, मूल्याङ्कन र छनोट आफैँमा सही नहुनसक्छन् तर काँग्रेसले छानेका उम्मेदवारमध्ये एक सङ्ला पात्र हुन्, कृष्णप्रसाद सिटौला।

माओवादी र सात राजनीतिक दलबीचको १२ बुँदे सम्झौता र नेपालको शान्ति प्रक्रियाताका कतिपय खरा प्रश्नहरुका जवाफ पनि मुस्कुराउँदै दिने कृष्णप्रसाद सिटौला नै हुन्। सत्ताको मुख्य केन्द्र पिएमओ र सिंहदरबारमा सक्रिय सिटौला केही वर्ष यता सत्तादेखि दूर छन्। गणतन्त्रको कार्यान्वयन गराउन सयौं वर्षदेखिको राजतन्त्र र त्यसको नायकत्व राजालाई नारायणहिटीबाट बिदा गराउन सिटौलाको सीपले काम गरेकै थियो। ७० पार गरेका झापा सिटौला आजकाल बेलाबखत ती दिन पनि सम्झँदा हुन कि नाई? किनकि उनी स्वयम् सत्ताबाट बेदखल झैं चुपचाप बसिरहेका छन्।

झापाका डिल्लीप्रसाद सिटौला २०४८ सालमा कांग्रेसबाट राष्ट्रियसभामा थिए। ३२ वर्षको अन्तरालमा अनुज झापाकै कृष्णप्रसाद सिटौला २०८० सालमा राष्ट्रिय सभाको द्वारमा छन्।

प्रसङ्गवस एकदिन कृष्णप्रसाद सिटौलाले लामो संगत गरेको कोइराला परिवारसँग दूरी बढेको कुरा अनौपचारिक रुपमा सुनाउँदै भनेका थिए, ‘सुशील कोइरालालाई फेरि प्रधानमन्त्रीको उम्मेदवार बनाएर त्रय कोइराला (डा.शेखर,डा.सशांक र सुजाता)हरुले ठुलो भूल गरे।’

सम्भवतः त्यही बिन्दुबाट कृष्णप्रसाद सिटौला कोइराला समूहदेखि टाढिएका थिए। २०७२ सालमा संविधान जारी गरेपछि आफूले तत्काल पद त्याग्ने कुरा सुशील कोइरालाको एक सुत्रिय बोली थियो। कोइराला त्यो भनाइमा अन्तिम समयसम्म अडिग थिए। संविधान जारी पनि भयो। तर, अन्तिम समयमा आउटगोइङ्ग पिएम कोइराला फेरि आफू पिएम (प्रधानमन्त्री)को उम्मेदवारका रुपमा अघि बढ्ने बताए। उता मधेसमा त्यसको ब्यापक विरोध थियो।

केपी ओलीको नेतृत्वमा सरकार बनाउने भद्र सहमति भइसकेको राजनीतिक पृष्ठभूमि थियो। कांग्रेस सिटौलाको नेतृत्वमा एमाले सरकारमा सहभागी हुने लगभग तयजस्तै थियो। त्यही सेरोफेरोमा बालुवाटारभित्र छलफल केन्द्रित थियो। अघिल्लो राति प्रधानमन्त्रीको पद छाड्ने मनसाय बनाइसकेका कोइरालालाई अर्को दिन (भोलिपल्ट) कुन शक्तिले फेरि उम्मेदवार बनायो रहस्यमय भएको विषय खुवै चर्चामा थियो।

उतिबेला कोइराला त्रयहरुले आफूलाई रोक्न र पार्टीमा कोइरालाको मात्रै वर्चश्व कायम राख्न त्यसो गरेको निष्कर्षमा सिटौला पुगेका थिए। त्यहीँबाट सिटौला तेस्रो धारको निर्माणमा जुटे। न त सिटौलाले उतिबेला (हालका राष्ट्रपति)रामचन्द्र पौडेललाई सघाय न फेरि डा.शेखर कोइरालालाई साथ दिए। हुन त उनको त्यस्तो तेस्रो धारले गतिलो आकार त लिन सकेन। तर, पार्टी आन्तरिक भागबण्डामा महत्वपूर्ण भूमिकामा रहँदै आएका थिए सिटौला।

तेह्रौं र चौधौं महाधिवेशनका निर्णायक चरणमा सिटौला सभापति शेरबहादुर देउवाको पक्षमा थिए।

नेपाली कांग्रेसको कलबलगुडी महाधिवेशनको सेरोफेरोबाट अगाडि बढेका थिए सिटौला। पार्टीमा चक्रप्रसाद वास्तोला, बलदेव शर्मा मजगैंया र खुमबहादुर खड्काजस्ता पात्रहरुको राजनीतिक जीवन ओरालो लाग्दा सिटौलाको केन्द्रीय राजनीति उकालो लाग्यो। माओवादीसँगको १२ बुँदे सम्झौता यता गिरिजाप्रसाद कोइराला र पछि सुशील कोइरालाका विश्वासपात्र रहेका सिटौला राजनीतिक जीवनको उत्तरार्धमा देउवासँग नजिकिएका हुन्। माघ ११ गते हुन लागेको राष्ट्रियसभाको निर्वाचनमा सफलता मिल्यो भने सम्भवत: उनी अध्यक्षसम्म बन्नेछन्।

शक्ति सन्तुलन र नयाँ समीकरण निर्माण गर्ने रणनीतिमा सिपालु सिटौला लगातार चुनाव हारेपछि राष्ट्रिय राजनीतिको डिलमा पुगेका छन्। कोइराला परिवार नजिक रहेका सिटौला र कोइराला परिवारका पछिल्ला पुस्तासँग भने सहज हुन सकेनन्।

भन्न त गिरिजाप्रसाद कोइरालाले भन्थे, ‘म जे भन्छु त्यो गर्छु’। यतिबेला सभापति शेरबहादुर देउवा आफूलाई अप्ठ्यारोमा सघाएकाहरुलाई जे गर्छु भनेका थिए त्यही गरिरहेका छन्। त्यसैले पनि होला कुनै बखतका कोइराला पक्षीय नेताहरु अहिले देउवाको समर्थनमा छन्। (हाल राष्ट्रपति) रामचन्द्र पौडेल, आनन्द ढुङ्गाना र सिटौला सबैभन्दा उत्कृष्ट उदाहरण हुन्।

राजनीतिमा सत्ता ओजन र नेताको भार राम्रै बुझेका सिटौला कोशी प्रदेशको मत भारमा चुनाव जित्ने विश्वस्त देखिन्छन्। सत्तारुढ गठबन्धन कोशीको मत भारमा करिब १ हजार १ सय ८८ले बढी छ।

प्रकाशित मिति: : 2024-01-08 12:07:00

प्रतिकृया दिनुहोस्