देउसीमा थोरै दान दिएको भन्दै घरधनीको हत्या, ३० वर्षपछि अभियुक्तहरु पक्राउ

हत्या गरेर भागेकाहरुमध्ये एकजना भारतीय सेनामा भर्ती भएर सुबेदारसम्म बनेको तथा एकजना भने काठमाडौँमा बंगुरको मासु बेचेर बसिरहेका थिए।

वि.सं. २०५० को लम्क्षी पूजाको दिन, भोजपुरको टेम्केमैयुङ गाउँपालिका-५ (साविक कोट गाविस) स्थित बागधन राईको घरमा देउसी-भैलो चलिहरको थियो। करिब दुई दर्जन मानिस बागधनको घरमा आएर देउसी-भैलो खेलिरहेका थिए। उनीहरुले देउसी खेलेर सके। बागधनले दान दिए।

तर, बागधनले दिएको दान उनीहरुलाई चित्त बुझेन। दान कम दिएको भन्दै बागधनका भाइ राजधन राईसँग विवाद गरे। त्यही क्रममा शुक्रदेव राई, कृपाराज राई, पूर्णहाङ राईलगायत र राजधनबीच कुटाकुट भयो।

कुटपिटको घटनालाई लिएर पाँच दिनपछि साविकको खावा गाविस र कोट गाविसका मानिसहरुबीच छलफल भयो। विवाद मिलाउन बसेको बैठकमा पुन: विवाद भयो। दुई समूहबीच कुटाकुट भयो। त्यही क्रममा शुक्रदेव राईले राजधनलाई खुकुरी प्रहार गरे। उनको ज्यान गयो। खुकुरी प्रहार गर्ने समूह भाग्यो।

घटना अदालतसम्म पुग्यो। जिल्ला अदालत भोजपुरले घटना भएको ११ वर्षपछि वि.सं. २०६१ भदौ २८ गते मुद्दाको फैसला सुनायो। अदालतले राजधनलाई खुकुरी प्रहार गर्ने शुक्रदेवलाई २० वर्ष र हत्यामा संलग्न अरुलाई मतियारको रुपमा तीन-तीन वर्ष जेल सजाय तोक्यो।

अदालतले मुद्दाको टुङ्गो लगाउँदासम्म हत्यामा संलग्नहरु भागिसकेका थिए। तर, अदालतको आदेशपछि प्रहरी उनीहरुको खोजीमा जुट्यो। प्रहरीले उनीहरुलाई खोज्दा खोज्दा दिन बित्यो। महिना बित्यो। वर्ष बित्यो। उनीहरु भेटिएनन्। प्रहरीले ३० वर्षसम्म पनि उनीहरुको खोजी कार्य जारी राख्यो।

अन्तत: घटना भएको ३० वर्षपछि अर्थात् २०८० पुस १४ गते ललितपुरको भैँसीपाटीबाट प्रहरीले पूर्णहाङ राईलाई पक्राउ गर्यो। त्यतिबेलासम्म खुकुरी प्रहार गर्ने शुक्रदेवको भारतमा निधन भइसकेको सूचना प्रहरीले पाइसकेको थियो।

अब प्रहरीको काम हत्यामा संलग्नहरुलाई खोज्नु थियो। प्रहरीले आफ्नो कामलाई निरन्तरता दियो। अनि पूर्णहाङलाई पक्राउ गरेको नौ दिनमै प्रहरीले थप पाँच जनालाई पनि पक्राउ गरेको छ।

उनीहरुलाई आइतबार उदयपुर, सुनसरी र ललितपुरबाट पक्राउ गरिएको हो। कृपाराजलाई ललितपुरको सुनाकोठीबाट, नगेन्द्रकुमार राईलाई सुनसरीको धरानबाट, विदुरकुमार राईलाई उदयपुरको बेलका नगरपालिकाबाट, भीमराज राईलाई उदयपुरको रामपुर ठोक्सिलाबाट र मणि राई भनिने थिरकुमार राईलाई ललितपुरको सातदोबाटोबाट पक्राउ गरिएको भोजपुर जिल्ला प्रहरी प्रमुख डिएसपी सुदीप पाठकले जानकारी दिए।

डिएसपी पाठककाअनुसार उनीहरु लुकिछिपी बस्दै आएका थिए। राजधनलाई खुकुरी प्रहार गर्ने व्यक्ति भागेर भारत पुगेका थिए। उतैबाटै उनी भारतीय सेनामा भर्ती भएर सुवेदारसम्म बनेका थिए। उनी भारतमै रहेका बेला मृत्यु भएको थियो।

घटनामा संलग्नहरु त्यतिबेला २० देखि २५ वर्ष उमेर समूहका थिए। उनीहरु सबैजस्तो भागेर भारत नै पुगेका थिए। त्यहाँबाट कतिपय त रोजगारीका लागि खाडी मुलुकहरुमा समेत पुगेका थिए।

भारतमा पसेका कतिपयहरु भने ‘अब त घटना सबैले बिर्सिएका होलान्’ भन्ने सोचेर स्वदेश फर्किएर पेसा व्यवसायमा लागेका थिए। डिएसपी पाठककाअनुसार ललितपुरबाट पक्राउ परेकामध्ये एक व्यक्तिले त बंगुर फर्म र मासु पसल सञ्चालन गर्दै आइरहेका थिए।

उनीहरुलाई प्रक्रिया पूरा गरेर कारागार चलान गरिने डिएसपी पाठकले बताए। घटना भएको ३० वर्षपछि पनि प्रतिवादीहरुलाई पक्राउ गर्न सफल भएकोमा डिएसपी पाठकले खुसी व्यक्त गरे।

उनले भने, ‘आम मानिसमा प्रहरीप्रतिको विश्वासमा कमी नआओस् भनेर हामीले पुराना फाइल खोलेका हौँ। यसअघि पनि हामीले ३४ वर्षदेखि भागेर बसेका व्यक्तिलाई पक्राउ गरेका थियौँ। यी घटनापछि मानिसहरुलाई पनि लागेस् कि आपराधिक गतिविधिमा लागेको मान्छे कानुनी कारबाहीबाट कहिले पनि बच्न सक्दैन, प्रहरीले कारबाहीको दायरामा ल्याएरै छाड्छ।’

प्रकाशित मिति: : 2024-01-08 17:07:00

प्रतिकृया दिनुहोस्