आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले किसान मजदुरको रगत पसिनाबाट नेता बनेकाहरु आजको दिनमा भगौडा दलाल पुँजीपति वर्गका लागि काम गरिरहेको बताएका छन्।
महान जनयुद्ध दिवसको विशेष अवसरमा वीरगञ्जमा आज आजपाद्वारा आयोजित ‘दलतन्त्रको उपहार: नेपालीहरु विदेशमा मर्ने र विदेशीहरु नेपालमा काम गर्ने’ विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले यस्तो बताएका हुन्।
‘प्रचण्ड नेतृत्वको सरकार कुन वर्गको हो? भन्ने प्रश्न उठेको छ। किसान मजदुरको रगत पसिनाबाट नेता बनेकाहरु आज भगौड़ा दलाल पुँजीपति वर्गको लागि काम गरिरहेकोछ। देश बनाउने संकल्प लिएकाहरु निजी स्वार्थमा परेर देश बर्बाद गर्न लागेका छन्’, साहले भने, ‘देशमा रोजगारी नपाएर नेपालीहरु विदेशमा मरिरहेको र अर्कोतिर नेपालको अधिकांश उद्योगहरु विदेशी कामदारले भरिएको वर्तमान अवस्था छ। किसान मजदुरको रगत–पसिनाबाट उदाएका माओवादी नेतृत्वको सरकारमा यस्तो कहालिलाग्दो अवस्था निर्माण हुनु दुखद एवं दुर्भाग्यपूर्ण विषय हो।’
‘पथभ्रष्ट गद्दारहरुलाई बहिष्कार गरौँ! महान जनयुद्ध दिवसको सम्मान गरौँ !!’ भन्ने मुल निष्कर्षलाई आत्मसात गरेर अगाडि बढ्न सम्पूर्ण देशभक्त जनतामा अपिल गर्दै आजपा अध्यक्ष साहले जनयुद्ध दिवसको सबैमा शुभकामना व्यक्त गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको दलीय सिण्डिकेटलाई तोड्दै दलतन्त्रको विकल्प खोज्ने समय आइसकेको बताए। आम श्रमजीवी वर्ग, सर्वसधारण, किसान, मजदुरलगायतकालाई पीडादायी अवस्थामा पुर्याउने दलतन्त्रको विकल्प नखोजिए योभन्दा ठुलो दुःख भोग्नुपर्ने अवस्था आउने उनले बताए।
‘अहिले देशको आर्थिक अवस्था दिनदिनै खस्किँदै गएको छ। दलाल पुँजीपति वर्ग हावी हुने, भगौडाहरुले आफ्नो सम्पत्ति बेचेर विदेशमा थुपार्ने र उनीहरुलाई नै सरकारले सहयोग हुने गरी कानुन पनि निर्माण गरिनेलगायतका कारणले मुलुकको अवस्था झनै खराब हुँदै गएको यथात कुरा हामी देखिरहेका छौँ’, साहले भने, ‘मुलुकलाई समृद्ध बनाउने हो भने श्रमजीवी वर्ग, किसान, मजदुर, सर्वसधारणको सम्मान हुनैपर्छ। तर सरकार यो वर्गको हितमा हुने काम गरिरहेको छैन, यो दुःखद कुरा हो।’