कोख उजाड्दै छन् यी ‘पिल्स’हरूले

मिनु गोले

काठमाडौं

गर्भ रोक्नका लागि जथाभावी भइरहेको ‘पिल्स’हरूको प्रयोगले स्वास्थ्यमा गम्भीर र दीर्घकालीन असर त गरिरहेको छ नै सँगसँगै यसले महिलाहरूको कोख पनि उजाडिरहेको छ।


ललितपुरकी सीता क्याम्पस पढ्दा नै प्रेममा परेकी थिइन्। जतिबेला सीता १९ वर्षकी थिइन् भने उनका प्रेमी २२ वर्षका थिए।

उनीहरूबीच विवाहअघि नै शारीरिक सम्बन्ध भएकाे थियाे। अहिले उनीहरूको विवाह पनि भएको छ।

तर विवाहको तीन वर्षपछि सन्तानको योजना बनाएका उनीहरूलाई अहिलेसम्म सन्तान प्राप्ति भने हुन सकेन। सन्तान बनाउने योजना त उनीहरुले बनाए तर एक वर्षभन्दा बढी भयो गर्भ रहन सकेको छैन।

चिकित्सकहरु एक वर्षसम्म सन्तान बनाउने योजना हुँदा पनि गर्भ बस्न नसकेपछि त्यसलाई बाँझोपनका रुपमा लिन्छन्।

सीतालाई कसरी बाँझोपनको समस्या आयो त? 
उनलाई शंका लाग्यो, विवाहअघिको पटक–पटक असुरक्षित शारीरिक सम्पर्क र गर्भ रहने डरका कारण पटक–पटक आइपीलको प्रयोग पो हो कि!

उनी चिकित्सककहाँ पटक–पटक चेकअप गर्न पुगिसकेकी छिन्। चिकित्सकले ठ्याक्कै आइपीलको प्रयोगले बाँझोपन भएको त भनेका छैनन्। तर चिकित्सकले शंका गर्दै सीतालाई भनिदिएका छन्, ‘जथाभावी आइपील प्रयोगले पनि यस्तो समस्या भएको हुन सक्छ।’

हो, सीताले पनि हप्तामै तीनदेखि चार वटासम्म आइपील सेवन गरिन्। यो उनको मनपरी थियो। किनकि उनले चिकित्सकको सल्लाहभन्दा पनि प्रेमीको सल्लाहले आइपील प्रयोग गरेकी थिइन्।

आइपील अनइच्छुक गर्भ रहन गएमा प्रयोग गर्ने औषधि हो। चिकित्सक ६ महिनामा एक पटक वा वर्ष दिनमा एक पटक यो औषधि सेवन गर्नुलाई मात्र वैज्ञानिक प्रयोग भन्छन्।

तर सीताले हप्तादिनमै तीन/चार पटक सेवन गरिन्। त्यसैले पनि स्वास्थ्यमा असर पुगेको हुन सक्ने चिकित्सकले भनिदिएका छन्।

बिएल नेपालीसँग भेट हुँदैगर्दा उनले अस्पतालमा दोस्रो पटक चिकित्सकलाई भेट गर्दैछिन्।

उनलाई अहिले लागेको छ, ‘जथाभावी आइपील प्रयोग गर्न नहुने रहेछ।’ आइपील प्रयोगपछि उनको महिनावारी अनियमित मात्र भएन, धेरै रगत बग्ने, यौनीबाट सेतो पानी बग्नेलगायत समस्या देखिएको थियो।

उनलाई आकस्मिक गर्भनिरोधक चक्की (आइपील)ले गर्भ रहँदैन भन्ने मात्र थाहा थियो। यसका साइड इफेक्ट (अन्य असर)बारे जानकारी थिएन।

सीता एक प्रतिनिधि पात्र मात्र हुन्, जथाभावी गर्भनिरोधक औषधि प्रयोग गर्ने यस्ता धेरै उदाहरण भेटिन्छन्।

काठमाडौँको नयाँ बानेश्वरस्थित एक फार्मेसीका सञ्चालक गर्भनिरोधक औषधि प्रयोग जथाभावी भइरहेको भन्ने एक साक्षी हुन्। उनको फार्मेसीमा एउटै व्यक्ति आइपील किन्न महिनादिनमै पटक–पटक आउने गर्छन्।

उनले औषधि दिँदा यसरी धेरै पटक आइपील खाँदा स्वास्थ्यमा असर पुग्ने सुझाउँछन् पनि। तर मान्ने कुरै हुँदैन। ‘किन्ने दिनमा हुन्छ भन्दै जान्छन्, फेरि पर्सिपल्ट आउँछन्’, फार्मेसीका सञ्चालक भन्छन्, ‘आइपील अहिले त मकै-भटमास खाएजस्तै भएको छ।’

उनको फार्मेसीमा दैनिक १० देखि १५ जना गर्भनिरोधक औषधि आइपील किन्न आउँछन्। ती औषधि किन्न आउनेहरू कति उमेरका हुन्छन् भन्ने कुराकाे जानकारी उनलाई आजसम्म छैनन्।

तर १४–१५ वर्षका किशाेर-किशाेरीहरू पनि यस्ता औषधि किन्न आउने गरेको उनी बताउँछन्। जसमा महिलाभन्दा बढी पुरुषहरूले किन्ने गरेका छन्।

आइपीलको जथाभावी प्रयोगले स्वास्थ्यमा असर पुग्ने थाहा पाउँदापाउँदै पनि उनी बेच्न बाध्य छन्। किनकि यही औषधि नपाएर आत्महत्या गरेका घटनालाई उनी सम्झिन्छन्।

‘पैसाको लोभले औषधि बेचिएको होइन। हामीले दिएनौँ भने हामी आफैँ दोषी हुन्छाैँ’, उनले भने, ‘तर पढेलेखेका मान्छेले पनि जानीजानी खाएका हुन्छन्।’

०००

काठमाडौँको व्यस्त बजार बानेश्वरका फार्मेसी सञ्चालकको मात्र यस्तो अनुभव होइन, बूढानीलकण्ठ नगरपालिकाका फार्मेसी सञ्चालकको अनुभव पनि उस्तै छ।

बूढानीलकण्ठ–१२ खरीबोटमा रहेको एक फार्मेसीमा दशकअघि भन्दा अहिले गर्भनिरोधक औषधि आइपील किन्नेकाे संख्या धेरै बढेको छ। ‘एक दशकअघि त आइपील किन्न नै आउँदैनथे। अहिले दिनमै ४/५ जना आउँछन्।’

उनको भाषामा पहिलेको अवस्था हेरी अहिले आइपील खानेहरुको बिगबिगी छ। चिकित्सकको सल्लाहविना फार्मेसीबाट आइपील, इकोनजस्ता औषधी खानेहरु धेरै रहेको ती फार्मेसी सञ्चालक बताउँछन्।

चिकित्सक भन्छन्– सकेसम्म आइपील प्रयोग नगर्दा राम्रो

आइपील चक्की अस्थायी गर्भनिरोधक औषधि हो। शारीरिक सम्पर्कपछि गर्भ रहनबाट रोक्ने औषधिका साइड इफेक्ट (अन्य असर) हुन्छन्। विज्ञानत: वर्षमा दुई पटक खाँदा स्वास्थ्यलाई खास्सै असर हुँदैन।

चिकित्सक महिनामा एक पटक खान पनि सकिने बताउँछन्। तर, चिकित्सकको सल्लाहविना जाथभावी हप्तामै औषधि प्रयोग गर्दा स्वास्थ्यमा गम्भीर असर पर्ने विशेषज्ञ चिकित्सक बताउँछन्।

स्त्रीरोग विशेषज्ञ डा. जागेश्वार गौतम भन्छन्, ‘जथाभावी पटक–पटक आफूखुसी गर्भनिरोधक औषधि खाँदा स्वास्थ्यलाई असर पर्ने नै भयो, विवाहपछि निःसन्तान हुन पनि सक्छ।’

उनले पछिल्लो समय याे औषधि सेवन गर्ने बढेको बताउँदै लामो समयसम्म प्रयोग गर्दा पाठेघरमा समस्या देखिने बताए।

परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालकी डा. ज्वाला थापा सकेसम्म आइपील सेवन गर्न नहुने बताउँछिन्। ‘सकेसम्म आइपील चक्कीको सेवन नगर्दा नै राम्रो हो’, उनी भन्छिन्, ‘यदि आईपील खानैपर्ने अवस्था छ भने चिकित्सकको सल्लाहमा खानुस्।’

उनले अप्रत्यासित गर्भ बसेमा मात्र आइपील खानुपर्ने बताइन्। तर यहाँ असुरक्षित सम्पर्क गर्ने र औषधि सेवनले गर्भ बस्नबाट राक्ने उपाय अपनाउँदा स्वास्थ्यमा असर पुगिरहेको उनी बताउँछिन्।

उनकाअनुसार लगातार आइपील सेवानले महिनावारी नहुने, हर्मोन गडबढी हुने भएकाले विवाहपछि सन्तान बनाउन समस्या हुने गरेको छ।

‘आइपीलको सेवनले बाँझोपनको समस्या हुन्छ नै भन्ने होइन तर यो चक्कीको बढी सेवन गर्दा महिनावारीमा गडबड हुनेचाहिँ हो,’ उनले भनिन्।

उनी सम्बन्ध व्यवस्थित तरिकाले राख्न सुझाउँछिन्। ‘लगातार यौन सम्पर्कमा भइरहेको दम्पतीले चक्की सेवन नगर्दा राम्रो हुन्छ,’ उनी भन्छिन्, ‘व्यवस्थित तरिकाले अस्थायी सधान प्रयोग गर्नुपर्छ।’

प्रकाशित मिति: : 2024-03-20 18:18:00

प्रतिकृया दिनुहोस्